सुविधाले अपराध नबढाओस्

0
601

प्रविधिमा भएको विकासले आम मानिसलाई सुविधाभोगी बनाउनु स्वभाविक हो । हाम्रो देशमा विकासका पूर्वाधारहरुमध्ये सञ्चार क्षेत्रले अति छिटो प्रगति गरेको छ । सूचना प्रविधि भनिने सञ्चार क्षेत्रमा भएको प्रगतिले सर्वसाधारणमा आधुनिक उपकरण प्रयोगको अभ्यास पनि बढाएको छ । इन्टरनेट र विद्युतीय माध्यम प्रयोग गरी आर्थिक कारोबार गर्ने प्रवृत्ति बढेको छ । सरकार र सम्बद्ध निकायले आम मानिसलाई आर्थिक कारोबारमा विद्युतीय माध्यम प्रयोग गर्न प्रोत्साहन गरिएका कारण पनि सर्वसाधारणमा यस्तो प्रवृत्ति बढेको हो, जो स्वभाविक पनि छ ।

आममानिसलाई विद्युतीय माध्यमको प्रयोग गर्नुपर्ने बाध्यता वैश्विक महामारी कोरोना भाइरसले समेत ल्याएको हो । उक्त महामारीबाट जोगिन दूरी बनाउनुपर्ने, भीडभाड गर्न नहुने र अदृश्य भाइरस जता पनि हुनसक्ने भनिएपछि कारोबार नगरी नहुनेहरुको लागि विद्युतीय कारोबार अपरिहार्य जस्तै बनियो । त्यसकै परिणाम हो कि चालू आर्थिक वर्षको मंसीर महिनामा मात्रै अड्चालीस खर्बभन्दा बढीको कारोबार यही माध्यमबाट भयो । नेपालका बैंकहरुको बैंक नेपाल राष्ट्र बैंक हो जसले सम्पूर्ण बैंकहरुलाई निर्देशित गर्छ । उसकै तथ्यांकले पनि विद्युतीय कारोबार बढ्दै गएको पुष्टि गरेको छ । आर्थिक कारोबार तथा भुक्तानीका लागि एटीएम, वालेट, मोबाइल बैंकिङ कनेक्ट आइपिएस, क्यूआर कोडमा आधारित भुक्तानी प्रणाली लगायतका माध्यमको प्रयोग क्रमशः बढ्दै गएको छ ।

नाट्य सम्राट बालकृष्ण समले भने जस्तै विज्ञान रोएरै मर्ने रहेछ भन्ने विद्युतीय कारोबारमा उत्पन्न अपराधले प्रमाणित गर्न थालेको छ । अर्थात् विद्युतीय कारोबारमा उल्लेख्य वृद्धि भएसँगै सर्वसाधारण ठगीमा पर्न थालेका समाचार दिनहुँ प्रकाशन भइरहेका छन् । चिठ्ठा परेको लोभ देखाइ रकम हस्तान्तरण गर्ने बहानामा रकम माग गर्ने, बैंकबाट फोन गरेको भन्दै मोबाइल बैंकिङको युजरनेम, पासवर्ड माग्ने जस्ता ठगीका घटना व्यापक बन्दै गएको भन्दै नेपाल राष्ट्र बैंकले त्यसबारेमा सजग र सुरक्षित रहन सुझाव दिएको छ । घरमै बसेर सुविधा उपभोग गर्नसक्ने उपलब्धी विज्ञान प्रविधिले त दियो, तर त्यसकै कारण घरबारविहीन हुनुपर्ने अवस्थाले विज्ञान रोएर मर्छ भन्ने भनाइ पुष्टि भएकै मान्नु पर्छ । सेवासुविधा उपभोग गर्ने लोभमा कतै ठूलै दुर्घटना त निम्तिने होइन, त्यसको प्रयोगमा सावधानी अपनाउन जरुरी छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here