उपचार अभावमा साङ्लोमा छोरा

0
613

झापा ।

आफ्ना सन्तानको उन्नति र प्रगति कुन आमाबुवाले चाहेका हुँदैनन् र ? तर, कतिपय सन्तानकै पीरले आमाबुवा हैरान बन्ने गरेका पनि समाजमा प्रशस्तै भेटिने गरेका छन् ।

आफ्ना सन्तानलाई समाजमा लब्ध प्रतिष्ठित बनाउँदै र समाजसेवा गर्न प्रेरित गर्ने धेरै आमावुवाले सपना बुनेका हुन्छन् । यस्तै सपना बुनेका थिए– झापाको अर्जुनधारा–५का सोवुलाल चौधरीले पनि । १८ वर्षको उमेरमै भारतको नागाल्याण्ड पुगेका चौधरी रोजगारीसँगै भारतीय नागरिक रिता चौधरीसँग बैवाहिक बन्धनमा बाँधिन पुग्छन् । विवाहमा रीतासँग नेपाल फर्कने सहमति भएको उनी अहिलेपनि झलझली सम्झन्छन् ।

नागाल्याण्डमै दुई सन्तान बिकाश र आकाशको जायजन्म हुन्छ । सन्तान हुर्कंदै गएपछि नेपाल फर्किने विषयमा श्रीमतीसंग मतभेद बढ्दै गएको सोबुलाल सम्झन्छन् । श्रीमती नेपाल नफर्कने अडानमा अडिग रहेपछि दुई सन्तान काखी च्यापेर सोवुलाल चार वर्ष अघि नेपाल फर्कन्छन् ।

वृद्ध अवस्थामा रहेका आमा र दुई सन्तानको हेरचाहमा खटिएका उनलाई दैवले पनि ठगेको छ । ‘हुनेहार दैव नटार’ भने झैं जे हुनु छ, त्यो भएरै छाड्छ । सोवुलालको जिन्दगीमा पनि त्यस्तै भएको छ । केही समय अघि मात्रै सोवुलालले आमा गुमाएका छन् । आमा गुमाउँदाको पीडा एकातर्फ छँदैछ । अर्काेतर्फ कान्छो छोरालाई अहिले साङ्लाले बाँधेर राख्नुपरेको छ ।

राजमिस्त्री काम गरेर गर्जाे टार्दै आएका उनलाई अहिले आर्थिक समस्याले गाँजेको छ नै, त्योभन्दा ठूलो समस्या छोरालाई साङ्गलोमा बाँधेर राख्नुपर्दाको पीडा सही नसक्नुको छ । नौ वर्षीय छोरा आकाशमा आएको अस्वभाविक परिर्वतनका कारण उनी हैरान छन् । घरमा छाडेको आकाश जताततै जाने र जेसुकै खाने गर्न थालेपछि उनमा चिन्ता थपिएको हो । नौ वर्षको बालक घर छाडेर कहिले शनिश्चरे बजार त कहिले बिर्तामोड र कहिले दानाबारीबाट उद्धार गरेर ल्याएको झलझली सम्झन्छन् सोवुलाल ।

दिनभरि मजदुरी गरेर घर फर्किंदा छोरा नहुँदाको पीडा कुन बुबाले शब्दमा व्यक्त गर्न सक्लान् र ! दिनहुँजसो छोरा हराउने समस्याले हैरान भएका सोवुलालले केही समयअघि उनलाई माया घर समेत पठाएका थिए । तर, त्यहाँबाट समेत छोरा हराएपछि पुनः घरमा नै ल्याएका छोरालाई अहिले दिनभरि साङ्गलाले बाँधेर राख्न बाध्य छन्– सोवुलाल ।

छोरामा आएको अस्वभाविक परिवर्तन कतै मानसिक समस्या त होइन भन्ने उनमा चिन्ता छ । तर, उपचार गराउने पैसा नहुँदा उनले छोरालाई साङ्लोका भरमा छाड्नुपर्ने अवस्था सृजना भएको छ । सोवुलालको दुःख देखेर हैरान छन् उनका आफन्त र छिमेकी पनि । आकाशका ठूलो वुवा देवुलाल भन्छन् – बुवाकै बिजोक छ, छोराछोरीलाई खुवाउन दिनभरि काम गर्नुपर्छ, नगरी के खुवाउने ? अहिले आएर छोरो यस्तो भयो के गरोस् बिचरा । आमा पनि छैन, धेरैजसो समय हामी नै यो नानीको हेरचाह गर्छाैं ।

दिनभरि काम गरेर फर्किएका सोवुलाल घरमा छोरा नहुँदा छट्पटिँदै खोज्न जाने गरेको छिमेकी छाया मैनाली सम्झन्छिन् । उनी भन्छिन्– घरमा पकाई बनाइ दिने श्रीमती पनि छैनन्, आफैं आएर बनाएर खुवाउनुपर्ने अवस्थामा छोरा खोज्न हिँड्दाको पीडा हामीलाई पनि देखी सैह्य छैन ।

छोरा हराएर नभेटिँदा कति रात अनिदैं व्यतित गर्नुपरेको सोवुलाल सम्झन्छन् । कसैले छोराको उपचार गरिदिए छोरा ठीक भएर स्कूल जाने आशा भने मारेका छैनन्– उनले । सबैका छोरा स्कूल गएको देख्दा उनलाई पनि आफ्नो छोरालाई स्कूल पठाउने र ज्ञानी बनाउँदै समाजको सेवा गरेको हेर्ने रहर छ उनमा । तर, छोराको यो अवस्था देखेपछि उनी घरी–घरी भक्कानिने गरेका छन् । आफ्नी श्रीमतीले सन्तानको माया नगरेको दुःखेसो पोख्छन् उनी ।

यसैबीच मानवीय सेवामा अहोरात्र खट्ने अर्जुनधारा–५का कौशल भण्डारीले बालक आकाशको उपचारका लागि पहल थालेका छन् । उनको समयमै उपचार भएमा ठीक हुने आशाका साथ भण्डारीले विहीवार उपचारका लागि धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान लैजाने तयारी शुरु गरेको बताएका छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here