
पृष्ठभूमि
सुसंस्कृत राजनीति संस्कार एक प्रकारको अवधारणा हो । यो अवधारणा राजनीतिक भूगोल, आस्था, व्यवस्था, सामाजिक तथा सांस्कृतिक अवस्थितिसँग सम्बन्धित नवोदित परिकल्पना हो । विश्व राजनीतिक इतिहासमा यस परिकल्पनाको विकास दोस्रो विश्वयुद्धपछि विकसित भएको पाइन्छ । राजनीति शास्त्रका शोधकर्ताको अध्ययन र अनुसन्धानबाट यस विषयमा अझ बढी स्पष्टता र अनिवार्यताको खाँचो औंल्याएका छन् ।
ती विद्वानहरुले राजनीति र यसको कुशल व्यवस्थापनका क्षेत्रमा उदाहरणीय कार्य गरेका विश्वका केही विकसित देशहरु फ्रान्स, बेलायत, अमेरीका, जर्मनी, जापान तथा कुशल राजनीतिक संस्कार कायम हुन नसकेका विकासशील मुलुकहरु भारत, पाकिस्तान, इजिप्ट तथा अफ्रिकी मुलुकहरुमा गरेको तुलनात्मक अध्ययनबाट सुसंस्कृत राजनीतिक संस्कारबाट मुलुक समृद्ध र विकसित भएको यस परिकल्पनामा खरो उत्रन नसकेका मुलुकहरुमा अस्थिरता, आर्थिक विपन्नता र अशान्तिको अवस्था रहेको निष्कर्ष निकालेका छन् ।
यसरी विश्व राजनीतिक व्यवस्थामा राजनीतिक संस्कारको अपरिहार्यता लोकप्रिय हुँदै गएको छ भने यस्तो संस्कारयुक्त मुलुकको सामाजिक, आर्थिक र वैज्ञानिक विकासको महत्वपूर्ण आधार बनेको छ । तसर्थ, राजनीति शास्त्रका विद्वान लुसियन पाईले प्रत्येक समाज र मुलुकमा असल राजनीतिक संस्कारले उक्त समाज र मुलुकमा राजनीतिक प्रक्रियालाई सही स्वरुप र ढाँचा प्रदान गरेको हुन्छ । त्यस्तै पारसन्स, मेनहिन, सिडनी बर्मा, आँमण्ड जस्ता राजनीतिक विज्ञानका प्रकाण्ड विद्वानहरुले पनि राजनीतिक संस्कार कुशल राजनीति सञ्चालनको मेरुदण्ड भनेका छन् । यस अवधारणाको बारेमा सर्वप्रथम आँमण्ड नामक विद्वानले सन् १९५६ मा प्रस्तुत गरेका थिए ।

राजनीतिक संस्कारको अवधारणा आधुनिक विश्वमा नवीनतम् परिकल्पना भएता पनि पूर्वीय दर्शनमा यस विचारलाई परापूर्वकालदेखि नै प्रयोग गरिएको पाइन्छ । रामराज्यको परिकल्पना पनि यसैको उदाहरणको रुपमा लिन सकिन्छ । राजनीतिक संस्कारभित्र सिमित भूगोल अन्तर्गत परम्परादेखि चलिआएका मानवीय व्यवहार, मान्यता, विश्वास, साहित्य, कला कौशल, सामाजिक प्रथा, मूल्य–मान्यता, नैतिकता आदिको प्रभाव रहेको हुन्छ । वास्तवमा यो एक प्रकारको आदर्श र कल्याणकारी समाज तथा राज्यको परिकल्पना हो । जसले मानिस जति सामाजिक प्राणी हो त्यति नै राजनीतिक प्राणी पनि हो भन्ने अरस्तुको भनाईलाई प्रयोग गर्दै राजनीतिक संस्कारले समाजलाई सही र असल मार्गमा हिँडाउन सक्छ भन्ने सप्रमाण पेश गरेको छ ।
नेपालको सन्दर्भ
सम्पूर्ण नीतिको प्रमुख नीति राजनीतिलाई मानिन्छ । नेपालको इतिहासदेखि वर्तमानसम्मको राजनीतिक संस्कारको अवस्था हेर्दा पूर्वाग्रह, कलह, विद्रोहको रुपमा विविध राजनीतिक व्यवस्थाको प्रयोग र अवलोकनमा नै बितेको पाइन्छ । चाहे त्यो राजतन्त्रभित्रको आन्तरिक शक्ति संघर्ष, दरवारीय षडयन्त्र होस् वा राणा शासनको पारिवारिक खिचातानी, चाहे त्यो प्रजातन्त्र स्थापना पछिको दलीय स्वार्थ होस् वा गणतन्त्र स्थापनापछिको कुर्सी र पदका लागि अपनाइएका हदकण्डा, खुट्टा तानातान । सबै राजनीतिक व्यवस्थाको अवस्था हेर्दा नेपाली राजनीतिलाई नजिकबाट नियालिरहेका तथा आममानिसहरुमा वितृष्णाको भावनाले डेरा जमाएको छ । अझ वर्तमानको नयाँ पिँढी त राजनीतिलाई फोहोरी खेल भनिरहेको छ । आजको पिँढी राजनीति भनिसक्दा छिःछिः–दूरःदूर गर्दै टाढिनुले नेपाली परिवेशमा असल राजनीतिक संस्कारको बहुत ठूलो अभाव नै हो भन्ने स्पष्ट पार्दछ ।
प्रविधि र आधुनिक मिडियाको विकाससँगै विश्वका जुनसुकै कुनामा भएका घटना परिघटना सजिलै जहाँसुकै बसेर पनि अध्ययन र मनन गर्न सकिने आजको युगमा जनता पक्कै पनि लाटा–सोझा छैनन् । विश्वका केही मुलुकहरु जसले राजनीतिक संस्कारलाई आत्मसाथ गर्न सके उक्त देशहरुको प्रगति र समृद्धि देखेर पनि सायद यहाँका मानिसहरु विरक्तिएका होलान् । हुन पनि हो हाम्रो नजिकको उत्तरी छिमेकी राष्ट्र चीन जसले आर्थिक उदारीकरणको नीति लिँदै जाँदा विश्वमै आर्थिक रुपमा पहिलो मुलुक भएको छ । किनकि त्यहाँको राजनीतिक संस्कार उच्च कोटीको छ, जसमा त्यहाँको कम्युनिष्ट पार्टीको केन्द्रीय समितिले गरेको निर्णय र एजेण्डा हुबहुँ लागू हुन्छ । त्यस्तै सुसंस्कृत राजनीतिको अभ्यास गरेका बेलायत, फ्रान्स, जापान सबै क्षेत्रमा उत्कृष्ट राज्यका रुपमा चिनिएका छन् ।
लोकतन्त्रको लागि नेपाली जनताले गरेको कठोर त्याग, बलिदान र उत्सर्गबाट प्राप्त उपलब्धिको रुपमा रहेको हालको संघीय लोकतान्त्रिक गणतन्त्रसहितको संविधान कार्यान्वयन सँगै विकास र समृद्धिको जनआकांक्षा सम्बोधन गर्ने असल राजनाीतिक जिम्मेवारी बहन गर्न अहिलेको राजनीतिक संस्कार बोकेका नेतृत्व र दल कतिसम्म सफल वा असफल भए हुने छन् जनताले मूल्यांकन गरेको महत्वपूर्ण विषय हो । नेपाली राजनीतिक संस्कारको बारेमा समकालीन नेपाली राजनीतिक विश्लेषक र बौद्धिक व्यक्तिहरुको पनि आ–आफ्नो मत रहेका छ । राजनीतिक विश्लेषक प्राध्यापक डा. सुरेन्द्र केसी भन्नुहुन्छ– राजनीतिक संस्कार भनेको राजनीतिलाई व्यवहारमा लैजाँदा अभ्यासमा आउने चरित्र हो । तर, दुर्भाग्य हाम्रो मुलुकमा राजनीतिक संस्कार परिस्कृत हुन सकेको छैन । त्यो हामीले अनुभूत गर्न, हेर्न र महशुस गर्न सकेका छैनौं । राजनीतिक दलहरु तथा यिनका कार्यकर्ताहरुको संस्कार औसतरुपमा देखिए पनि मुख्य रुपमा अल्पविकसित मानसिकताको राजनीतिक संस्कार नै नेपाली समाजको अभिषाप हो ।
असल राजनीतिक संस्कारले आपसमा सद्भाव, सम्मान, मूल्य–मान्यतामा एकता र सहकार्य खोज्दछ । तर, अपसोच यहाँ त अरुको आस्थाको सम्मान त परै जाओस् एउटै विचारबीचमा एकता र सहकार्य देख्न सकिएको छैन । उदारता, सत्यता, प्रजातान्त्रिक व्यवहार, अरुको विचारको सम्मान, अरुलाई स्थान दिन सक्ने संस्कारको विकासले मात्र सुसंस्कृत राजनीतिक संस्कारको जग बलियो हुन्छ ।
नेपाली समाज राजनीतिक रंगको चस्मा उतारेर अध्ययन गर्ने हो अत्यन्तै सुसंस्कृत संस्कारयुक्त समाज हो । तसर्थ, हामी नेपाली संसारभर प्रिय छौं । तर, राजनीति संस्कारको अनुपस्थितिमा यति सुन्दर सामाजिक सांस्कृतिक संस्कार बोकेको नेपाली समाज परिष्कृत हुनुको साटो अझ पछाडि परिरहेको छ । तसर्थ, राजनीति गर्ने र तिनलाई खबरदारी गर्ने जोसुकैले असल राजनीतिक संस्कार पाठ राम्रोसँग पढेर बुझेर मात्र यस सेवाको क्षेत्रमा लाग्ने अभियानमा लाग्नुपर्दछ । राजनीतिकर्मी बन्नुको पहिलो कर्तव्य नै संस्कारलाई परिस्कृत गरी देश र समाजलाई योगदान गर्नु हो भन्ने भुल्नु हुँदैन ।


























