पछिल्ला दिनमा पैसा र शक्तिसंग राजनीति गाँसिएको छः कांग्रेस सहमहामन्त्री आङ्देम्बे

0
412

युद्धबहादुर बोहोरा/पाँचथर,

घुर्बिसे पञ्चमी (पाँचथर) नेपाली कांग्रेसका सहमहामन्त्री भिष्मराज आङ्देम्बेले पछिल्ला दिनमा पैसा र शक्तिसंग राजनीति गाँसिएको बताएका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ क्षेत्रिय कार्यसमित,पाँचथरद्वारा फाल्गुनन्द गाउँपालिकाको घुर्बिसे पञ्चमीमा आयोजित बधाई तथा सम्मान कार्यक्रम एवम् बृहत जिल्ला स्तरीय आमसभामा पार्टीका सहमहामन्त्री आङ्देम्बेले सो कुरा बताएका हुन् ।

उनले नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेसलाई २३ सिटबाट १३ सिटमा झारी दिन्छु भन्नुको पछाडि एमाले पार्टीले सरकारमा रहँदा र स्थानीयतहमा मनी मसल र पावर संचित गरेको आरोप लगाएका छन् ।

यस अघिको स्थानीय तहको निर्वाचनमा नेकपा एमालेले पाएको आकार अहिले पनि उसको साथमा भएको भन्दै,कम्युनिष्टका नाममा संगठित भएका निकायहरु उपभोक्ता समितिको नाममा पैसा सर्वत्र खर्च गरेर आफ्ना कार्यकर्तालाई पालन पोषण गरि खुशी पारेको आरोप लगाएका छन् । एमालेबाट निर्वाचित जनप्रतिनिधिले कुनै दिर्घकालीन विकासको योजना नबनाई हरेक रकमहरु चुनाव केन्द्रित बनाउँदै निर्वाचनमा पैसाको खोला बगाएर कांग्रेसले यस अधि पाएको सिट घटाउने दम्भ दिएको दावी गरेका छन् । चुनाव जित्ने धम्की दिनुले मनी मसल र पावरको भरमा घमण्ड गरेको उनले आरोप लगाएका छन् ।

घर-घर जाऔं कांग्रेस जगाऔं अभियान कार्यक्रमका प्रमुख अतिथि तथा प्रमुख वक्ता समेत रहेका नेता आङ्देम्बेले एमालेको उदण्डताबाट मुलुकलाई मुक्त गराउन गठबन्धन रहरले हैन बाध्यताले गरिएको भएता पनि कांग्रेसले सहज रुपमा लिएको उनले बताए । उनले भने-‘एमालेको अनुशासन हिन चरित्रलाई टुंगोमा ल्याउन र छाडा हुन नदिन गठबन्धन भित्रका दलहरुको सम्मानजनक अस्तित्व कायम गर्दै उनीहरुलाई साथमा लिएर जानुपर्ने कांग्रेसको काँधमा ऐतिहाँसिक जिम्मेवारी आएको छ ।’

मुलुकमा जब संकट आइपर्छ तब कांग्रेस पार्टिले देशको समस्याको निकास दिने दावी गर्दै विपक्षीले फैलाउने भ्रम र अनावश्यक हल्लाको पछि नलागि आगामी स्थानीयतहको चुनावमा जनताको घरघरमा पुगेर पार्टीको नीति तथा सिदान्त आम नागरिकलाई बुझाउन नेता तथा कार्यकर्तालाई समेत आग्रह गरेका छन् ।

नेपाली कांग्रेस प्रदेश सभा ‘ख’ क्षेत्रिय सभापति मैया श्रेष्ठ लावतीको अध्यक्षतामा सम्पन्न सभामा पार्टीका केन्द्रिय सदस्य राजीव ढुंगाना,जिल्ला सभापति रुपनारायण जवेगु,उपसभापति बृजहाङ आङ्देम्बे,निवर्तमान सभापति नरेन्द्र केरुङ,पूर्व सचिव द्वय सुरेन्द्र दाहाल र जय प्रसाद रिजाल,महासमित सदस्य गोपाल पोख्रेल,हरिराज आङ्देम्बे,महाधिवेशन प्रतिनिधि विरेन्द्र कुमार खड्का,सुमन लामा लगायत विभिन्न जिम्मेवारीमा रहेका नेताहरुले मन्तव्य राखेका थिए ।

आयोजक प्रदेश सभा ‘ख’ क्षेत्रिय कार्यसमितिले १४ औं महाधिवेशनबाट पाँचथर जिल्लाका नेता आङ्देम्बे सहमहामन्त्रीमा निर्वाचित भएकोमा सम्मान गरेसंगै २६० जना पार्टीका अग्रज नेताहरुलाई सम्मान गरेको क्षेत्रिय उपसभापति तेज बहादुर चेम्जोङ(तेजु) ले जानकारी दिए । यसै अवसरमा कार्य समितिले तयार गरेको नयाँ वर्ष २०७९ सालको क्यालेण्डर पनि जिल्ला भरका सबै स्थानीय तहका कार्यकर्तालाई पुग्ने गरि वितरण गरिएको उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here