मोहन–टीका पोखरेलले बनाइदिए अशक्त धर्मराज–राजकुमारीको घर

0
246

झापा।

हरेक नागरिकको गाँस, वास र कपासको प्रत्याभूति संविधानले नै गरेको छ । तर, अझै पनि नेपालका कतिपय नागरिक घरवारविहीन छन् भने कतिपयको अवस्था दयनीय छ ।

झापामा मात्रै अझै पनि धेरै नागरिक घर नभएकै कारण कष्टपूर्ण जीवनयापन गरिरहेका छन् । स्थानीय तहका जनप्रतिनिधिको पहुँचमा पुगेकाहरुमध्ये केहीले घर पाएका छन् भने कतिपय नागरिक उनीहरुको पहुँचमा नपुग्दा घरबारविहीन नै छन् ।

अझ, चेतना र पुहुँच नभएकै कारण राज्यले उपलब्ध गराउने सेवासुविधा लिनबाट बञ्चित हुने गरेका थुप्रै उदाहरण हाम्रै समाजमा छ । त्यसमा पनि अशक्त, बृद्धबृद्धा, एकल, अल्पसंख्यक, सीमान्तकृत समुदायको अवस्था झनै दयनीय छ ।

त्यस्ता समुदायका मानिसलाई लक्षित गर्दै कर्तव्य फाउण्डेशनले ‘हाम्रो पनि सुन्दर घर होस्’ भन्ने अभियान शुभारम्भ गरेको छ । घर जीवनको सारथि र सुरक्षाका लागि पनि अत्यावश्यक हो भन्दै फाउण्डेशनले अभियान शुरु गरेको हो ।

लक्षित समुदायका नागरिकको आवश्यकता पूरा गर्न जीवनको सपना साकार पार्न र मुहारमा थोरै भए पनि खुशी ल्याउन कर्तव्य फाउण्डेशनले ‘हाम्रो पनि सुन्दर घर होस्’ भन्ने अभियान शुरु गरेको अभियानका संयोजक महेन्द्रकुमार गिरीले बताए । अभियान अन्तर्गत एक सक्षम र इच्छुक व्यक्ति, संस्था÷प्रतिष्ठानबाट घर नहुने एक परिवारको घर निर्माण गरिने संयोजक गिरीले बताए । उनका अनुसार अतिविपन्न, अपाङ्गता भएका, बृद्धबृद्धा, एकल, अल्पसंख्यक, सीमान्तकृत समुदायका परिवारको घर निर्माणका लागि छनौट गरिने छ ।

घर हरेक मानिसको आधारभूत आवश्यकता र जीवनको मुख्य सपना हो– गिरी भन्छन्– तर, गरिबी र असशक्तताका कारण घर बनाउन नसक्ने परिवार हामी कहाँ धेरै छन् । अझै पनि धेरै मानिस विना घर कष्टपूर्ण जीवनयापन गर्न विवश छन् । उनीहरुलाई नै लक्षित गर्दै हामी यो अभियानमार्फत त्यस्ता मानिसको घर निर्माण गर्छाै ।

इच्छुक दाता÷अभियानकर्मी तथा संस्था÷प्रतिष्ठानले आफ्नै प्रत्यक्ष निगरानी र स्रोत परिचालनमा घर निर्माण गरिदिने फाउण्डेशनको अवधारणा रहेको संयोजक गिरीको भनाइ छ । कर्तव्य फाउण्डेशनले घर निर्माणका लागि कोहीबाट पनि नगद संकलन गर्दैन, यो कुनै दातृ निकायबाट प्राप्त अनुदान तथा परियोजना पनि होइन– गिरीले भने– कर्तव्य फाउण्डेशनले हरेक व्यक्ति, संस्था÷प्रतिष्ठानको सामाजिक उत्तरदायित्वमा जोड दिन्छ । सामाजिक र मानवीय सेवा यसको बिशुद्ध उद्देश्य हो ।

आफ्नो कमाईको केही अंशबाट सामाजिक उत्तरदायित्व निर्वाह गर्न तथा मानवीय सेवामा समर्पण गर्न इच्छुक व्यक्ति, संस्था÷प्रतिष्ठानलाई कर्तव्य फाउण्डेशनले अभियानमा जोड्ने र उद्देश्य प्राप्तिका लागि संयोजनकारी भूमिका निर्वाह गर्दछ ।

सबै सक्षम व्यक्ति, संस्था प्रतिष्ठानले हातेमालो गर्ने हो भने हरेक घरविहीनहरुले घर पाउनेछन्, उनीहरुको जीवनयापन सहज बन्ने छ अनि दिगो विकासको लक्ष्य हासिलसँगै समृद्ध नेपाल निर्माणमा टेवा पुग्ने संयोजक गिरीको बुझाइ छ ।

पहिलो घर हस्तान्तरण

अर्जुनधारा–५ नमूना बस्ती (फूलबारी) निवासी धर्मराज–राजकुमारी गिरी दम्पत्तिलाई अभियान अन्तर्गत पहिलो घर हस्तान्तरण गरिएको छ ।

श्रवणशक्ति नभएका धर्मराज र दुवै आँखाको ज्योति गुमाएकी राजकुमारीलाई पहिलो घर हस्तान्तरण गरिएको हो । बृद्ध अवस्थामा रहेका दुबै जनालाई अभियानको शुभारम्भसँगै घर हस्तान्तरण गरिएको हो ।

धर्मराज–राजकुमारीका लागि बिर्तामोड निवासी व्यवसायी तथा सामाजिक अभियन्ता मोहन पोखरेल–टीका पोखरेलले आफ्नै निगरानी र स्रोत परिचालनबाट पाँच लाख रुपैयाँको लागतमा यो घर निर्माण गरिएका थिए । घर निर्माणकर्ता अभियानकर्मी मोहन–टीका पोखरेलले नै धर्मराज–राजकुमारीलाई चावी हस्तान्तरण तथा रिवन काटेर घर प्रवेश गराएका छन् ।

अपाङ्गता भएका र बृद्धावस्थाका धर्मराज–राजकुमारीलाई घर निर्माणमा सहयोग पु¥याउने पोखरेलले सामाजिक भावनाले प्रेरित भई आफूहरुले उनीहरुको घर निर्माण गरिदिएको बताएका छन् । दाता पोखरेलले आफ्नो बिगतको अवस्थालाई स्मरण गर्दै घर नहुँदाको पीडा बुझेर सहयोग गरेको बताए । उनले भने– बिगतमा मेरो पनि घरको अवस्था त्यस्तै थियो ।

जतिबेला हावाहुण्डरी आउँथ्यो, त्यो बेला खाँवो समात्नुको विकल्प थिएन । त्यो बेला हामी पनि हावापानी आउँदा बलो समाएर बस्नुपथ्र्यो, घर नहुँदाको पीडा मलाई राम्रो थाहा छ, पोखरेलले भने– समाजमा केही गर्ने मन भएकाले समयमै गरेको हुँ । सबैको मृत्यु निश्चित छ, पैसाले बाँचिदैन, त्यसैले उमेर हुँदै सेवा गर्नुपर्ने रहेछ । घर पाउने गिरी परिवार अन्त्यन्तै दुःखले बसेको देखेर घर बनाउने सोच बनाएको थिएँ र आज हस्तान्तरण गरियो ।

समाजमा केही गर्न चाहँदाचाहँदै दीपेन्द्र पोखरेल र ज्ञानु प्रसाईको मृत्यु भयो पोखरेलले उनीहरुको सामाजिक सेवा भाव सम्झँदै भने– केही सामाजिक काम गर्न मन छ भने अहिले नै गरिहाल्नुहोस् । घर हस्तान्तरण समारोहमा बोल्दै फाउण्डेशनका संयोजक गिरीले गरीव, विपन्न, असहाय, बृद्धबृद्धा, एकल महिला र अपाङ्गता भएको परिवारका लागि १ सय घर बनाउने लक्ष्य रहेको बताए । बिर्तामोड, अर्जुनधारा र कनकाई नगर क्षेत्रभित्रमा यो कार्यक्रम अभियानका रुपमा अघि बढाइने गिरीको भनाइ छ ।

अर्जुनधारा–५का वडाअध्यक्ष ध्यानबहादुर भारतीको अध्यक्षतामा भएको कार्यक्रममा अभियानका संयोजक गिरी सहित इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक सन्तोष आचार्य, रोटरी क्लव अफ बिर्तामोडका अध्यक्ष नवीन गट्टानी, समाजसेवी रजनीश कर्नानी, लायन्सका क्याबिनेट सेक्रेटरी लीला चिमरिया, सहारा नेपाल साकोसका कार्यवाहक अध्यक्ष हरिप्रसाद निरौला, राष्ट्रिय उपभोक्ता मञ्च झापाका अध्यक्ष मदनगोपाल सुब्बा, पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी दाता परिवारका तर्फबाट पोखरेलसहित उनकी श्रीमती टीका पोखरेल तथा मोहनका दाजु दिनेश पोखरेल लगायत सहभागी थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here