झापा, सरकारी उल्झनका कारण अझै पनि सहज रुपमा उद्योग व्यवसाय सञ्चालन गर्न नसकेको झापाका उद्योगी व्यवसायीले बताएका छन् ।
तीन तहका सरकारबीचमा पनि छुट्टाछुट्टै ऐन र नियम हुनु र कतिपय नियम बाझिँदा त्यसको प्रत्यक्ष असर व्यवसायमा पर्ने गरेको व्यवसायीको आरोप छ । सरकार र व्यवसायी बीचमा अन्योन्याश्रित सम्बन्ध भए पनि सरकारले व्यवसाय प्रवद्र्धनका क्षेत्रमा व्यवसायीलाई प्रत्साहन गर्न नसकेको उनीहरुको आरोप छ ।

खासगरी कर प्रणालीमा देखिएको समस्याका कारण अहिले पनि धेरै व्यवसायीलाई समस्या पर्ने गरेको बताउँदै उनीहरुले कर प्रणालीलाई सरलीकृत गर्दै सबै नागरिकलाई कर शिक्षा प्रदान गर्नु पर्नेमा जोड दिए । बिर्तामोड उद्योग वाणिज्य संघको सभाहलमा बाह्रखरी मिडिया नेपालको आयोजनामा ‘सबै क्षेत्रका समस्या, आवश्यकता र नीतिगत सुधार’ का विषयमा गरिएको राउण्ड टेवलका सहभागी वक्ताले प्रदेश १ को समग्र आर्थिक समृद्धिका लागि कृषि क्षेत्रको विकास, पर्यटनसहित ऊर्जा क्षेत्रमा लगानी गर्दै अन्य सम्भावित क्षेत्रको पहिचान गर्दै लगानी गरिनुपर्ने व्यवसायीले धारणा राखेका छन् ।

किसानको आर्थिक उन्नति नहुञ्जेल देशको आर्थिक विकास सम्भव नरहेको धारणा राखेका व्यवसायीले देशको अर्थतन्त्र कठिन मोडमा पुग्दा समेत अर्वौं अरब कर बुझाउदै राज्य सञ्चालनमा सघाउ पु¥याउने ँ व्यवसायीलाई हेरिने नीति सरकारले परिर्वतन गर्न नसकेको व्यवसायीको दुःखेसो छ । कार्यक्रममा बोल्दै उद्योग वाणिज्य महासंघका केन्द्रीय सदस्य उमेश डालमियाले प्रदेश १मा उद्योग व्यवसाय सञ्चालन गर्ने प्रचुर सम्भावना भए पनि राज्य संयन्त्रकै उल्झनका कारण सहज रुपमा व्यवयाय सञ्चालन गर्न नसकिएको बताएका छन् । उनले सम्भावना मात्र देखिएको छ तर काम भने केही बढाउन नसकिएको बताए । अहिले जग्गाको मूल्य उच्च भएर गएको र जग्गा खरिदमा नै धेरै मूल्य धेरै चुकाउनुपर्छ बाध्यता आएको बताए ।

उद्योग सञ्चालनका लागि आईई गर्न छरछिमेकी र नेताहरुलाई गुहार्नुपर्ने अवस्था सृजना भएको उनको भनाइ छ । सरकार राजश्व उठाउन मात्र तल्लीन भएको बताएका डालमियाले उद्योग कलकारखाना सञ्चालनमा समेत सहजीकरण गर्नुपर्ने धारणा राखेका उनले उत्पादनमूलक उद्योग स्थापना गर्न सरकारले सहयोग गर्नुपर्ने बताएका थिए । सबैको सहयोग भए मात्र राष्ट्र समृद्धिमा जान्छ– डालमियाले भने– जबसम्म हामीले वातावरण बनाउँदैनौ तबसम्म राष्ट्र समृद्ध बन्न सक्दैन । सरकार निजी क्षेत्रसँग सहकार्य गर्छु भन्छ, चार खम्बे नीति भन्छ, तर व्यवहारमा काम गर्दैन । नीति स्पष्ट नभएको कारण उत्पादनमूलक, पर्यटक र कृषिक्षेत्र पनि भने जसरी विकास हुन सकेको छैन ।

उद्योग वाणिज्य संघ प्रदेश १का सदस्य कुमार भट्टराईले झापा कृषिसँग जोडिएको जिल्ला भएकाले यहाँ धेरै सम्भावना रहेको बताएका छन् । यहाँको कृषिले नै पहाड र तराईका धेरै जिल्लामा धानसहितका वाली उत्पादन गर्दै खाद्य संकट टार्ने गरेको छ– भट्टराईले भने– झापाको छुट्टै पहिचान छ– २०५४ सालमा बंगलादेशसँग जुन पारवाहन मार्गको लागि सरकारले तय गरेको सम्झौता थियो त्यो कार्यान्वयन गर्न नसक्नु र हामीले पनि दबाब दिन नसक्नुले कृषिका सामग्री नजिकको बंगलादेश पठाउन नसक्दा यहाँको उत्पादित कृषि सामग्रीले उचित मूल्य पाएको छैन । बिर्तामोड नगरपालिकाका प्रमुख ध्रुवकुमार शिवाकोटीले उद्योगी व्यवसायी सरकारका पार्टनर भएको बताएका छन् । सरकारले उद्योगी व्यवसायीबाट पैसा लिने तर उद्योग धन्दा सञ्चालनमा सहयोग नगर्ने धारणा राख्दै राज्यले चोरका रुपमा व्यवसायीलाई हेर्न नहुने बताए ।
त्यस्तै घरेलु तथा साना उद्योग कार्यालय झापाका प्रमुख जयहरि अधिकारीले झापामा सञ्चालित उद्योग र उद्योगी व्यवसायीका विषयमा प्रकाश पारेका थिए । उनले सबै क्षेत्रबाट व्यवहारगत समस्या कहाँ छन् भन्ने उजागर गर्नुपर्छ धारणा राखे । औद्योगिक व्यवसाय ऐन प्रदेशबाट बन्यो धेरै ल्याकिङ पनि देखियो । संघमा अनि प्रदेशमा ऐन र कानूनका कतिपय प्रावधान दोहोरिएको अवस्था रहेको बताए ।

कार्यक्रममा चेम्बर अफ कमर्श केन्द्रीय सदस्य ओमकृष्ण बिमली, उद्योग संघ झापाका अध्यक्ष यामबहादुर श्रेष्ठ, अलैंची व्यवसायी महासंघका निवर्तमान केन्द्रीय अध्यक्ष निर्मल भट्टराई, क्रसर व्यवसायी महासंघ केन्द्रीय सदस्य केदार गिरी, चेम्बर्स अफ कर्मश प्रदेश १का उपाध्यक्ष सन्तोष अग्रवाल, बिर्तामोड नेपाल रेडक्रस सोसाइटी उपशाखा बिर्तामोडका सभापति सजेश सिवाकोटी, बिर्तामोड उद्योग वाणिज्य संघका महासचिव अर्जुन मैनाली, उद्योग वाणिज्य संघका निर्वतमान महासचिव प्रशान्त भण्डारी, बिर्तामोड उद्योग वाणिज्य संघका सचिव सञ्जीव घिमिरे, सामुदायिक वन उपभोक्ता महासंघ झापाका अध्यक्ष बेदप्रकाश भण्डारीले समृद्ध झापा निर्माणमा गर्न सकिने पहल र यहाँको वस्तुस्थितिका विषयमा धारणा राखेका थिए ।
त्यस्तै नेपाल पत्रकार महासंघ झापामा अध्यक्ष एकराज गिरी, बचत तथा ऋण सहकारी संघका प्रदेश संयोजक घनश्याम अधिकारी, हलेसी ट्रेड लिङ्कका सञ्चालक चूडामणि पौडेल, बिर्तामोड साना शहरी खानेपानी उपभोक्ता समूह बिर्तामोडका अध्यक्ष जलकुमार गुरुङ, व्यवसायी सुरेश बंशल, शिवकुमार अग्रवाल युवा व्यवसायी नेपाल उद्यमशील महिला झापा अध्यक्ष पार्वता खरेल, इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी निरीक्षक हरि बराल, जिल्ला सहकारी संघ झापाका सहसचिव, कृष्ण मिश्र, उद्योग संगठन मोरङका बिनोद भट्टराई लगायतले बोलेका थिए ।
बिर्तामोड उद्योग वाणिज्य संघको संयोजनमा भएको कार्यक्रममा धन्यवाद ज्ञापन संघका अध्यक्ष प्रकाश शिवाकोटीले गरेका थिए । बाह्रखरी मिडिया ग्रुपका तर्फबाट बिजनेश व्यूरो प्रमुख हिमाल पौडेलले औचित्यमाथि प्रकाश पारेको कार्यक्रममा स्वागतन प्रदेश १ संयोजक कुमार लुइटेलले गरेका थिए ।






























