झापा, लोक सेवा आयोगले परीक्षा सञ्चालन गर्दा आयोगकै कर्मचारी खटाउने व्यवस्था छ । यदि आयोगका कर्मचारी नपुग भएको खण्डमा दरखास्त संकलन गर्ने कार्यलयका कर्मचारीलाई प्राथमिकता दिइने लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिका, २०६७ मा उल्लेख छ । र, त्यसरी पनि नपुग भएमा अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था वा परीक्षा केन्द्र रहेको संस्थाको जनशक्ति समेत खटाउन सकिने व्यवस्था छ । 
तर, लोकसेवा कार्यालय इलामले प्रशासनतर्फको नायव सुब्बा परीक्षा सञ्चालन गर्दा कर्मचारीका आफन्तलाई प्रयोग गरेर परीक्षा लिने गरेको तथ्य बाहिरिएको छ । आयोगका कर्मचारी होमनाथ निरौला (नायव सुब्बा) की श्रीमती, कार्यलय सहयोगीकी सालीसम्मलाई आयोगको परीक्षा लिन प्रयोग गरेको पाइएको हो ।
लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिकाको ठाडो उल्लङ्घन गर्दै लोक सेवा आयोग इलामले आइतवार महेन्द्ररत्न बहुमुखी क्याम्पसमा सञ्चालित परीक्षामा असम्वन्धित व्यक्ति राखेर परीक्षा सञ्चालन गरेको हो । कर्मचारीका आफन्त राखेर परीक्षा सञ्चालनगरेपछि अहिले इलाममा आयोगले सञ्चालन गरेको परीक्षाप्रति नै प्रश्न खडा भएको भन्दै चर्काे बिरोध
भइरहेको छ । आयोगले सोमबार न्याय, लेखा र राजश्वतर्फको परीक्षा लिने तयारी गरिरहेको छ । लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिकालाई उल्लङ्घन गर्दै परीक्षा सञ्चालन गरेको भन्दै परीक्षामा सहभागीहरुले समेत प्रश्न उठाएका छन् ।
यता यस विषयमा कार्यालयका नायव सुब्बा निरौलाले जनशक्ति अभावका कारण आफूले श्रीमतीलाई परीक्षामा कर्मचारीको रुपमा पठाएको स्वीकारेका छन् । उनले आफ्नी श्रीमती मात्रै नभई कार्यालय सहयोगीकी साली र अन्य व्यक्ति समेतलाई परीक्षामा खटाएको बताए । उनले भने– योभन्दा अघि सञ्चालित परीक्षामा पनि यस्तै गर्ने गरिपाटी थियो, अहिले पनि हामीले कर्मचारी अपुग भएपछि त्यसै गरेका हौं, यसलाई ठूलो विषय नबनाऔं ।
कार्यालयका खरदार किरण दाहालले यो विषय समाचार बन्ने बिषय नै नभएको बताउँदै आफूहरुले विधिसम्मत परीक्षा सञ्चालन गरेको दावी गरेका छन् । उनले सुनेको भरमा समाचार नबनाउन र स्थलगत रिपोर्टिङ गर्न भनेका छन् ।
लोक सेवा आयोग (कार्य सञ्चालन) निर्देशिकामा भएको कुरालाई समेत चुनौति दिँदै दाहालले पूर्वाञ्चलकर्मीलाई समाचार प्रकाशन भएको खण्डमा पत्रिकाको गरिमा घट्ने भन्नसम्म भ्याए । आयोगले लिने परीक्षा सञ्चालन गर्दा परीक्षा सञ्चालन गर्ने कार्यालयले परीक्षामा खटिनेकर्मचारीलाई अनुसूची–१५को ढाँचामा परिचय–पत्र दिने व्यवस्था मिलाउनु पर्नेछ । परिचय–पत्रमा कर्मचारीले पालना गर्नुपर्ने शर्तहरू उल्लेख हुनुपर्नेछ । त्यस्तै परीक्षा सञ्चालनका लागि कर्मचारी खटाउंँदा आयोगका कर्मचारीहरूबाट नपुग हुने भएमा दरखास्त संकलन गर्न कार्यालयका कर्मचारीलाई प्राथमिकता दिइनेछ र त्यसरी पनि नपुग भएमा अन्य सरकारी कार्यालय, सार्वजनिक संस्था वा परीक्षा केन्द्र रहेको संस्थाको जनशक्ति समेत खटाउन सकिनेछ । त्यसरी खटिने जनशक्तिको परिचय–पत्र वा नागरिकताको प्रतिलिपि पेश गर्न लगाउनुपर्ने लोक सेवा आयोग (
कार्य सञ्चालन) निर्देशिका, २०६७मा उल्लेख छ । यता यस विषयमा कार्यालय प्रमुख दीपक खड्कासँग बुझ्न बारम्बार टेलिफोन सम्पर्क गरिए पनि उनीसंग सम्पर्क हुन सकेन ।































