
त्यतिबेला म ५÷६ वर्षको हुँदो हुँ । भर्खर स्कूल जान थालेको थिएँ । त्यसबेला १ कक्षाभन्दा तलको कक्षालाई शिशु भनिन्थ्यो । पहाडको बिकट गाउँ–ठाउँ । त्यतिबेला अहिले जस्तो यातायातको सुबिधा थिएन । स्कूलहरू पनि नजिक थिएनन् । भए पनि प्रावि तहका । उसबेला ३ कक्षासम्मलाई प्रावि तह मानिन्थ्यो । श्री त्रिवेणी प्रावि चुवाडे स्कूल घरबाट नजिकै प¥थ्यो । घरबाट आधा घण्टा उकालो हिँडेपछि स्कूल पुगिन्थ्यो । ६ र ७ नम्बर वडाको बीचमा स्थापना गरिएको थियो । मावि तह श्री इन्द्रेणी मावि मौवा डाँडामा थियो । घरबाट उकालैउकालो लाठेलाई पनि डेढ, दुई घण्टा लाग्थ्यो । केटाकेटी त तीन घण्टामा पनि नपुगिने । पहाडको ठाउँ त्यसबेलासम्म पनि बुवा–आमाले आफ्ना छोराछोरीहरूलाई कमै स्कूल पठाउँथे ।
त्यसबेला म त्यस्तै शिशु कक्षामा पढ्थेँ, श्री त्रिवेणी प्रावि चुवाडे स्कूलमा । पहाडको दूरदराज धेरै पछिदेखि मात्र स्कूल पढ्न पठाउने चलन थियो । ढिलो पढ्न थालेकोले मेरो उमेरका हिसावले पढाइ निकै पछाडि थियो । अर्को कुरा मेरो पढाइ पनि अलिक कमजोर नै थियो । म स्कूल पढ्नभन्दा पनि साथीभाइसँग खेल्न, गोठालो जानमा रमाउँथेँ । प्रायः सबै साथीभाइहरू पढाइमा भन्दा पनि त्यतैतिर अल्मलिन्थे । उनीहरूका बुवा–आमाले स्कूल पढाउनभन्दा पनि गोठालो पठाउन पट्टि लाग्थे । मलाई भने बुवा–आमाले स्कूल पठाउन मै जोड गर्नु हुन्थ्यो । म आफैं साथीहरूसँग लागेर स्कूल जानभन्दा पनि खेल्न पाइने भएकाले गोठालो जान मन गर्थेँ । स्कूल जाँदाभन्दा गोठालो जाँदा रमाइलो हुन्थ्यो ।
बुवाआमाका बुढेस्कालका रहरका छोरा हामी । पहिलेका दुई दाजुहरू जन्मना साथ सानैमा बितेपछि छ जना दिदी–बहिनीहरूका दुई दाजुभाइ त्यति बेलाको चलन नै त्यस्तै थियो । छोरीलाई भन्दा छोरालाई बढी मान्यता दिने । छोरा नजन्माउने बुहारीले घरपरिवारबाट पनि निकै सास्ति भोग्नुपर्ने । पहिलेका दुई छोरा सानैमा गुमाएपछि आमाले पनि घर परिवारबाट निकै सास्ती भोग्नु परेको कुरा बेला–बेला म ठूलो भएपछि पनि उहाँ भक्कानिएर मलाई सुनाउनु हुन्थ्यो । त्यति बेलासम्म पनि हाम्रो समाज, गाउँ, घर पुरानै रुढीवादी संस्कार भएर होला बुबाआमा पनि छोरीलाई भन्दा हामी छोरालाई पढाउन बढी जोड गर्नुहुन्थ्यो । दिदीहरू पनि त्यही परिवेशमा जन्मे, हुर्के, बढेर होला हामी पनि पढ्छौं भनेर विद्रोह गर्न सकेनन् । बहिनीहरूले भने पढे ।
बुवाआमा खेतबारीमा काम गर्न जानुभएको थियो । बुवा–आमाको धेरै खेतीपाती थियो । काइँली बहिनी र म घरमा थियौं । स्कूल विदाको दिन हुनुपर्छ सायद दिदीहरू गोठालो जानुभएको थियो वा अन्त कतै मेलापातमा । दिनभरि हामी दुई जना बहिनी र म मात्र थियौं घरमा । बुवा–आमाहरू बेलुका मात्र घर आउनुहुन्थ्यो । हामी बहिनी र म खुब खेल्थ्यौं । कहिले मकैका खोयाको घर बनाइ खेल्थ्यौं । कहिले बेहुली लुकाई, लुकामारी के–के दिनभरि खेलेर दिन काट्थ्यौं । एकदिन त्यसरी नै लुकामारी खेल्ने क्रममा म बाख्राको खोरभित्र पसेर लुकेको थिएँ । आँगनको डिलमा बाख्राभेडा हुल्ने एउटा ठूलो खोर थियो । छुट्टै ढुङ्गामाटोको गाह्रो लगाएर झ्यालढोका राखेर बनाएको । ५०–६० वटा भेडाबाख्रा थिए हाम्रा । त्यतिबेला दिउँसो भेडाबाख्रा खोलेर दिदीहरूले चराउन लानु भएको थियो । ८–१० वटा गाई–गोरूहरू पनि थिए । सबै सँगै चराउन लाने चलन थियो । दिउँसो खोर खाली हुन्थ्यो । लुकामारी खेल्ने क्रममा म खोरको पल्लो छेउको एउटा कुनामा लुकेर बसेको थिएँ । छलिएर, सानो भएर, भित्तामा टाँसिएर । बहिनीले खोजिरहेकी थिई । यताउता तर उसले मलाई देखिनँ । धेरैबेर यताउता खोज्दा पनि नभेटेपछि अतालिन्छे होला बहिनी, देखे पनि देखोस् भनेर अलि ओर्तिर सरेर म यताउता नियाल्न थालेँ । कसोकसो गर्दा भित्तामा एउटा प्वाल देखेँ । बाहिरबाट एउटा सानो ढुङ्गाले छोपेर टालेको थियो त्यसलाई । मैले बिस्तारै उठेर डराइ–डराइ त्यो टालेको ढुङ्गालाई उक्काएँ । यसो हेरेको त्यहाँ त्यो खोपीभरिको एउटा पुरानो कालो ध्वाँसो लागेको टिनको बट्टा बिर्को लगाएर राखिएको रहेछ । त्यो बिस्तारै झिक्न खोजेको हत्तपत्त आएन । त्यति बेलासम्ममा मलाई बहिनीले भेट्टाई सकेकी थिई । त्यसपछि हाम्रो लुकामारी खेल्ने क्रम रोकियो र त्यो केको बट्टा रहेछ, के छ त्यसभित्र भनेर उत्सुकताका साथ हामी दुबै त्यो झिकेर हेर्न पट्टि लाग्यौं । कालो ध्वाँसो लागेको भए पनि त्यो चारै पाटा मिलेको राम्रो बट्टा थियो । हामीलाई माटो राखी खेल्न लायकको थियो ।
निकै बेरपछि कसोकसो गरेर त्यो बट्टा त्यहाँबाट झिक्यौं । जुक्ति लगाएर दुबै जनाले तान्दा आयो । त्यसपछि त्यसको बिर्को खोल्नपट्टि लाग्यौँ । कानको छेउमा लगेर हल्लाउँदा केही भए जस्तो त लागेन र त्यति गरौं पनि थिएन । त्यति जतनसाथ लुकाएर राखेकोमा भने केही त पक्कै हुनुपर्छ भन्ने कौतुहल दुवैको मनमा जागेर आयो । गाड्धन पो हो कि भन्ने पनि भयो । हामीले कहीँकतै पहिलेका बुढाबुढीको मुखराविन्दबाट सुनेका थियौं । उहिलेका पुर्खाहरूले आफूसँग भएको रूपयाँ, पैसा, सुनाचाँदी माटोमुनि गाडेर वा कतै यसरी नै कसैले नदेख्ने गरी लुकाएर वा चेपाएर राखेको हुन्छ रे । पछि आफ्नै सन्तान, दरसन्तानले भेटुन् र उपयोग गरुन् भनेर । यो पक्कै पनि त्यस्तै केही हुनुपर्छ । दुवैको मन फुरुङ्ग भयो । यदि त्यस्तो केही रहेछ भने त अब हामी पनि धनी धेरै धनी बन्ने भयौं । केटाकेटी मन यस्तै के–के ठान्यौँ । त्यसैउसै खुशीले मन गद्गद् भयो । हामी बबुरालाई सुनाचाँदी, रूपैयाँ, पैसा धेरै भएपछि मानिस धनी भइन्छ भन्ने कुराको चल सम्पत्तीप्रति अलि–अलि ज्ञान पसिसकेको रहेछ । त्यसपछि त्यो बट्टा लिएर बाहिर आयौं ।
आँगनमा झिकेर ल्यायौं र खोल्ने प्रयास गर्न थाल्यौं । कसै गर्दा हातले खोल्न सकेनौं । एउटा जुक्ति लाएर विर्कोको मुखपट्टि ढुङ्गा टिपेर हान्न थाल्यौं । बल्लबल्ल बिर्को खुल्यो । हेर्दा त्यसभित्र त भरि पैसा पो रहेछ ! सयको हरियो नोट र पचासको निलो नोट चाहिँ म परैबाट चिन्थेँ । पहिले त दुबै आश्चर्यचकित पनि भयौं । बट्टाभरि पैसा भेट्टाएकोमा दुवै खुशीले उफ्रियौं पनि । त्यसपछि खेल्न थाल्यौँ । बेहुला, बेहुली बनाएर झुम्राका । तिनलाई टीका लगाईदिँदै पैसा दिँदै ग¥यौं । कति नोट हावाले उडाएर लग्यो मकै बारीतिर थाहा भएन । हामी एक सुरले खेलिरहेका थियौं । आँगनभरि पैसैपैसा भएछ । हामी रमाएर घुमीरहेका थियौं आँगन वरिपरि । खुशीले रमाउँदै उफ्रिइरहेका थियौं । हामीलाई थाह थियो त्यो पैसाले खाने कुरा किनेर खान पाइन्छ भन्ने कुरा तर त्यहाँ नजिकै कुनै पसल थिएन । पसल पुग्न हाम्रा लागि आकाशको कुरा जस्तै असम्भव थियो । अहिले जस्तो जहाँतहीँ पसल कहाँ हुँन्थे र त्यसबेला । पाँच रूपैयाँ खर्च गर्न पनि बिहानभरि हिँडेर जानु पथ्र्यो ।
यत्तिकैमा बेलुकीपख गाउँकै एकजना भाञ्जा दाइ पर्ने आइपुगे । हाम्रा अगाडि आएर के गरेको ? किन यसरी पैसा छरेको ? भनेर गाली गरे । आँगनमा छरपष्ट भएका नोटहरू भेला गरेर त्यही टिनको बट्टामा खाँदखुँद पारेर हामीले नभेट्ने ठाउँमा बट्टा राखेर सोधे बुवाआमा खोई कहाँ जानुभयो ? भनेर । हामीले मेलामा गएको कुरा बतायौं । अब यो बट्टा नचलाउनु है । मैले यहाँ राखिदिएको छु भन्दै उनी निस्केर गए । हामी भने डरले काम्न थाल्यौं । अब उनले बुबाआमालाई भनि दिए भने बुबाआमाले हामीलाई पिट्नु हुन्छ भन्ने डर त्यसबेला मात्र पलायो ।
त्यसपछि साँझमा बुबाआमा आउनु भयो । दिउँसोको कुरा भाञ्जा दाइले अगि बुवा–आमालाई भनि सकेका रहेछन् । बुबाले आएर हामीलाई सोध्नु भयो । खोई त्यो बट्टा कहाँ राखेको छ ? भनेर । हामीले हातले देखाई दियौं । बुवाले बट्टा झिकेर हेर्नु भयो । कति पैसा थियो । कति पुगेन । हामीलाई थाह भएन । रिसले रातोपिरो हुनु भयो । हामीलाई सोध्नुभयो । कसले झिक्यो यो बट्टा ? भनेर । मैले बहिनीतिर देखाएँ । उसले मतिर देखाई । दुबै डरले काम्न थाल्यौं । बुबाले एउटा लठ्ठी ल्याएर पिट्न थाल्नु भयो । दुबै जनाका हातमा । तिमीहरूका बट्टा झिक्ने हात यिनै होइनन् भन्दै कति रोइकराइ गर्दा पनि पिट्न छोड्नु भएन । आमा आएर लु भयो अब भनेपछि मात्र छोड्नु भयो र बचियो । हामी सुन्निएका हात लिएर सिकुवाको एउटा कुनामा बसिरहेका थियौं । दिदीहरूले पनि खायौ तिमीहरूलाई कसले पैसा झिक्न लायो ? भेट्यौ भाउ भन्दै खुच्चिङ मच्चाए ।
त्यसपछि आमाले सम्झाउनु भयो । त्यसरी पैसा झिकेर खेलाउनु हुन्छ ! बुबाले राखेको पैसा अब कति हरायो । कहाँ–कहाँ गयौ पैसा झिकेर खेल्न ? कता–कता गएर खेल्यौ ? भनेर हामीलाई सँगै लिएर हिँड्नु भयो पैसा खोज्न । बुवा पनि घर वरिपरि मकै बारीको छेउछाउ खोजिरहनु भएको रहेछ । केही पैसा तल जुत्तेखोर मुनि झरेका रहेछन् । बुवाले टिपेर ल्याउनुभयो । हामीले पैसा लिएर डुले जति ठाउँ सबैतिर देखायौं । सबै पैसा भेटिएन । कति हराए हामीलाई थाह भएन । बुबाले फेरि पिट्न खोज्दै हुनुहुन्थ्यो । डरले हामी चिच्याएर आमासँग गएर टाँसियौँ । आमाले अबदेखि कहिल्यै त्यसरी पैसा झिकेर नखेल्नु बुबाले राख्नुभएको हो त्यो पैसा भन्नुभयो । हामीले हुन्छ भनेर अबदेखि कहिल्यै त्यसो नगर्ने बाचा ग¥यौं ।
पछि बुझ्दा बुवाले आफू घरमा नभएको बेला घरमा हराउने डर हुन्छ । बाख्राको खोरमा त कोही पनि पस्दैन । फेरि कसैलाई विश्वास पनि हुँदैन । त्यसरी बाख्राको खोरमा पैसा राख्छन् भन्ने कुरामा भनेर सुरक्षित ठाउँ खोजेर राख्नुभएको रहेछ । अहिलेको जस्तो त्यतिबेला पैसा सुरक्षित साथ राख्ने ठाउँ पनि थिएन । हामीले खेल्दै जाँदा त्यसरी भेट्टाई हाल्यौं । त्यसपछि त बुवाले पनि त्यसरी त्यस्तो ठाउँमा पैसा कहिल्यै राख्नुभएन । हामी पनि सानो छउँञ्जेल कहिल्यै पनि त्यसरी फेरि त्यो बाख्राको खोरभित्र पसेनौं । ठूलो भएपछि त झन् पस्ने कुरै भएन । त्यसपछि हामी बढेपछि त हामीसँग पैसा पनि त्यति हुन छाड्यो घरमा । अलि–अलि भए पनि खर्च भइहाल्थ्यो । पछि त अब सबै ठूला पनि भइयो । सबै पढ्ने कतै न कतैबाट खर्च भइहाल्थ्यो । हुँदाहुँदा पछि त हामीलाई खर्च पनि पुग्न छाड्यो । त्यति बेला त पैसा खर्च हुँने ठाउँ नै हुँदैन थियो । एउटा खसी बेच्यो त्यसबाट आएको पैसा त्यहीँ राख्यो । गाई, भैंसी बेच्यो आएको पैसा त्यहीँ राख्यो । अन्न बेच्यो त्यहाँबाट आएको पैसा पनि त्यहीँ राख्यो गर्नुहुँन्थ्यो । बुबाआमा लोभी हुनुहुन्थ्यो । लोभ गरेन भने पैसा कमिँदैन भन्नुहुन्थ्यो । अहिले सम्झिँदा साँच्चै हो रहेछ जस्तो पनि लाग्छ । बुवा–आमाले खाइनखाइ थुक र तेल गरेर जम्मा गरेको पैसा रहेछ । बुवाआमा पछिसम्म पनि कुरा गरिरहनुहुन्थ्यो । त्यो पैसा बुवाआमाले दशैंलाई खर्च भनेर जो गरेर राख्नुभएको रहेछ ।

























