
गणतन्त्र प्राप्तिपश्चातको पहिलो स्थानीय निर्वाचन २०७४ ले आफ्नो कार्यकाल समाप्त गर्नै लागेको अवस्थामा अबको निर्वाचनद्वारा निर्वाचित जनप्रतिनिधिहरुले गर्नुपर्ने विगतमा थातिरहेका विकास निर्माणका कार्यहरुको सूची निर्माण गरी प्राथमिकता निर्धारण गर्दै कार्यसम्पन्न गर्दै जानुपर्ने चुनौति एकातर्फ छ भने अर्कोतर्फ हालसालै सम्पन्न भएका विभिन्न दलहरुका महाधिवेशनमा आफ्नै दलमा विभिन्न तहमा उमेद्वारी दिई आ–आफ्ना प्रतिस्पर्धामा रहेका प्रतिस्पर्धिहरुलाई न्यायोचित व्यवस्थापन गर्नुपर्ने र उनीहरुलाई समेत अपनत्व स्वीकार गराउने गरी वातावरण निर्माण गर्नु झनै ठूलो चुनौति रहको देखिन्छ ।
लोकतन्त्रको सुन्दर पक्ष भनेकै निवार्चन प्रणाली हो र यसको उच्चतम प्रयोगले मात्र लोकतन्त्रलाई बलियो बनाउँछ भन्ने सर्वस्वीकार्य सिद्धान्तलाई समेत बेवास्ता गर्दै अमूक व्यक्तिले आफ्नै दलमा मेराविरुद्ध उम्मेद्वारी दिएको हुँदा उक्त व्यक्ति वा समूहलाई निषेध गरेर वा पेलेरै जानुपर्छ भन्ने दरिद्र मानसिकताबाट ग्रसित व्यक्तिहरुको सोचले लोकतन्त्रलाई कदापि बलियो बनाउन सक्दैन अपितु आफू र आफ्नै पार्टीलाई समेत राजनीतिक हिसाबले ठूलो क्षति हुने कुरामा सबै राजनीतिक दलका व्यक्ति र समूहहरु सचेत रहनुपर्ने देखिन्छ ।
मैले वा मेरै समूहले एकलौटी रुपमा पार्टी सञ्चालन गर्नुपर्छ र त्यसमा मेरै मात्र वा मैले चाहेकै व्यक्तिको उम्मेद्वारी मात्र सही हो भन्ने भावनामा जबसम्म परिवर्तन आउन सक्दैन तबसम्म पार्टी रुपान्तरणका जतिसुकै नारा घन्काए पनि सही अर्थमा त्यसको मूल्य लगभग शून्य नै रहन्छ । त्यस्तै पार्टीमा शुद्धिकरण, सुदृढीकरण, संगठन बिस्तार र सशक्तिकरण नै परिवर्तनकारी शक्तिहरुको मूल उद्देश्य हुनुपर्दछ ।

हाम्रालाई भन्दा राम्रालाई अवसर दिनु पनि पार्टी शुद्धिकरणको अभिन्न अंग हो । घात र अन्तरघातले सिर्जना गर्ने अन्तिम नतिजा नै चुनावी प्रतिस्पर्धामा आफ्नो पराजय र विपक्षी प्रतिस्पर्धीको विजयको सुनिश्चितता हो । त्यसैले आफ्नै दलमा कुनै पनि बहानामा कसैप्रति पनि घात र अन्तरघात हुनुहुँदैन र कथंकदाचित त्यस्तो भएको पाइएमा पार्टीको नेतृत्वपंक्तिले उचित दण्ड र आवश्यक सजाय दिन चुक्नु हुँदैन, त्यसो गर्नाले मात्र भविष्यमा ती र त्यस्तैखाले अन्य आपराधिक प्रवृत्तिले प्रश्रय पाउने छैनन् ।
हामीद्वारा विगतका निर्वाचनहरुमा प्रत्यक्षरुपले संगालिएका अनुभवहरु आजपर्यन्त जिवित छन् र जहाँ–जहाँ घात र अन्तरघातीहरुले खेल्ने अवसर पाए त्यहाँ–त्यहाँ झिनो मतान्तरले आफ्ना पार्टीका उमेद्वारहरुले पराजय व्यहोरेका अनगिन्ती उदाहरणहरु हाम्रासामु छर्लङ्ग छन् । अन्तरपार्टी निर्वाचनका प्रतिस्पर्धीहरुलाई वर्ग शत्रू सम्झने परीपाटी जबसम्म विद्यमान रहन्छ, तबसम्म आगामी सबै प्रकारका निर्वाचनहरुमा आफ्ना दल विशेषका उमेद्वारहरुले पराजयको सामना गर्नुपर्ने तथ्यलाई कसैले पनि नर्कान सक्दैन ।
हामीले देखे र भोगेका छौं कि कुनै पनि राजनीतिक पार्टीलाई चरम असफलतातर्फ पुर्याउन त्यस पार्टीमा उत्पन्न भएको गुट र उपगुटले महत्वपूर्ण भूमिका निर्वाह गरेको हुन्छ । जनलहरको उत्कट विश्वास र प्राप्त अभिमतले लगभग दुईतिहाइको बहुमतसहितको सरकारले समेत आफ्नो पाँच वर्षे कार्यकाल पूरा नगरीकनै सत्ताच्यूत भई सडकमा भौतारिनु परेको तथ्य पनि गुट र उपगुटबाट सिर्जित नाटकीय मञ्चनको दुष्परिणाम हो । प्राप्त जनमतको न्यायोचित सदुपयोग नभएकोमा कैयन मतदाताहरु दुःखी र विचलित भएको अवस्थामा आउन लागेको निर्वाचनले दिने समग्र परिणाम पक्कै पनि कसैको स्पष्ट बहुमतको नभई मिश्रित हुन सक्दछ । त्यसैले कुनै पार्टीले व्यहोरेको गुटबन्दीको नकारात्मक असरबाट अन्य पार्टीले गतिलो पाठ सिक्ने प्रयास गरुन् । र, घात र अन्तरघात गरी आत्मरतीमा रमाउनुभन्दा सिंगो पार्टीपंक्ति एकढिक्का भएर आगामी सबै निर्वाचनमा सहभागी हुँदा सुखद् परिणाम आउने विश्वास लिन सकिन्छ ।
महाधिवेशनका क्रममा देखिएका तिक्ततापूर्ण अनुभवहरुलाई दुस्वप्न सम्झेर सिंगो पार्टी एकढिक्का भई निर्वाचनमा होमिँदा मात्र अपेक्षित परिणामहरु प्राप्त हुन सक्छन् । स्थानीय लगायत सम्पूर्ण निर्वाचनहरुमा उमेद्वारी चयन गर्दा आफ्नो गुणगान गाउने र झोले–भरौटेहरुभन्दा जनमतले पत्याएको, न्याय र विकासप्रेमी व्यक्तिको चयन हुँदा मात्र स्थानीयदेखि केन्द्रसम्म नै असल व्यक्तिको चयन भई जन अपेक्षित कार्यसम्पन्न गर्न सहज हुनेछ । गत २०७४ सालको आम निर्वाचनमा झिनो मतान्तरले पराजय भोगेका असल र सर्वस्वीकार्य व्यक्तिहरु उमेद्वारी चयनमा कसैगरी पनि छुट्नु हुँदैन । पार्टी सञ्चालन र व्यवस्थापनमा निरन्तर योगदान दिने व्यक्तिहरु चयनको क्रममा पहिलो प्राथमिकतामा पर्नु पनि निर्वाचन परिणाम आफ्नो पक्षमा पार्ने एउटा बलियो उपकरण सावित हुन सक्दछ ।
गत महाधिवेशनमा विभिन्न पदमा अन्तरपार्टी उमेद्वारी दिएर आफ्नो बलियो उपस्थिति जनाउने व्यक्तिहरुको मनोभावलाई निर्धारित समयमै उचित सम्बोधन गर्न सकिएन र विगत झैं बेवास्ता गर्दे अगाडि बढिरहने हो भने सबैभन्दा पुरानो र लोकतन्त्रको लागि अविरल लडिरहने नेपाली कांग्रेस जस्तो पार्टीको साखको थप क्षय हुनबाट कसैले पनि रोक्न सक्दैन । त्यसैले नेतृत्व वर्गले समय रहँदै सबै तह र तप्काका नेता कार्यकर्ताहरुलाई छलफलमा सहभागी गराई विगतमा कुँडीएका मनहरुलाई माझ्ने वातावारण सिर्जना गरी सिंगो पार्टीपंक्तिलाई पुर्नजीवन दिन ढिला भइसकेको सन्दर्भमा आजैका मितिबाट उपरोक्त अनुसारका शुभकार्यहरुको शुरुवात आफैंबाट होस्, सबमा अग्रिम शुभकामना ।


























