विवेकानन्दको प्रतिमा अनावरण

0
727

बिर्तामोड।

बसन्त पञ्चमीको अवसरमा बिर्तामोडस्थित विवेकाश्रम तथा साङ्गवेद संस्कृत माध्यमिक विद्यालयमा नवनिर्मित सरस्वती मन्दिरको वैदिक विधिपूर्वक प्राणप्रतिष्ठा गरिएको छ ।

आश्रम परिसरमै आश्रमका संस्थापक श्रोत्रिय ब्रह्मनिष्ठ ब्रह्मलिन श्री १०८ स्वामी विवेकानन्द पुरी महाराजको पूर्णकदको प्रतिमाको समेत अनावरण भएको छ । आश्रम तथा विद्यालयको स्वर्णजयन्तीको बार्षिक कार्यक्रम अनुसार आश्रम परिसरमा स्थाानीय दाता लोकनाथ खनाल र दिलमाया खनालका सन्तति समेतको लगानीमा निर्मित सरस्वती मन्दिरको सरस्वती पूजाकै अवसरमा मूर्तिको प्राण प्रतिष्ठासहित समुद्घाटन गरिएको हो ।

आश्रमका अध्यक्ष व्यासाचार्य किशोर गौतमको अध्यक्षतामा भएको उद्घाटन समारोहका प्रमुख अतिथि प्रथम भूमिदाता पण्डित नन्दिकेश्वर तिम्सिनाले दीप प्रज्ज्वलनसहित ब्रह्मलिन संस्थापकको पूर्णकदको प्रतिमाको अनावरण गरेका थिए ।

गतबर्षदेखि शुरु भएको आश्रमको स्वर्णजयन्ती महोत्सवको पूर्णता वैश्विक महामारी कोरोना भाइरसका कारण स्थगित गरिए पनि स्वास्थ्य सुरक्षाको मापदण्डको पालना गर्दै संक्षिप्त कार्यक्रमकाबीच मन्दिर समुद्घाटन तथा प्रतिमा अनावरण गरिएको बताइएको छ । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा आश्रमका सचिव आचार्य छन्दुराम भण्डारीले स्वागत गरेको कार्यक्रममा नरनाथ गिरी, डा. पुण्यप्रसाद सिग्देल, प्रा. इन्दिराज पौडेल, प्रा. गोविन्द पौडेल, पण्डित विष्णुभक्त भण्डारी लगायतले शुभकामना दिएका थिए ।

आश्रम परिसरमा निर्मित ब्रह्मलिन विवेकानन्द पुरीको प्रतिमा उहाँका शिष्य, प्रशिष्य, तत्शिष्यहरु र आश्रमको सहयोगमा निर्माण सम्पन्न भएको पण्डित राम ओझाले जानकारी दिए । कार्यक्रमको सञ्चालन प्रधानाध्यापक आचार्य दामोदर न्यौपानेले गरेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here