पृथ्वीको स्वच्छताको रक्षा गरौं

0
481

पृथ्वी सम्पूर्ण जीवको साझा घर हो । भएका जीवहरु मध्ये मानिस चेतनाका कारण सबैभन्दा उत्कृष्ट प्राणी हो । मानिस यो उच्चतासँगै प्रकृति प्रदत्त सुन्दर पृथ्वीको विनाशका रुपमा समेत परिचित छ । विश्व ब्रह्माण्डको एउटा अंश हो पृथ्वी, जसलाई मानिसले नै विदु्रप बनाएको छ । भौतिक सुखको लालसाले उपहारका रुपमा प्राप्त हावा, पानी, माटो लगायतका जीवन आधारको दोहन तथा अतिक्रमणले प्रदूषित बन्दै गएको वातावरणको असर मानिसले नै व्यहोर्नु पर्नेतर्फ अपेक्षित सचेतना आएको छैन । जसको प्रतिफल विश्वको वातावरण क्रमशः जीवनविरुद्ध बन्दै गएको छ । यही सत्यलाई आत्मसात गरी संयुक्त राष्ट्रसंघको सन् १९७२ को जुन १६ का दिन आयोजित विश्व सम्मेलनले मार्च ५ लाई विश्व वातावरण दिवसका रुपमा मनाउने निर्णय ग¥यो । विश्वको वातावरण संरक्षणका लागि राजनीतिक र सामाजिक सचेतना जाग्रत गराउनु पर्ने ठहर गर्दै यो दिवस मनाउन आह्वान गरियो ।
सन् १९७३ देखि मनाउन शुरु गरिएको विश्व वातावरण दिवसको मूल लक्ष्य भनेको भावी सन्ततिलाई प्रकृतिलाई प्रेम गर्नुपर्छ भन्ने सिकाउनु नै हो । प्रकृति सुरक्षित रहे मात्र सम्पूर्ण प्राणी जगतसँगै मानव सभ्यताको सुरक्षा हुन्छ र मानव जातिको अस्तित्व पनि रहन्छ । यसका लागि प्रत्येक मानिसमा रुखबिरुवा, खोलानाला, वनजंगल, माटो–हावा लगायतका प्रकृतिले निःशुल्क प्रदान गरेका उपहारको यथोचित उपयोग गर्न जान्नु पर्दछ । त्यसैगरी यही पृथ्वीमा रहेका प्रत्येक जीवहरुको एकअर्कासँगको अन्तरनिर्भरता र अन्तरसम्बन्धलाई कायम राख्दै पारिस्थितिक प्रणालीको पनि रक्षा गर्नुपर्छ । किनकि प्राणी, वनस्पतिसँगै मानव जातिका बीचको सहअस्तित्व र अन्तरसम्बन्धले मात्रै वातावरणको संरक्षण हुन्छ र मानव जातिको समेत जय हुन्छ ।
आज विकासका नाममा मानिसले गरेका कर्मका कारण कतिपय जीवहरु लोप हुने अवस्थामा पुगेका छन् । स्वच्छता नष्ट हुँदै पर्यावरणीय असन्तुलन व्यापक हुँदै गएको छ । विकासका लागि गरिएका मानवीय गतिविधिले धुलो, धुँवा, ध्वनि, माटो, पानी र वायुमण्डल दूषित बन्दै गएको छ । जसको परिणाममा अनेक रोगहरु महामारीका रुपमा हुर्किरहेका छन् । कृत्रिमताका पछि दौडिने होडमा प्राकृतिक स्वरुपमा संकट उत्पन्न भएको छ । हरिया डाँडा र हरिया वनजंगल मासिएर कंक्रिटका जंगलमा रुपान्तरण भएका छन् । यसले अनेक दुर्लभ चराचुरुङ्गीहरु लोप हुन थालेका छन्, उनीहरुको वासस्थान खोसिएको छ । यसले हाम्रो जीवन कष्टकर बन्दै गएको छ । यस्तो अवस्थामा विश्वको वातावरण जोगाउन हामीमा चेतको खाँचो छ । त्यसैले प्रकृति र जीवनका बीचको सम्बन्धलाई अनुभूत गरौं र विश्वको वातावरणको सुरक्षामा सबै लागौं ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here