आत्मआलोचना गर्ने कि !

0
356

स्थानीय तहको निर्वाचनको चासो र जिज्ञासा अब समाप्त भएको छ । बाँकी रहेका केही पालिका बाहेक अधिकांश स्थानीय तहले नेतृत्व पाइसकेका छन् । मत परिणाम सार्वजनिक भएसँगै पदको शपथ लिएका वडादेखि प्रमुखसम्मका सबै जनप्रतिनिधिहरुले पदवहाली गर्दै आफ्नो प्राथमिकता समेत प्रस्तुत गरिसकेका छन् । अबको उनीहरुको यात्रा निर्वाचन पूर्व जनाइएका प्रतिबद्धता र गरिएका घोषणाहरुको कार्यान्वयनमा कति केन्द्रीत हुन्छ भोलिका दिनमा मूल्याङ्कन हुने नै छ । यतिबेला राजनीतिक दलहरु आत्मसमीक्षामा जुटेका होलान् ! अघिल्लो निर्वाचनको परिणामसँग अहिलेको परिणामको तुलना गरेर भावी रणनीति तयार गर्न लागेका पनि हुन सक्छन् । सतही रुपमा स्थानीय तहको दोस्रो निर्वाचनको परिणामले सत्तारुढ गठबन्धनको दलमध्येको ठूलो नेपाली कांग्रेसलाई पहिलो दल बनाएको छ । अघिल्लो निर्वाचनमा पहिलो भएको दल नेकपा एमाले दोस्रोमा समेटिएको छ ।

झापाका पन्ध्रवटा स्थानीय तहको निर्वाचन परिणामले ठूलो दल एमाले नै भएको छ । यद्यपि विगतको तुलनामा उसको शक्ति घटेको छ । तथापि पालिका प्रमुखमा उसको उपस्थिति पहिले जत्तिकै अर्थात् सात वटा नै कायम छ । वडा प्रमुखको तथ्यांकले एमाले अहिले पनि पहिलो नै भएको छ, तर सिट संख्या भने घटेको छ । समग्रमा नेपाली कांग्रेसले अघिल्लो निर्वाचको तुलनामा आफ्नो उपस्थिति बढाएको छ । यसरी देशभर भएको निर्वाचन परिणाम अनुसार नेपाली कांग्रेस सबैभन्दा ठूलो दल बन्न पुगेको हो । हिजो कुनै दलको झन्डा ओडेर निर्वाचनमा गएकामध्ये विजेताहरुले अब झन्डा बिसाएर जिम्मेवार भूमिका निर्वाह गर्नुपर्नेछ । त्यस्तै महानगरपालिका, उपमहानगरपालिका र पालिकाहरुमा त्यहाँका मतदाताहरुले आफूहरुलाई अस्वीकृत गर्दै स्वतन्त्र उम्मेदवारलाई नेतृत्व हस्तान्तरण गरेको सत्यलाई आत्मसात गर्दै आत्मसमीक्षा गर्नुपर्छ ।

सचेत मतदाताहरु कुनै दलका पछि झन्डा बोकेर दौडन तयार छैनन् भन्ने बुझ्न ढिला भयो भने त्यो उनीहरुकै लागि दुःखको कारण बन्न सक्छ । आफूले पराजय व्यहोरेपछि धाँधली, अन्तरघात भयो भन्ने राजनीतिक शब्दावली प्रयोग गर्नुको साटो आफ्नै प्रतिनिधिहरु र आफूहरुले विगतमा गरेको कामको समीक्षा गर्नु बुद्धिमानी हो । देशभर बालेन्द्र, गोपाल, हर्कहरु अब आउने प्रदेश र संघको निर्वाचनमा मतदाताहरुबाट नजन्माइयुन भन्नेतर्फ गम्भीर हुनुपर्छ । यदि त्यसो भएन वा गरिएन भने आ–आफ्नै डम्फूमा रमाएर आत्मरति लिन मै मस्त भइने हो भने संसदीय प्रणाली अवरुद्ध हुँदा पनि आश्चर्य मान्नुपर्ने छैन । यसतर्फ ठूला भनिने राजनीतिक दलहरु नै गम्भीर होउन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here