निर्वाचनको ज्वरो मत्थर हुँदै गएको छ । देशभरका स्थानीय तहमध्ये एक तिहाईभन्दा बढीको मतपरिणाम सार्वजनिक भइसकेका कारण निर्वाचन र त्यसको तापक्रम क्रमशः ओरालो लाग्न थालेको हो । निर्वाचन कै कारण बढेको प्रदुषणले मानव स्वास्थ्यमा पार्ने प्रतिकूल असरको अनुमान मात्रै गर्न सकिन्छ, दृश्यमा मतदान केन्द्रदेखि मतगणना स्थलसम्म उत्सर्जित फोहरको डंगुर छ । निर्वाचनका समय चौबीसै घण्टा जस्तो बज्ने चर्को ध्वनिसहितका माइक, जुलुस र प्रदर्शनले धुलो, धुँवा, ध्वनि, जल, जमिन र हावामा पारेको प्रतिकूलता प्रतिरोधी क्षमता कम भएका व्यक्तिहरुमा क्रमशः देखिने छ । बहुदलीय प्रजातन्त्र हुँदै संसदीय लोकतन्त्रको अभ्यासमा रहेका बेला यस्ता विषयहरु सरोकार राख्नेहरुको प्राथमिकता, चिन्ता र चासोमा पर्दैपर्दैनन् ।

प्रदुषण बढाउन शहर–बजार क्षेत्रको प्रमुख भूमिका रहन्छ । तर, त्यही क्षेत्रमा आफूद्वारा उत्सर्जन गरिएको फोहर व्यवस्थापन गर्ने चेत हँुदैन । ज्यादै थोरैमा मात्र जिम्मेवारी बोध हुन्छ, जस्तो कि धरान उपमहानगरपालिकाका एक उम्मेदवारले नैतिक जिम्मेवारी निर्वाह गरेको देख्न पाइयो । सरसफाई सभ्यताको परिचायक हो । व्यक्तिको अन्तरक्षमता वा गुण उसको व्यवहारमा प्रकट हुन्छ भनिन्छ । यस हिसाबले पनि हामीकहाँ त्यस्तो चेत आउन अझै निक्कै समय लाग्ने अनुमान गर्न सकिन्छ । झापाका मतदान केन्द्र तथा मत गणना भइरहेका स्थलहरुमा थुप्रिएको प्लाष्टिकजन्य फोहरले सौन्दर्यसँगै प्रदुषण बढाइरहेका बेला अर्जुनधारा–११ का एक युवा फोहर संकलन तथा व्यवस्थापनमा लागेको सुखद् समाचार छ ।
अर्जुनधारा–११ का गणेश ढुंगाना अहिले पहुँच भएसम्मका मत गणना स्थल पुगेर त्यहाँ विसर्जित फोहर संकलन गर्दैछन् । पूर्व माओवादी लडाकु ढुंगाना यसअघिदेखि नै फोहर संकलनको माध्यमबाट समाजसेवामा सक्रिय छन् । उनी संकलन गरिएका वस्तुहरु बिक्री गरेर त्यसबाट आएको नगद असहाय, दृष्टिविहीनका लागि आवास भवन बनाउन सहयोग गर्ने सोचमा छन् । यसअघि पनि फोहर संकलन गर्ने कार्यबाटै चर्चामा आएका ढुंगाना अहिले निर्वाचनजन्य फोहर जम्मा गरेर पर्यावरण स्वच्छ राख्ने तथा सहयोगापेक्षीहरुलाई सकेको सहयोग गर्न इच्छुक छन् । एउटा व्यक्तिले वातावरणीय सन्तुलन राख्न, प्रकृति माथिको अतिक्रमण रोक्न र पुनः प्रयोग गर्न सकिने वस्तुको उचित व्यवस्थापन गर्न गरेको प्रयास सह्राहनीय मात्र होइन अनुकरणीय पनि छ । उनको एकल अभियानमा समाजको समेत हातेमालो हुनसक्यो भने पृथ्वीको सौन्दर्य, प्राणी जगतको स्वास्थ्य र पर्यावरणीय स्वच्छता कायम राख्न सहयोग पुग्ने थियो ।




























