काठमाडौँ, 
अखिल नेपाल फुटबल सङ्घ (एन्फा)ले आगामी जेठ १५ गतेका लागि तय भएको नयाँ नेतृत्व निर्वाचनका लागि निर्वाचन कमिटी गठन गरेको छ ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा बिहीबार बसेको एन्फाको १६औँ कार्यसमिति बैठकले निर्वाचन समितिको अधिवक्ता श्रीराम दबाडीको संयोजकत्वमा पाँच सदस्यीय निर्वाचन समिति गठन गरेको हो ।
त्यसैगरी सहसंयोजकमा अधिवक्ता रामचन्द्र गौतम, सदस्यमा दामोदर भट्टराई र वैकल्पिक सदस्यमा सरस्वती श्रेष्ठ र प्रिती कार्की हुनुहुन्छ । निर्वाचन समितिमा मनोनयन गर्न सङ्घको २०औँं विशेष साधरणसभा बैठकमा निर्णयार्थ पेश गर्ने निर्णय गरेको छ ।
यसैगरी निर्वाचन पुनरावेदन समितिको संयोजकमा अधिवक्ता विष्णु लुइँटेल र सहसंयोजकमा सुधा रिजाल, सदस्यमा केशवमणि अर्याल, वैकल्पिक सदस्यमा यज्ञबहादुर राना र राजेन्द्र इंगनाम रहनुभएको छ । उहाँहरूको इन्ट्रीग्रिटी जाँच एन्फा लेखापालन तथा अनुपालक समितिले गर्नेछ । यस निर्णयपछि फिफा र एएफसीमा पठाइनेछ ।
त्यस्तै बैठकले आर्थिक वर्ष २०७७/७८ मा १९औँ वार्षिक साधारणसभाबाट अनुमोदित वार्षिक कार्यक्रम विश्वव्यापीरूपमा फैलिएको कोरोना भाइरसको महामारीले स्थगन भएको हुँदा उक्त अनुमोदित बजेटलाई २०७८/७९ को आर्थिक वर्षभित्र रकमान्तर गरी खर्च गर्ने निर्णय गरेको छ ।


























