गठबन्धन गर्न कार्यदल बनाइने

0
595

दमौली,

स्थानीय तहको निर्वाचनमा गठबन्धन गरेर जाने तनहुँका चार दलले निर्णय गरेका छन् । केन्द्रमा रहेको गठबन्धनलाई स्थानीय तहको निर्वाचनमा पनि कार्यान्वयन गर्ने निर्णय गरिएको हो ।

नेपाली कांग्रेस, नेकपा (माओवादी केन्द्र), नेकपा (एकीकृत समाजवादी) र जनता समाजवादी पार्टीका नेताहरुको आज बसेको बैठकले आवश्यकता परेको खण्डमा वडास्तरसम्मै गठबन्धन गरेर जाने निर्णय गरेका छन् । निर्वाचनमा गठबन्धनका लागि दसवटै पालिकामा कार्यदल गठन गर्ने सहमति भएको नेपाली कांग्रेसका सचिव लक्ष्मीभक्त खनालले जानकारी दिनुभयो ।

उहाँका अनुसार हरेक पालिकामा दुई÷दुईजना रहने गरी कार्यदल बनाइनेछ । उक्त कार्यदलले गठबन्धनका लागि आवश्यकताअनुसार निर्णय गर्ने सहमति भएको खनालले बताउनुभयो । “केन्द्रमा गरिएको निर्णयलाई स्वागत गर्दै तनहुँमा पनि त्यसको कार्यान्वयन गर्ने सहमति भएको छ, कार्यदल गठन गरेर गठबन्धनलाई कसरी लैजाने भन्ने विषयमा छलफल हुन्छ”, उहाँले भन्नुभयो ।

बैठकमा नेपाली कांग्रेसका सभापति जितप्रकाश आले, निवर्तमान सभापति वैकुण्ठ न्यौपाने, माओवादी केन्द्रका केन्द्रीय सदस्य हरि चुमान, जिल्ला अध्यक्ष राजेन्द्रकेशरी न्यौपाने, एकीकृत समाजवादीका जिल्ला अध्यक्ष शङ्करनारायण श्रेष्ठ, केन्द्रीय सदस्य चित्रबहादुर थापा, जनता समाजवादीका केन्द्रीय सदस्य शिवलाल थापा र जिल्ला अध्यक्ष कृष्ण गुरुङ सहभागी हुनुहुन्थ्यो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here