सत्य, निष्ठा र प्रेमको पर्व

0
537

त्रेतायुगमा चैत शुक्ल पक्षको नवमीका दिन अयोध्यामा जन्मिएका भगवान रामको प्राकट्य दिवस आज । भगवान विष्णुको सातौं अवतार मानिएका रामको राज्य व्यवस्था न्यायको अनुपम उदाहरण मानिन्छ, आज पर्यन्त । वैदिक सनातन हिन्दू धर्ममा सबैभन्दा बढी पूजा गरिने भगवान रामको जन्म माताकै गर्भबाट भएको भए पनि यति धेरै सम्मान गरिनुका पछि उनको पितृभक्ति, पत्नी प्रेम, देशवासी प्रतिको कर्तव्य निर्वाह, सत्य र न्यायको पक्षमा भएको अटल र दृढ निष्ठा नै हो । अत्यन्त ज्ञानी भएकैले मर्यादा पुरुषोत्तम भनिएका भगवान रामलाई आजका दिन विश्वभिरका वैदिक सनातन हिन्दू परम्पराका अनुयायीहरुले श्रद्धा–भक्तिपूर्वक पूजा गर्दैछन् ।

भगवान राम भन्नासाथ सनातनी हिन्दू धर्मावलम्वीहरुले अज्ञानतारुपी अन्धकार, असत्य, अन्याय र अनुशासनहीनताको पराजय भएर ज्ञान, सत्य, न्याय र मर्यादाको स्थापनाको पवित्र दिन सम्झिन्छन् । त्यसैले नेपाल, भारत, श्रीलंका, वर्मा, थाइल्याण्ड, माल्दिप्स इन्डोनेसिया, बंगलादेश लगायत हिन्दू धर्मावलम्बीहरु रहेका विश्वभरि नै रामको जीवनी झल्किने नाटक, भजन–किर्तन, प्रदर्शन तथा विशेष महोत्सव गरेर राम नवमी मनाइन्छ । हाम्रो पवित्र तीर्थस्थल जनकपुरमा आजको दिन भव्य मेलाको आयोजना गरिन्छ । देश–विदेशबाट आएका श्रद्धालु भक्तजनहरुले स्थानीय गंगासागरमा स्नानादिकर्म गरी रामजानकी मन्दिरमा भगवान राम–सीताको पूजा गर्दछन् । रामगीता पाठ गरी विशेष रुपले गरिने पूजामा हजारौंको सहभागिता रहन्छ ।

दुराचारी रावणको अत्याचारबाट जोगाएर समस्त प्राणीजगतको रक्षा गर्न प्रकट भएका रामले उनको बध गरेर पृथ्वीलोकको रक्षा गरेको रामायणमा उल्लेख छ । आदर्श छोरी सीतासँग विवाह गरेर असल पतिको भूमिका समेत निर्वाह गरेका रामको पितृभक्ति, माताप्रतिको कर्तव्य, भाइहरुप्रतिको प्रेम र अयोध्यावासीप्रतिको आदरभाव सनातनी परम्पराका आदर्श हुन् । सौतेनी आमा कैकेयीको आफ्नो छोरा भरतलाई राजा बनाउन ेकुटील चाहना बुझेर पनि बुवा दशरथको आज्ञा शिरोपर गरी सहजै चौंध वर्ष वनवास जान स्वीकार गर्नु भगवान रामको आदर्श र पितृभक्तिको अनुपम उदाहरण हो । तिनै आदर्श पुरुष, आदर्श राजा, सत्य, न्याय र निष्ठाको सर्वोत्तम उदाहरण भगवान रामको जीवन चरित्रलाई हाम्रा नेता र नेतृत्वले बोध गर्न सके रामराज्य पुनस्र्थापित हुन सक्छ । राम नवमीको यो पावन दिनमा सबैले उनका आदर्श, चरित्रको अनुशरण गर्ने सामथ्र्य मागौं, यसले समस्त सृष्टिको पनि कल्याण गर्नेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here