अर्जुनधारा ।

कोभिड–१९ रोगको जोखिमका कारण गत वर्ष स्थगित भएको सातौं नव ज्योती च्यालेन्ज कप फुटबल प्रतियोगिता हुने भएको छ ।
नव ज्योती युवा क्लबको आयोजनामा आगामी फागुन १३ देखि २० गते सम्म बुद्धशान्ति–२ जयपुरस्थित आदर्श माध्यमिक विद्यालयको खेलमैदानमा हुने उक्त प्रतियोगिताको विषयमा मंगलबार आयोजित पत्रकार सम्मेलनमा बताइएको हो ।
प्रतियोगितामा आयोजक क्लबसँगै छिमेकी राष्ट्र भारत, इलाम, मोरङ, सुनसरी र काठमाण्डौका आठ टिमको सहभागिता रहने क्लबका अध्यक्ष गोपाल पोखरेलले जानकारी दिए । उनको अनुसार प्रतियोगिताको विजेता र उपविजेता टिमले नगद पुरस्कार क्रमश एक लाख ५० हजार रुपैयाँ र ७५ हजार रुपैयाँसहित शिल्ड, मेडल र प्रमाण पत्र प्राप्त गर्ने छन् ।
बुद्धशान्ति गाँउपालिका, सिजनल टिकट, गेट टिकट, विज्ञापन, विभिन्न दाताहरुबाट स्रोत संकलन गर्ने लक्ष्य लिइएको उक्त प्रतियोगिता सम्पन्न गर्न अनुमानित १२ लाख ३० हजार रुपैयाँ खर्च लाग्ने पत्रकार सम्मेलनमा प्रस्तुत प्रतिवेदनमा उल्लेख गरिएको छ ।
सोही कार्यक्रममा क्लबका जग्गादाता प्रेम बोहोराबाट पितृहरुको स्मृतिमा उपविजेतातर्फको नगद पुरस्कार ७५ हजार रुपैयाँ, क्लबका पूर्व खेलाडी हाल अमेरिकामा रहेका पारस चौलागाईंबाट ६ वटा खेलका म्यान अफ दी म्याचतर्फको नगद पुरस्कार ३० हजार रुपैयाँ र भरत खतिवडा, विप्लव भट्टराई र शोभित राईबाट फाइनल खेलको पाँच विधातर्फको नगद पुरस्कार २५ हजार रुपैयाँ प्रदान गर्ने घोषणा गरेका छन् ।
कार्यक्रममा बुद्धशान्ति–२ वडा समितिका अध्यक्ष दिलीपकुमार श्रेष्ठ, वडा सदस्य नेत्र गौतम, क्लबका संस्थापक सचिव धुव्रकुमार ओली, जीवन पोखरेललगायतले बोलेका थिए । क्लबका अध्यक्ष पोखरेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको सञ्चालन अमिर श्रेष्ठले गरेका थिए ।
२०४२ सालमा स्थापना भएको उक्त क्लबले जयपुरमा खेलकुद, सांस्कृतिक, साहित्यको क्षेत्रमा विविध कार्यक्रमहरु सञ्चालन गर्ने गरेको छ ।


























