जनप्रतिनिधिले समाज बुझ्नुपर्छ

0
396

संविधान जारी भएपश्चात नेपालमा दोस्रो पटक स्थानीय तहको निर्वाचन सम्पन्न भयो । सात सय ५३ स्थानीय तहको निर्वाचनको मत परिणामलाई हेर्दा नेकाले बहुमत प्राप्त गरेको देखिन्छ । साथमा नेकपा एमाले र माओवादी केन्द्रले समेत दोस्रो र तेस्रो स्थानमा पहुँच बनाएका छन् । मतको परिणाम हेर्दा नेपालमा नेका, एमाले, माओवादी केन्द्र र राप्रपा क्रमशः शक्तिमा देखिन्छन् ।

सांगठनिक रुपमै बलियो देखिएका पार्टीहरुलाई संगठनको सहायता वा परिचालनबाट मुलुकको दिगो विकास र शान्तिका लागि काम गर्न धेरै सजिलो हुन्छ । उनीहरुले आफ्नो शक्तिलाई ठीकसँगले परिचालन गर्ने हो भने जनता उनीहरुलाई सहयोग गर्न तत्पर छन् । कतिपय नेताहरु नो भोट जम्मा गरेर स्वतन्त्रले जिते वा जितको नजिक छन् भन्ने गैर जिम्मेवारी पूर्ण अभिव्यक्ति दिइरहेका पनि छन् । जनता कसैका दास होइनन्, नेताहरुले राम्ररी बुझ्नुपर्छ ।

नेता कस्तो हुनुपर्छ नेताले बुझेकै होलान् । अब उनीहरुले सोही अनुसार व्यवहार गर्न सक्नुपर्छ । सिद्धात व्यवहारमा जोडिएन भने सिद्धान्त खोस्टोभन्दा बेकम्मा हुन्छ । नेता भनेको पार्टीको उपल्लो कमिटीमा बस्दैमा भइहालिन्छ भन्ने कसैले नबुझोस् । नेता त्यही हो जसले जनताको भावनाको नेतृत्व लिन सक्छ । आज देशमा एक स्वतन्त्र व्यक्तिको विचारले किन नेतृत्वदायी भूमिका बनाउँदैछ । पार्टीका नेतागणलाई विचार गर्ने बुद्धि बेलैमा प्राप्त होस् । प्रमुखतः जनता सेवा, सुविधा, सुशासन, दिगो विकास र शान्ति चाहन्छ । जनताका पहिलो चरणमा गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य साथै मनोरञ्जनका सामान्य आवश्यकता पूरा भएमा खुशी नै रहने छन् ।

स्थानीय तहका जनप्रतिनिधिहरु समाज रुपान्तरणका संस्वाहक हुन् । उनीहरुले समाजको संरचना र चरित्रलाई राम्ररी बुझेको हुनुपर्दछ । पेशा, समुदाय, जात, धर्म, भाषा, शिक्षा, संस्कृति, भूगोल, रीति–रिवाज, भेषभुषा–खानपान, सोच–विचार आदि कयौं कुराको विविधताले जहाँको पनि समाज रंगी–विरंगी सुन्दरताले भरपुर हुन्छ । अर्थात् समाजमा हाम्रो मनको सोच अनुसारको सम्पूर्ण दृष्य हुँदैन । हरेक अभियानकर्मीका लागि समाज आंशिक सहमतको अवस्थामा रहेको हुन्छ । त्यहाँ पूर्णरुपले फेर्नुपर्ने कुराहरु कम होलान्, तर गर्नुपर्ने धेरै कामहरु हुन्छन् । मतलब त्यहाँका सम्पूर्ण विरोधी सोचहरुलाई सुझबुझको एकथलोमा ल्याउन खाँचो देख्नुपर्छ स्थानीय तहका जनप्रतिनिधिहरुले । स्थानीय तहका जनप्रतिनिधिहरु भनेको त्यो व्यक्ति होइन कि जो आफ्नो विचार लादेर समाज निर्माण गर्न चाहन्छ । जनप्रतिनिधिहरु त्यो हो जो समाजलाई देश, काल, परिस्थिति र समाज मिल्दो व्यवहार गर्नसक्ने, जनसाधारणको व्यवहार र दर्शनलाई उन्नत स्तरमा विकास गर्न सहयोगी भूमिका निर्वाह गर्नसक्ने समाजमा विद्यमान रहेका कुरिती र विसंगतिहरुलाई शान्तिपूर्ण ढंगबाट हल गर्न सक्ने, दिगो विकासक्रमलाई संस्थागत गर्न सक्ने एक कुशल व्यक्तित्वहरु हुन् जनप्रतिनिधिहरु ।

मलाई यस्तो लाग्छ कि जनप्रतिनिधिहरुले धेरै कुरामा होइन केवल तीन कुरामा ध्यान दिए उच्चतम् उपलब्धि प्राप्त गर्न सकिन्छ । यसका लागि के गर्नुछ ? किन गर्नुछ ? र कसरी गर्नुछ ? यी तीन कुराको पूर्ण ज्ञान जनप्रतिनिधिहरुमा हुन जरुरी छ । स्थानीय तहका जनप्रतिनिधिहरु समाज रुपान्तरणका अभियानकर्मी समेत भएको हुँदा उनीहरु समाजका विश्लेषक पनि हुन् भन्दा अत्युक्ति नहोला । जसले विद्यमान समाजको विश्लेषण गर्न जान्दैन, त्यो कुशल जनप्रतिनिधि हुन सक्दैन । त्यसैले कुशल जनप्रतिनिधिले समाजको पूर्णपक्षको विश्लेषण गर्न सक्नुुपर्छ । अनि विश्लेषणको आधारबाट विकास र समृद्धिको पथमा समाजलाई लैजान र उद्देश्य प्राप्त गर्न सक्नुपर्छ ।

अभियानकर्मीले समाजमा के गर्नुछ ? जान्न जरुरी किन छ भने समाजको समग्र विकासका लागि के–के गर्नुपर्छ । समाजमा के असमानताहरु छन् । कुन विकृत मानसिकताले समाजका सदस्यहरुले राम्रो कुरा पाइरहेका छैनन् । समाजमा के भइरहेको छ ? यसको सट्टामा के हुनुपथ्र्यो ? त्यसैले गलत भइरहेकोलाई सही हुनुपथ्र्याेमा रुपान्तरण गर्ने काम सामाजिक अभियानकर्मीहरुको भएको हुँदा के गर्नुछ, अभियानकर्मीहरुले बुझ्न जरुरी छ र यसको सही तरिकाको ज्ञान हुन आवश्यक छ ।

अर्को कुरा हामीले किन गर्नुछ ? यस बारेमा पनि ज्ञान हुन जरुरी छ । यसको लागि हामीलाई समाज विकासक्रमको बारेमा थाह हुन जरुरी छ भन्ने मेरो राय हो । मानव सभ्यताले जहिले पनि विकास र परिवर्तन चाहेको छ । स्वतन्त्रता र शान्ति चाहेको छ । सहयोगको आदान–प्रदान र चुस्तदुरुस्त अनि छिटो–छरितो ढाँचा चाहेको छ । आज हरेक मानिसहरु सभ्यता र सहजता चाहन्छ, भरपुर सेवा र सुविधाको उपभोग चाहन्छ । मानिसले उन्नत प्रणालीको चाहना राखेको छ ।

मानिसहरुको खान लाउन, बस्न, शिक्षा र स्वास्थ्यको पूर्ण ग्यारेन्टी त आज सामान्य कुरा बनेको छ । आज मानिस यी भन्दा धेरै ठूला महत्वकांक्षाहरुलाई अवलम्वन गरिरहेको छ । तर, हाम्रो समाजमा आज पनि मानिसहरुका सामू गाँस, बास, कपास, शिक्षा र स्वास्थ्य जस्ता समस्या चुनौतिका रुपमा खडा छन् । अधिकांश मानिसहरुले यस्ता सामान्य समस्याका लागि लडिरहनु परेको छ । यो कुनै पनि मुलुकको लागि दुःखको कुरा हो । यो युगको लज्जास्पद पक्ष हो । के यो कुरा सामाजिक अभियानकर्मीहरुको पूर्ण हेक्कामा रहेको छ ? छैन भने रहनु पर्दछ । रहोस् शुभकामना ।

त्यसैले स्थानीय तहका जनप्रतिनिधिहरुले हरेक काम गर्नु पूर्व निधार खुम्च्याएर सोच्नुपर्दछ कि मैले यो काम किन गर्नुछ ? र यो काम गरेवापत समाजले के पाउँछ ? मैले गर्न चाहेको कामले सुशासन र समृद्धिको ढोका खोज्छ कि भ्रष्टाचार र दरिद्रतातिर मुलुकलाई लैजान्छ ? के समाजमा यो काम गरेमा न्याय र समानताका लागि खाता खोलिने छ ? या समाज विभाजित भएर कलह र द्वन्द्वको बिजारोपण हुन्छ । जसको कारण मुलुकले ठूलो दुर्गती भोग्न म कारक व्यक्ति हुनेछु । समाज रुपान्तरणका नायिकेहरुले गम्भीर भएर सोच्न जरुरी छ । विष एकै थोपा काफी हुन्छ । यो कुरा जनप्रतिनिधिहरुको मनमा हेक्का रहोस् ।

रह्यो कुरा कसरी गर्नुछ ? यो विषयमा स्थानीय तहका जनप्रतिनिधिहरु सबै जना सबै कुरामा विज्ञ हुँदैनन् यो स्वभाविक नै छ । त्यसैले जनप्रतिनिधिहरुले विज्ञको राय लिन आवश्यक छ । हाम्रो मुलुकमा यो अभ्यास कमै देखिन्छ । राय–सल्लाह लिँदा सानो हुइन्छ भन्ने दरिद्र मानसिकताले अझै पनि हामीलाई पूर्णरुपले छोड्न सकेको छैन । जति हामी विज्ञहरुको सल्लाह लिन्छौं, त्यति नै हाम्रो ज्ञान बढ्छ । हामी प्रयोगात्मक ज्ञानले खारिँदै जान्छौं । यस्तो स्वभावले हामीलाई आफ्नै ज्ञान, सिप र क्षमतावान बनाउँछ र हरेक पक्षमा हामीलाई बलियो र खारिएको मानिसमा परिणत गरिदिन्छ । यसबाट हामीलाई त फाइदा गर्छ नै समाज सुधार, राष्ट्रनिमार्ण, विकास अनि समृद्धिमा समेत सल्लाह लिने स्वभावले टेवा पु¥याउँछ, र सहभागिता जुटाउँछ ।

अतः स्थानीय तहका जनप्रतिनिधिहरुले के गर्नुछ ? किन गर्नुछ ? र कसरी गर्नुछ ? को सिद्धान्त अवलम्वन गरेर यस सिद्धान्तको हरेक पाइलामा विश्लेषण गर्दै अगाडि बढेमा समाज सुधारमा परेका गाँठा तथा उल्झनहरु खुस्कँदै जानेछ भन्ने राय यस लेखमा राख्न चाहन्छु । माथिका तीन सूत्रहरु जीवन विश्लेषणका जीवन्त सिद्धान्त हुन् । जुन सिद्धान्तले मानिसले कुनै काम गर्नु पूर्व एकपटक एक मिनेट शान्त मनले सोचेमा मात्र पनि जुनसुकै कार्यमा सफलता मिल्ने कुरामा हामी ढुक्क हुन सक्छौं । समयको सन्दर्भले आज हाम्रो मुलुक स्थानीय चुनावबाट स्थानीय सरकारको गठन गर्दैछ । स्थानीय सरकारका प्रतिनिधिहरुले मुलुकको समृद्धिका लागि अनि समाज र राष्ट्रनिर्माणका लागि हृदयदेखि नै प्रण गरेर के गर्नुछ ? किन गर्नुछ ? कसरी गर्नुछ ? विश्लेषण गरी कार्य सफल गर्ने शक्ति मिलोस् । सबैमा शुभकामना !

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here