विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान

0
369

झापा।

एनसेल आजियाटा लिमिटेडले आफ्नो व्यावसायिक सामाजिक उत्तरदायित्व कार्यक्रम अन्तर्गत इञ्जिनियरिङ्ग अध्ययन संस्थान, पुल्चोक क्याम्पसको पाँच संकायमा अध्ययन गरिरहेका उत्कृष्ट विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान २०७८ गरेको छ ।

छात्रवृत्ति तथा उत्कृष्टता सम्मान एनसेलको मुख्य कार्यलय एनसेल आइकन, लैनचौरमा आयोजित कार्यक्रमकाबीच सम्मान गरिएको हो । २०७१ सालबाट शुरु गरिएको यस एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रमले प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्ने उद्देश्य राखेको छ । यस कार्यक्रम अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एण्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इञ्जिनियरिङ्ग संकायमा अध्ययन गर्ने उत्कृष्ट विद्यार्थीहरुलाई छात्रवृत्ति तथा उत्कृष्टता सम्मान प्रदान गरिने गरिएको छ ।

यस वर्ष अर्थात् २०७८ का लागि १८ वटा शीर्षक अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एण्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इञ्जिनियरिङ्ग संकायका १८ जना विद्यार्थीलाई एनसेल छात्रवृत्ति प्रदान गरिएको हो । साथै उत्कृष्ट नतिजा ल्याई यी पाँच संकायबाट स्नातक उत्तीर्ण गरेका छ जना विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरिएको छ ।

इञ्जिनियरिङ्ग अध्ययन संस्थानका डीन प्रा.डा.शशीधर राम जोशी र एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले संयुक्तरुपमा विद्यार्थीहरुलाई एनसेल उत्कृष्टता सम्मान प्रदान गरेका थिए । त्यसैगरी, एनसेलका प्रमुख मानव संसाधन तथा प्रशासकीय अधिकृत युवराज श्रीवास्तव, प्रमुख सूचना अधिकृत विशाल मणि उपाध्याय, प्रमुख कानून, संस्थागत सरकारी तथा नियामक मामिला अधिकृत रमेश घिमिरे र प्रमुख वित्तीय अधिकारी अनुपम भाटले विद्यार्थीहरुलाई एनसेल छात्रवृत्ति प्रदान गरेका थिए ।

कोभिड–१९ महामारीका कारणले गर्दा गत वर्ष छात्रवृत्ति तथा उत्कृष्टता सम्मानको कार्यक्रम आयोजना गर्न नसकिएकाले यसै कार्यक्रममा २०७७ सालका १८ जनालाई प्रदान गरिएको छात्रवृत्ति र छ जना विद्यार्थीलाई प्रदान गरिएको उत्कृष्टता सम्मानको प्रमाणपत्र पनि प्रदान गरिएको छ ।

त्यसैगरी कार्यक्रममा एनसेलका प्रमुख कार्यकारी अधिकृत एण्डी चोङले एनसेल छात्रवृत्ति तथा उत्कृष्टता सम्मान कार्यक्रम हाम्रा सामाजिक पहलहरु मध्ये निकै प्रशंसा गरिएको एक कार्यक्रम भएको बताए । प्राविधिक शिक्षालाई प्रोत्साहन गर्दै युवा प्रतिभाहरुको पहिचान र उनीहरुको शैक्षिक उत्कृष्टताको कदर गर्नु यस कार्यक्रमको उद्देश्य रहेको उनको भनाइ छ ।

एनसेल छात्रवृत्ति इञ्जिनियरिङ्ग पाँच संकायमा स्नातक तहको प्रथम, द्वितीय र तृतीय वर्षको वार्षिक परीक्षामा प्राप्त गरेको उत्कृष्ट नतिजाको आधारमा क्रमशः द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत् विद्यार्थीले प्राप्त गर्दछन् भने पाँच वटै संकायका छात्रा मध्येबाट उत्कृष्ट नतिजा ल्याएका द्वितीय, तृतीय र चौथो वर्षमा अध्ययनरत् एक÷एक जना गरी तीन छात्राले यो छात्रवृत्ति पाउने बताइएको छ ।

त्यसैगरी उत्कृष्टता सम्मान अन्तर्गत सिभिल, इलेक्ट्रिकल, इलेक्ट्रोनिक्स् एण्ड कम्युनिकेशन, कम्प्युटर र मेकानिकल इञ्जिनियरिङ्ग संकायमा सर्वोत्कृष्ट नतिजासहित स्नातक तहको पढाइ पूरा गरेको प्रत्येक संकायका एक–एक जना र यी पाँचै संकायका छात्राहरु मध्येबाट सर्वोत्कृष्ट ठहरिएकी एक छात्राले उत्कृष्टता सम्मान प्राप्त गर्ने बताइएको छ । हरेक छात्रवृत्ति तथा उत्कृष्टता सम्मान पुरस्कारको राशि एक लाख रुपैयाँ रहेको एनसेलले जनाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here