आत्मसमीक्षाको खाँचो

0
367

झापाको बाह्रदशी गाउँपालिकाको वडा नं. ४ मा स्वतन्त्रको प्यानलले जित हासिल ग¥यो । देशभरका थुप्रै स्थानीय तहमा स्वतन्त्रबाटै उम्मेदवारी दिएकाहरु निर्वाचित भएका छन् भने उपमहानगरपालिकाको प्रमुखमा समेत स्वतन्त्र उम्मेदवारले जित हासिल गरेका र अझै जितको यात्रामा रहेका छन् । यसले सचेत मतदाताहरु आफूलाई ठूला भन्ने दलहरुको चरित्रबाट दिक्क भएको देखाउँछ । देशको राजधानी काठमाडौं महानगरपालिकाको जारी मतगणनामा स्वतन्त्रबाटै उम्मेद्वारी दिएका बालेन्द्र शाहले निरन्तर लिएको अग्रताले समेत राजनीतिक दलहरुप्रति आम मतदाताहरुमा उत्पन्न वितृष्णाको संकेत गरेको छ । स्थानीय तहको खासगरी धनगढी र धरान उपमहानगरपालिकामा क्रमशः गोपाल हमला र हर्क साम्पाङ राईले प्राप्त गरेको मत र गरेको विजयले राजनीतिक दलहरुलाई चेत आउनैपर्छ । यसलाई जनदवाव ठानेर दलहरुले आत्मसमीक्षासहित सच्चिने बाटो खोज्नु पर्छ ।

उल्लेखित प्रसंगले राजनीतिक दलहरुको विचार, सिद्धान्त र नेतृत्वको व्यवहारलाई जनताले अस्वीकृत गरेको देखाउँछ । यद्यपि शासन सञ्चालन गर्ने भनेको राजनीतिक दलहरुले नै हो, तर अत्यन्त सचेत र भौतिक सुविधाले लगभग पूर्ण भएको क्षेत्रका मतदाताहरुको चतेनालाई बेवास्ता गरियो भने आउने दिन दलहरुकै लागि असहज बन्ने पक्का छ । त्यस्तै आफूलाई राजनीतिक दलको शीर्ष व्यक्ति ठान्नेहरु आफ्नै निर्वाचन क्षेत्रमा असफल र अस्वीकृत भएका घटना पनि थुप्रै छन् । यसले नेताहरुको कार्यशैली, सोचाइ, अहंकार र व्यक्तिवादी प्रवृत्तिप्रतिको विद्रोह कै संकेत गर्छ । स्थानीय तहको सम्पन्न निर्वाचन र प्राप्त परिणामले दलहरुमा चिन्ता र त्रास दुबै ल्याएको हुनुपर्छ । यो परिणामको प्रभाव आउने प्रदेश तथा संसदीय निर्वाचनमा पनि देखिने जोखिमका कारण जनताको भद्रअवज्ञालाई राजनीतिक दलहरुले चेतावनीका रुपमा लिनु पर्दछ ।

धरानको घोषित परिणाम र धनगढीमा देखिएको निरन्तरको परिणामको अग्रतालाई अब दलहरुले गम्भीररुपमा लिएका हुनसक्छन् नै । सत्ता प्राप्तिका लागि जोसुकैसँग जस्तोसुकै ‘गठजोर’ गर्ने दलहरुको सत्ता लिप्सालाई मतदाताले चिन्न थालेको अर्थ नबुझ्ने हो भने परिणाम अझै अनेपक्षित आउन सक्छ । उम्मेदवार चयन प्रक्रिया नै त्रुटिपूर्ण भएको, राम्राभन्दा हाम्रा अझ ‘मेरो’ लाई छान्ने कारणले जनताबाट अनुमोदन हुन नसकेको यथार्थबाट जिम्मेवार नेताहरुले पाठ सिक्नु पर्दछ । जनचेतना निरन्तर बढ्दो छ, चिप्ला कुराबाट जनता सचेत हुन थालेका छन्, जनतामा प्रतिरोधी शक्ति पनि निर्माण भइरहेको छ । तसर्थ, अनुभव र परिणामलाई आत्मसात गरी आफ्ना कर्मको आत्मसमीक्षा गर्न खासगरी ठूला दलहरुले ढिला नगरुन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here