फाल्गुनन्दमा कानुनी सचेतना कार्यक्रम

0
642

युद्धबहादुर बोहोरा,
पाँचथरः

फाल्गुन्नद गाउँपालिका भित्रका सात वटै वडामा कानुनी सचेतना कार्यक्रम सम्पन्न भएको छ । पालिकाको आर्थिक सहयोगमा नामसामी लेखापढी कानून व्यावसायी एसोसिएसन पाँचथरको आयोजनामा माघ ९ गतेदेखि शुरूवात गरिएको सचेतना मंगलबार सम्पन्न गरिएको हो ।

कानुनको बर्खिलाप गरेमा अनिवार्य सजाय र कैद हुन्छ भन्ने प्रष्ट जानकारी गराउन साथै अपराध न्यूनीकरणमा सहयोग पुर्‍याउने उदेश्यले पालिकाका सबै वडामा संयुक्तरूपमा कार्यक्रम संचालन गरिएको आयोजक संस्थाका प्रमुख रामकुमार नेम्बाङ(तुम्याहाङ) ले जानकारी दिए ।

वडामा कार्यरत कर्मचारी,मेलमिलाप समिति,महिला समिति,जनप्रतिनिधि,स्वयंसेविका तथा न्यायिक समितिको उपस्थिति रहेको उक्त कार्यक्रम वडा नम्बर ६ र ७ को पिपलबोटेस्थित आङ्साराङ्मामा,वडा नम्बर ४ र ५ को घुर्बिसे पञ्चमी फाक्तेपमा,२ र ३ को पौवासारतापमा र १ नम्बर वडाको नवमीडाँडामा गरि जम्मा चार ठाँउमा संचालन भएको थियो ।

कार्यक्रमलाई अधिवक्ताद्वय कमल चेम्जोङ र लिला प्रसाद राई साथै कानुन व्यावसायी चन्द्र कुमार आङ्देम्वेले सजीकरण गरेको कानुनी सचेतनामा विशेषगरी समाजमा दैनिक उत्पन्न हुने समस्या र जनजीवनमा घटिरहेका घटनामा आधारित विषय वस्तुसंग मिल्दोजुल्दो प्रसङ्गको कानुनी प्रक्रिया बारे प्रशिक्षण गराइएको थियो ।

फौजदारी संहिता,देवानी मुद्दा र संविधान तथा हाल सम्म १९१० देखि २०७२ साल सम्ममा बनेका सात वटा लिखित कानुनको पनि चर्चा गर्दै अन्तर्राष्ट्रिय जगतका कानुनलाई समेत जानकारी गराइएको प्रशिक्षक आङ्देम्बेले बताए । २०७२ को सविधान भित्र उल्लेख भएका ३२ वटा मौलिकहक तथा कानुनका श्रोत सम्बन्धि व्याख्या गरिएको उनले बताए ।

नवमीडाँडामा समापन गरिएको सचेतना कार्यक्रममा प्रमुख अतिथि पालिका उपाध्यक्ष तथा न्यायीक समिति संयोजक देवित्रा कुमारी आङ्देम्बे र विशेष अतिथि प्रमुख प्रशासकीय अधिकृत निर्मल तुम्रोकको उपस्थितमा सम्पन्न भएको थियो ।

अन्त्यमा,अतिथिले समापनमा मन्तव्य राख्दै सहभागीलाई सिकेका कानुनी कुरा समाजमा प्रचारप्रसार गर्दै चेतना फैलाउन समेत आग्रह गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here