बिर्तामोड ।

झापाको मेचीनगरमा आगलागी हुँदा एक जनाको मृत्यु भएको छ भने १२ जना घाइते भएका छन् ।
मेचीनगर नगरपालिका–७ स्थित इन्द्रेणीटोलको एक घरमा भएको आगलागीभएर ग्यास सिलिन्डर विस्फोट हुँदा एकजनाको मृत्यु भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा मेनपा–८ का शरद राजवंशी रहेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी प्रवक्ता डीएसपी बसन्त पाठकले जानकारी दिए। धुलाबारीस्थित एन्जल मेडिकल हल पुर्याउनासाथ राजवंशीको मृत्यु भएको हो ।
आगलागीमा ८ वर्षीया बालिका सुशीला अधिकारीसहित १२ जना घाइते भएका छन् । उनको साई इँटाभट्टास्थित सिमरन मेडिकल हलमा उपचार भएको र उनी डिस्र्चाज भइसकेको बताइएको छ । मेनपा–७ का ४० वर्षीय लेखनाथ तिम्सिना, वर्ष ३२ का दीपेन्द्र कार्की, वर्ष ३८ का चन्दन गौतम, वर्ष ४० का सुभलाल राजवंशी, वर्ष ३५ का विनोद गिरी, वर्ष २८ का सन्देश बोहरा, वर्ष ४० का भवानीशङ्कर न्यौपाने, वर्ष ३४ का निर्मल शर्मा र वर्ष ३५ का नवराज श्रेष्ठ आगलागीमा घाइते भएका छन् ।
मेनपाका ३४ वर्षीय हरि विक र बिर्तामोड नगरपालिका–९ का २९ वर्षीय गोविन्द राजवंशी पनि घाइते छन् । घाइते न्यौपानेको बिर्तासिटी अस्पताल र अरू सबैको बीएण्सी अस्पतालमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।
गयराती केशव पाठकको घरमा अचानक आगलागी भएको थियोे । घाइतेमध्ये केहीको अवस्था गम्भीर रहेको बताइएको छ । टिनको छानो भएको घरमा आगलागी हुँदा दुई ग्याँस सिलिन्डर विष्फोट भएको थियो । आगलागीको कारण खुल्न नसकेको प्रहरीले जनाएको छ ।






























