आज ज्ञानकी देवी सरस्वतीको पूजा गर्ने विशेष दिन । श्री पञ्चमी पनि भनिने आजको दिनलाई खासगरी शिक्षण संस्थाहरुमा देवी सरस्वतीको विशेष पूजा, आराधना र उपासना गरेर उत्सवका रुपमा मनाइन्छ । यही दिनदेखि हिउँदको चिसो क्रमशः घट्दै जाने, वर्षा शुरु हुने र वसन्त ऋतु प्रारम्भ हुने मान्यता रहेको छ । छ वटा ऋतुहरु मध्येको राजा भनिने यो समयमा हाम्रा वनजंगलमा कोइलीको सुमधुर स्वर सुन्न पाइन्छ र वनजंगलको हरियालीले सबैको मनमा हर्षको अनुभूति गराउँछ ।
विश्वको पहिलो सभ्यता मानिने वैदिक सभ्यता र संस्कृतिमा यस्ता थुप्रै विशेष दिन छन् । ती फरक–फरक दिनका फरक–फरक विशेषता छन् । त्यही मध्येको वसन्त पञ्चमीलाई श्रृजनाको समेत पूजा गरिन्छ । सरस्वती विद्या, शब्द, विज्ञान र कलाकी देवी हुन् । त्यसैले आजको दिन देवी सरस्वतीको पूजा गर्न भगवान कृष्णले अह्राएको सनातनी विश्वास र मान्यता छ । त्यही परम्परा आज पनि कायम छ र सबै विद्यार्थी, ज्ञान, विज्ञान, विचार र कलाका उपासकहरुले बिहान सबेरै उठेर नुहाइधुआई गरेर, सफा लुगा लगाएर गणेश, विष्णु, शिव, सूर्य आदिको पूजा–अर्चना गरी सरस्वतीको पूजा तथा उपासना गर्ने गर्छन् ।

द्वापर युगमा भगवान श्रीकृष्णले दिएको वरदानको निरन्तरतास्वरुप आजको दिन हाम्रा विद्यालयहरु विशेष ढंगले सिंगारिएका हुन्छन् । ध्वजापताकाहरुले सजाइएको र शिक्षण संस्थाहरुमा निर्माण गरिएका सरस्वतीको मन्दिरमा वैदिक विधिपूर्वक विशेष पूजा गरिन्छ । पूजा समापन भएपछि उखु, सुन्तला, बयर, बुनिया जस्ता फलफूल र मिठाइ प्रसादका रुपमा वितरण गर्ने गरिन्छ । खासगरी शिक्षण संस्थाहरुमा हुने गरेको यस्तो रौनक गत वर्षदेखि कम हुन थालेको छ । वैश्विक महामारी कोरोनाका कारण केही कम भएको सरस्वती पूजाको रौनक पूर्ववत् बनाउन देवी सरस्वतीकै अनुकम्पा रहोस् कामना गरौं ।
वैदिक संस्कृतिमा आजको दिनलाई अक्षरारम्भ गर्ने उत्सवका रुपमा समेत लिइएको छ । त्यस्तै कला, संगीत र शब्दका सर्जकहरुले समेत समान महत्वका साथ मनाउने यो पर्वले सबैलाई सकारात्मक, सृजनात्मक र क्रियाशील बन्ने ऊर्जा प्रदान गरोस् । सबै धर्म, सम्प्रदाय र संस्कृतिमा यी तीन वटै कुरा आवश्यक हुने भएकाले बौद्धमार्गी हुन् वा इस्लाम सबैको यो पर्व साझा बनोस् । सबैलाई सरस्वतीको कृपादृष्टि रहोस्, सृजनाको झलझलाकार प्रकाशले हाम्रो मनको विकार हटोस् र जीवन जाज्वल्यमय बनोस् शुभकामना ।




























