सिङमाङमा राखेको कसले खायो घिउ ?

0
331

‘सासु भन्छे बुहारी, बुहारी भन्छे ज्यू, सिङमाङमा राखेको कसले खायो घिउ ?’ निकै अर्थपूर्ण नेपाली उखान पुराना पुस्ताका मुखराविन्दबाट कहिलेकाँही गतिलो प्रसंगमा जोडिँदै सुन्न पाइन्छ । तर, यस उखान र उखानबारेको बखान कुनै कृतिमा नै पढ्न पाइन्छ । सो कृति हो लेखक ‘युवराज काफ्ले’को ‘सिङमाङको घिउ’ । यस लेखमा उक्त उखान समेटिएको कृतिसहित चार कृतिहरुबारे संक्षिप्त परिचय दिइन्छ । नेपाली भाषामा लेखिएका यी कृतिहरु भारतमा प्रकाशित भएका हुन् । नेपाली मूल साथै नेपाली भाषी भारतका नागरिकहरुले नेपाली भाषा साहित्यलाई धेरै नै माया गरिआएको पाइन्छन् । उनीहरुले नेपाली भाषामा कैयन कृतिहरु प्रकाशन गरेका छन् । नेपाली भाषा साहित्यलाई एउटा मानक र स्तरको शीखरमा पु¥याएका छन् । लाग्छ जाति र भाषा भन्ने कुरा कुनै भौगोलिक या राजनीतिक सीमानाले अलग गर्न सक्दैन । नेपाल बाहिर भए पनि सबै एकै हौं । त्यसैको परिणाम स्वरुप धेरै–धेरै कृतिहरुको जन्म भएका छन् । ती मध्यकै हुन् यहाँ उल्लेख चार कृतिहरु :

सिङमाङको घिउ

कोरोनाकालमा घरमै थन्किनु परेको समयलाई सदुपयोग गर्दै लेखक काफ्लेले पहिलेबाटै विभिन्न अवसरमा लेखिएका आलेखहरुलाई खोजी र अद्यावधी गर्दै कृतिको रुप दिएका छन् । यस कृतिमा शिक्षा, शिक्षालय सम्बन्धी आलेखहरु संग्रह गरिएका छन् । कृतिमा सामाजिक विकासमा विद्यालयको भूमिका, स्वतन्त्र भारतमा शिक्षाको स्तर ः पहाडमा शिक्षा, डुवर्समा नेपाली भाषी र मातृभाषामा शिक्षा, कृष्यमाया हाई स्कूल ः नेपाली हाई स्कूल बनिँदाको कथा व्यथा, डा. आई. बी. थापा नेपाली विद्यालय स्थापनाकाललाई सम्झँदा र नेपाली कल्याण हाइँस्कूल बनिँदाका संघर्ष शीर्षकका साथै थुप्रै आलेखहरु समेटिएका छन् ।

सिङमाङको बनावट र घिउको अर्थ चाहिँ प्राक्कथनमा चर्चा गरिएका छन् । सिङमाङमा राखेको पुरानो घिउ जुनकुनै खतरनाक रोगका लागि पनि जडी ओखती हुने कुरा बताइएको छ । तर, आजको जमानामा यो कहाँ पाउनु ? बदलिएको जीवनशैलीका कारण सिङमाङ बनाउने, घिउ जोगाउने र यस्ता परम्परालाई अङ्गिकार गर्ने चलन आधुनिकताले क्वाप्पै खाइदिइ सकेको छ । यस्तै पिरलो गरेका छन् लेखकले । अनि यस कृतिमा समेटिएका आलेखहरुलाई लेखकले घिउको अर्थ दिएका छन् र पुस्तकलाई सिङमाङ ।

यस कृतिभित्र जातीय चेतनाका साथै नेपाली भाषाप्रतिको माया र संघर्षका कथा छन् । आफ्ना सन्नतिहरुलाई शिक्षा त्यसमा पनि नेपाली भाषामा शिक्षा दिन गरिएका अटुट प्रयास र सरकारसँग गरिएका संघर्ष आदि उल्लेख छन् । उपलब्धीहरुका लागि योगदान गर्नेहरुका विवरणहरु छन् कृतिमा । कृतिको नाम ‘सिङमाङको घिउ’ जस्तै विषयहरु समेटिएका छन् । जसले भारतमा रहेका नेपाली जातिका कथा, व्यथा, यथार्थका साथै उत्साह, प्रेरणा र उपलब्धी जान्न सकिन्छ । नेपाली हुनु र नेपालीपन मै जीउन गरिएका यावत नालीबेलीहरु यस कृतिमा समेटिएका छन् । सिङमाङको घिउ कस्ले खायो हँ ? शीर्षकमा सतीश रसाइली (पूर्व सह विद्यालय परिदर्शक) दार्जिलिङ्गको विचार पनि समेटिएका छन् । र, कृतिका प्रकाशक योगराज काफ्ले मतिगढा शिलगढी रहेका छन् ।

केही बुनोट केही लेखोट

यो पुस्तक समीक्षात्मक लेख संग्रह हो । यस पुस्तकमा, लेखनाथ र उनको वसन्त विचार, नेपाली कविताको ऐतिहासिक संकलन वर्णन यात्रा, पूर्वाञ्चलीय नेपाली कविता, साउतीका हाँस्यव्यंग्य कविताभित्र पस्दा, पर्यावरण संरक्षणमा व्यवहारिक दिशानिर्देश, किन रोयौ उपमा रहस्य र अनुसन्धान सोध्दा, त्रिशूलले चोट नलागोस्, याशिलालाई मेरो आज मित्रका कुराहरु, प्रसंग गोर्खाल्याण्ड पुस्तकले जन्माएका विचारहरु, संगीताञ्जलीलाई जम्लेहात, समीक्षकको व्यक्तिवृत्त लगायतका लेखहरु यस कृतिमा समेटिएका छन् ।

यस संग्रहमा, कृति समीक्षक युवराज काफ्लेले कवि लेखनाथ पौड्याल र उनको कविता वसन्त विचारबारे समीक्षा गरेका छन् । अन्य समीक्षामा कवि कृष्णहरि शर्माको कठिन यात्रा काव्य संग्रह, गोपालबहादुर नेपालीबाट संकलित र सम्पादित पूर्वाञ्चलीय नेपाली कविता संग्रह जसले भारतको असममा रहेका नेपालीहरुका सिर्जनाको प्रतिनिधित्व गर्दछ, सो बारे समीक्षा गरिएका छन् ।

त्यसैगरी अन्य समीक्षामा भारतमा नेपालीहरुको भाषा, शिक्षा आदिका अस्तित्वबारे लेखिएका छन् । अन्य समीक्षाहरुमा निकै गहन विषय समावेश भएका छन् । जसले भारतमा रहेका नेपाली हुनुको दुःख–सुख, संघर्ष, आशा, विगत, वर्तमान र उपलब्धीका कुरा र भविष्यका मार्गहरुबारे चिन्तन छन् । कृतिमा विद्वान कृष्ण प्रधानका विचार समेटिएका छन् । यस पुस्तकलाई एक गहन समालोचना कृतिका रुपमा लिन सकिन्छ । कृतिका प्रकाशक योगेन्द्रराज काफ्ले मतिगढा शिलगढी रहेका छन् ।

सामयिक सृजन

यस कृति विश्लेषात्मक प्रबन्ध संगह हो । यसभित्र, प्रस्तर दुर्गका साक्षी साहित्य सारथी, नेपथ्यबाट, पूmल अक्षेता, श्रीमल उनका रेडिया नाटक र्याण्डम विचार, कवि रुम्बाका अक्षर अब मुक्त भए, साहित्यकारको मूल्यांंकन र स्व. तिवारी, शिलगढीको साहित्यिक गतिविधि, पुण्यको अंशियार महानुभावहरु बन्नुहुनेछ, पुण्य कमाउने पुण्यात्मा सकुरा, शिलगढी र कृष्णमाया मेमोरियल स्कूल, अस्तित्व र अस्मिताको सुरक्षार्थ त्राहीत्राही भएर जीवन बिताउनुपर्ने थिएन, प्रणम्य गुरुवर रचना गर्भ, भन्नुपर्ने कुरा, योगी नरहरिनाथ व्यक्तित्व एवम् कृतित्वको संगालोभित्र, विश्वमानव सुनीतिकुमार च्याटर्जीको महाप्रयाण, उत्तर बङ्ग विश्वविद्यालयले नेपाली एम.ए. खोल्नमा ढिलाई किन ?, सौर जगतको अमर ज्योति विद्रोही कवि काजी नजरुल इसलाम, प्रस्तुत पुस्तकको आवश्यकता र शिलगढीको नमेटिने पाइलाका साथै धेरै प्रबन्धहरु संग्रहित भएका छन् । यसका अलावा भूमिका, लेखकको भनाइ, सम्पादकीय पनि रहेका छन् ।

कृष्ण प्रधानको उद्गार : ‘भूमिका लेखनमा पनि युवराज काफ्लेलाई तटस्थ देखिन्छ । यिनले जति भूमिका लेखेका छन्, ती सबै गतिला झरिला छन् । यिनको भूमिकामा गहन सोच, विश्लेषणका साथै समालोचकीय गुण पनि पाइन्छ । यिनका भूमिका छोटा अनि सरल हुन्छन् ।’ यस विचारबाट प्रेरित भइ लेखक काफ्लेले यो कृति जन्माएका हुन् । काफ्लेले लेखेका कैयन भूमिका मध्ये पुस्तकको साइज पट्यारलाग्दो ठूलो नहोस भन्ने हेतुले २८ वटामात्र भूमिका, सम्पादकीय, प्रबन्धहरु प्रकाशित गरिएका कुरा कृतिमा उल्लेख भएका छन् । यस कृतिमा भूमिका, प्रबन्धहरु सन् १९७० देखि २०२० सम्मका हुन् ।

‘प्रस्तर दुर्गका साक्षी साहित्य सारथी युवराज काफ्ले’ शीर्षकमा भारत शिलगढीका विद्वान राजेन्द्र ढकालले कृतिकार काफ्लेबारे यी विचारहरु लेखेका छन् : ‘युवराज काफ्लेलाई हामीले एक इतिहास पुरुषको रुपमा चिनेका छौं । प्रस्तर दुर्ग वा ढुङ्गे किल्ला जसलाई आज हामी शिलगढीको नामले चिन्छौं, काफ्ले यहीँका भूमिपुत्र हुन् । उनको जन्मदेखि लिएर आजसम्मको सम्पूर्ण समयावधि, शिक्षा, कार्यकलाप, सृजन, कर्मक्षेत्र सबै यसै जिल्लामा केन्द्रित छन् । उनले यहीँ जीवनलाई आजको उचाइमा पु¥याउन संघर्ष गरे । प्रत्येक समस्याका रुपमा चुनौतिको रुपमा लिएर आज साहित्याकाशमा उज्ज्वल नक्षत्र भई चम्किरहेका छन् ।’ ढकालले कृतिकार काफ्लेबारे अरु धेरै क्षमता, गुण र योगदानबारे लेखेका छन् । तर, यो गुण चाहिँ बिर्सन सकिँदैन सायद ः ‘शिलगढीमा नेपाली भाषीहरुको पहिलो भूमिपुत्रको नाम लिनुपर्दा हामीले यताउता नजर नदौडाई युवराज काफ्लेको नाम नै लिनुपर्ने हुन्छ ।’ यी विचारहरुले कृतिकार काफ्ले अब्बल स्रष्टा रहेको थाह लाग्दछ ।

अग्रगामी व्यक्तित्व
(आलोचनात्मक जीवनवृत्त)

‘सुधीन घोष’ हुन् । लेखक घोष कृष्णमाया मेमोरियल नेपाली हाइस्कूल शिलगढीमा प्रधान अध्यापक रहेका बेला शिक्षक युवराज काफ्ले (माथिका तीन कृतिका लेखक)ले स्कूलका दैनिक कामहरु पनि अतिरिक्त समय बसेर समेत कुशलतापूर्वक सम्पन्न गरेका छन् । एउटा शिक्षकको काम कक्षामा विद्यार्थीहरुलाई राम्ररी पढाउने हो । तर, शिक्षक काफ्लेले स्कूलको शैक्षिक, प्रशासनिक, लेखा, व्यवस्थापन लगायत काममा समेत भरमक्दुर सहयोग गरे । जसले गर्दा काफ्लेले घरपरिवारमा समय दिन सकेनन् ।

यस पुस्तकको प्रकाशक कृष्णा घोष (सुधीन घोषकी धर्मपत्नी)लाई के लाग्यो भने उनको पति सुधीन घोषले शिक्षक काफ्लेलाई अतिरिक्त काम लगाएर उनको घरपारिवारिक जीवन असहनीय तुल्याउनुभयो । सुधीन घोष सन् २००४ मा र काफ्ले २००८ मा अवकाश भए । अर्कातिर शिक्षक जीवनमा र अवकाशपछि पनि काफ्लेले समाजका लागि पनि थुप्रै राम्रा काम गरिसकेका छन् । त्यसैले नेपाली समाजले उनले गरिआएका कार्यकलापका मूल्यांकन गर्दै एउटा अभिनिर्णय ग्रन्ध प्रकाशित गरिदिएर काफ्लेलाई सम्मानित गर्ने प्रबन्ध मिलायो । त्यसै ग्रन्थमा समावेश गर्न काफ्ले बारेको एउटा लेखौट तयार पारी दिन कृष्णा घोषका पति सुधीन घोषलाई पनि भनियो । सुधीन घोषले काफ्लेबारेको लेखोट तयार पार्दा निर्धारित पृष्टसंख्याभन्दा धेरै पृष्ट बढ्न गइ एउटा सिङ्गो ग्रन्थको आकारको हुन गयो । सो कृष्णमाया मेमोरियल नेपाली हाइस्कूललाई धरोहरका रुपमा प्रस्तुत गरेको इतिहासको रुपरेखा पनि यसमा पर्न गएको आभाष पाएकोले सो लेखौटहरुलाई अग्रगामी व्यक्तित्व नाम दिएर पुस्तक प्रकाशित गरिएको प्रकाशक कृष्णा घोषले कृतिमा उल्लेख गरेकी छन् ।

सुधीन घोषले प्रस्तुत कृति अग्रगामी व्यक्तित्वमा युवराज काफ्लेबारेका जीवन वृतान्त, प्रतिभा, गुण र योगदान आदिका बारेमा वृहत रुपमा लेखेका छन् । घोषका ‘हाम्रो परम्परा र प्रगति’ र ‘सोक्पा’ नामक कृतिहरु यसअघि प्रकाशित भएका छन् । स्रष्टा युवराज काफ्ले बहुआयामिक प्रतिभाका धनी, असल शिक्षक र समाजसेवा तथा भाषा साहित्यिक सेवामा समेत उत्तिकै लगनशील व्यक्तित्व रहेको माथी उल्लेखित चार कृतिहरुबाट जान्न सकिन्छ । नेपाली भाषा साहित्यमा उनको योगदान अनुकरणीय छ । उच्च कोटीका स्रष्टा युवराज काफ्ले बारेका वृत्तान्त र उनका कृतित्वहरु अध्ययन गर्ने जिम्मा पाठकवर्गमा ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here