काठमाडौं,असोज ३१ । एक युवतीलाई बिहे गर्छु भन्दै झुक्याएर भारतको वेश्यालयमा बेचेको अभियोगमा पक्राउ परेका एक युवकलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले जिल्ला सरकारी वकिलको कार्यालयमा बुझाएको छ।
अभियुक्त नुवाकोट घर भई काठमाडौंको नारायणस्थान बस्ने २५ वर्षीय सुर्य तामाङ थिङ भन्ने राजु तामाङले काठमाडौंकी एक युवतीलाई ५ लाख भारतीय रुपैयाँमा नयाँ दिल्लीको एक वेश्यालयमा बेचेको अनुसन्धानका क्रममा खुलेको प्रहरीले जनाएको छ।
केन्द्रीय अनुसन्धान ब्यूरो, महाराजगञ्जका प्रहरी उपरीक्षक सुरेशविक्रम शाहका अनुसार तामाङले रौतहट घर भई बौद्ध अत्तरखेल बस्ने २३ वर्षीय युवतीलाई ुकाठमाडौंमा मेरो घर छ। म भारतमा काम गर्छु। तिमीसँग विवाह गर्छुु भन्दै आफ्नो जालमा फसाएका थिए।
उनले भारतमा गई विवाह गर्ने भन्दै गत जेठ २० गते काठमाडौंबाट वीरगञ्ज हुँदै भारत पुर्याएका थिए।
अभियुक्तले ती युवतीलाई नयाँ दिल्लीको ओम बिहारको उत्तमनगरस्थित वेश्यालयमा बेचेर भागेका थिए। जेठ २४ गते एउटा वेश्यालयबाट अर्को वेश्यालय सार्ने क्रममा युवती रुन कराउन थालेपछि नेपालकै एक रिक्सा चालकले देखेका थिए।
युवती रुँदै गरेको देखेका उत्तमनगरमा रिक्सा चलाउने ती नेपालीले दिल्लीको माइति भारतमा खबर गरेका थिए। माइति नेपाल र नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरोले समन्वय गरि युवतीलाई वेश्यालयबाट उद्दार गरि नेपाल ल्याइएको थियो।
युवतीलाई उद्दारपछि युवतीले बताएको हुलियाका आधारमा केन्द्रीय अनुसन्धान ब्यूरोको टोलीले तामाङलाई गत भदौ ८ गते काठमाडौंको माछा पोखरीबाट पक्राउ गरिएको थियो। अभियुक्तले युवती बिक्री गरेर प्राप्त गरेको पैसाले भारतमै सुनका गहना किनेको पनि अनुसन्धानका क्रममा देखिएको शाहले बताए।
मानव बेचबिखन तथा ओसारपसार नियन्त्रण ऐेन, २०६४ मा मानिस किन्ने वा बेच्नेलाई बीस वर्ष कैद र दुई लाख रुपैयाँ जरिबाना हुने व्यवस्था छ।
श्रोत पहिलो पोष्टबाट































