‘निर्वाचन सम्वन्धी तयारी अन्तिम चरणमा’

0
364

छविराज ढकाल / पथरीशनिश्चरे,

पूर्वोत्तर मोरङको पथरीशनिश्चरे नगरपालिकास्थित निर्वाचन अधिकृतको कार्यालयले निर्वाचन सम्वन्धी तयारी अन्तिम चरणमा पुगेको जनाएको छ।

शुक्रबार नगरमा रही विभिन्न सञ्चारमाध्यममा कार्यरत पत्रकारहरुसितको एक अन्तरकृयामा निर्वाचन अधिकृतको कार्यालयका प्रमुख अधिकृत खगेन्द्र सुवेदीले उक्त कुरा बताउनुभएको हो। उहाँले पथरीशनिश्चरे नगरपालिका क्षेत्रभित्र कुल ५९ मतदान केन्द्र रहेको र ती मतदान केन्द्रमा खानेपानी, विजुली , यातायात , संचार लगायतका विभिन्न भौतिक व्यवस्थापन र सुव्यवस्थित सुरक्षा प्रवन्ध सहित अन्य सुविधाहरु उपलब्ध गराउन सम्वन्धित सुरक्षा निकाय समक्ष समन्वय गरिएको बताउनुभयो।

आगामी बैशाख -३० गते हुन गईरहेको स्थानीय तह निर्वाचनमा नगरका १० वटै वडाहरुमा बसोबास गर्ने नागरिकको सजिलो हुने गरी मतदान केन्द्र तोकिएको छ। यसपटकको चुनावमा नगरका जम्मा ५९ मतदान केन्द्रबाट कूल ५१ हजार ३३० जना मतदाताले आफ्नो बालिग मताधिकार प्रयोग गरी सक्षम र राम्रा मेयर, उपमेयर , वडाध्यक्षहरू , वडा सदस्यहरू सहित कूल ५४ जना जनप्रतिनिधिलाई भोट दिएर विजय गराउने गर्नेछन्। आसन्न स्थानीय तह निर्वाचनको लागि निर्वाचन अधिकृतको कार्यालयको यस अघि प्रकाशित सुचना अनुसार नगरका मेयर, उपमेयर , वडाध्यक्ष, वडा खुल्ला सदस्य , वडा महिला सदस्य, वडा दलित सदस्य गरी कूल २६४ जना उम्मेदवारहरुले आफ्नो उम्मेदवारी दर्ता गराएका छन्।

निर्वाचन अधिकृतको कार्यालयले यतिबेला मतदाता संख्याका आधारमा मोरङ्ग जिल्लाकै सबैभन्दा ठुलो मानिने पथरीशनिश्चरे नगरपालिकाको निर्वाचन शान्तिपूर्ण रुपमा सम्पन्न गर्न निर्वाचन सम्वन्धी आन्तरिक व्यवस्थापनमा जुटिरहेको छ। निर्वाचन अधिकृतको कार्यालयले यतिबेला विभिन्न मतदान केन्द्रको अवलोकन तथा स्थलगत भ्रमण गरिसकेको छ भने मतदान केन्द्रमा खटिने कर्मचारीहरूलाई आउने २५ गते विराटनगरस्थित निर्वाचन कार्यालयमा तालिम संचालन गरिने भएको छ ।

यसैगरी, निर्वाचन अधिकृतको कार्यालयले आगामी २८ गते र २९ गते सबै वडाहरुका मतदान केन्द्रमा खटिने कर्मचारीहरू र स्थानीय दलका प्रतिनिधिहरुसँग सहज रुपमा चुनाव सम्पन्न गर्न छलफल गरीने कार्यक्रम तय भएको सहायक अधिकृत पुण्य प्रसाद पौडेलले बताउनुभयो। आगामी बैशाख -३० गते निर्वाचन भएकै बेला स्वयमंसेविकाहरूलाई सबै मतदान केन्द्रहरूमा खटाई मतदाता शिक्षा प्रदान गरिने निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

सोहि अवसरमा मतदानका दिन अत्यावश्यक पर्ने सवारी पासका लागि जिल्ला प्रशासन कार्यालय मोरङसमक्ष २८ गते भित्रमा आवेदन गरिसक्नु पर्ने पनि जानकारी दिईएको थियो। आसन्न स्थानीय तह निर्वाचनलाई मध्यनजर गर्दै पथरीशनिश्चरे नगरक्षेत्रमा शान्ति सुरक्षा कायम गर्न खटिई आउनु हुने पथरीशनिश्चरे सशस्त्र प्रहरी बलका प्रमुख डिएसपी खगेन्द्र बहादुर चन्दको समेत उपस्थिति रहेको उक्त कार्यक्रममा नेपाल पत्रकार महासंघ मोरङ का उपाध्यक्ष मोहन भट्टराई र पथरीशनिश्चरे नगरपालिकाका सूचना संयोजक भुपेन्द्र तिमल्सिना सहितको उपस्थिति रहेको थियो।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here