टेक फाउण्डेसनद्वारा श्रम शोषणको आरोप : एक वर्ष बित्दा पनि कर्मचारीले पाएनन् तलब

0
385

पार्थ मण्डल,
झापा।

एमफासिस टेक फाउण्डेशन काठमाडौँले श्रम शोषण गरेको पाइएको छ । एमफासिसले भद्रपुर नगरपालिकाका विभिन्न वडा कार्यालयमा रहेका व्यक्तिगत घटना दर्ता किताब डिजीटलाइजेशनको काममा खटाइएका करार कर्मचारीमाथि श्रम शोषण गरेका हुन् ।

श्रम शोषणमा परेका कर्मचारीले पटक–पटक पाउनु पर्ने भुक्तानीका लागि एमफासिसका कर्मचारीसँग सम्पर्क गर्दा समेत रकम उपलब्ध नगराएको पीडित कर्मचारीहरुले गुनासो पोखेका छन् । गृह मन्त्रालयको सामाजिक सुरक्षा तथा व्यक्तिगत घटना सुदृढीकरण परियोजना कार्यक्रम अन्तर्गत नगरपालिकाले व्यक्तिगत घटना दर्ता किताब डिजीटलाइजेशन गर्नका लागि सार्वजनिक सूचना आव्हान गरेको थियो ।

डिजीटलाइजेशनका लागि नगरपालिकाले ६ लाख १८ हजार रुपैयाँ न्यूनतम् अङ्क राखेर सूचना प्रकाशन गरेको थियो । सो टेण्डर फाउण्डेशनले भ्याटबाहेक ३ लाख ९२ हजार २३३ रुपैयाँमा पारेको नगरपालिकाको परियोजना सेवा इकाईका प्रकाश भट्टराईले जानकारी दिए । एमफासिसका टेक्निकल अफिसर अर्जुन तिवारीले नगरपालिकासँग २०७७ मंसीर ११ गते सम्झौता गरेका थिए । एमफासिसले नगरको तीन स्थानमा एकैपटक २०७७ मंसीर २१ गतेदेखि शुरु गरेको डिजीटलाइजेशनमा नगरभित्रका तीन दर्जन बढी युवायुवतीलाई करारमा नियुक्ति गरेर काम गर्न लगाएको थियो ।

एमफासिसले एउटा घटना कम्प्युटरमा दर्ता गराए बापतमा प्रतिव्यक्ति ३ रुपैयाँ दिने शर्त थियो । दुई महिनासम्म काम गराए पनि अधिकांश कर्मचारीको रकम नदिएको र दिँदा पनि पाउनुपर्ने रकमबाट घटाएर दिएको पाइएको छ । एमफासिसले एक वर्ष बितिसक्दा पनि काम गरेको रकम नदिएको पीडित कर्मचारी दीपिका मण्डलले बताइन् । ‘तीन महिना काम गर्दा जम्मा १८ हजार रुपैयाँ भएको थियो’– उनले भनिन्– ‘९ हजार ३ सय ६५ रुपैयाँ अझै पाउनु छ, पैसाको लागि एमफासिसका टेक्निकल अफिसर अर्जुन तिवारी र दीपेन्द्र राईसँग पटक–पटक फोन सम्पर्क गर्दा पैसा दिएनन् । अहिले त उनीहरूले फोन पनि उठाउन छाडिसके– अर्का पीडित कर्मचारी साहिब शेखले भने । ‘मैले ५ हजार रकम पाउनु छ, मलाई अहिलेसम्म एक रुपैयाँ पनि दिएन’– उनले भने ।

त्यस्तै अञ्जु तामाङले १० हजार ५ सय रुपैयाँ पाउन बाँकी छ । उनले गरेको फोन पनि एमफासिसका कर्मचारीले उठाउँदैनन् । एमफासिसको बदमासी बारे पीडितहरूले पटक–पटक नगरपालिकाका कर्मचारीलाई जानकारी गराइसकेका छन् । तर, अहिलेसम्म उनीहरूको माग सम्बोधन भएको छैन । नगरपालिकाको परियोजना सेवा इकाईका भट्टराईले भने– ‘खटाइएका कर्मचारीलाई भुक्तानी दिन कयौँपटक एमफासिसका टेक्निकल अफिसर तिवारी र राईलाई फोनमार्फत जानकारी गराउँदा पनि बेबास्ता गरेकै हो ।’

एमफासिसको ५ प्रतिशत बोलपत्र धरौटी रकम १५ हजार ४ सय ५० र भुक्तानी धरौटी रकम १६ हजार ३ सय ९८ गरी ३१ हजार ८ सय ४८ रुपैयाँ नगरपालिकासँग रहेको नगरपालिकाका लेखा अधिकृत सुवास भट्टराईले जानकारी दिए । पीडित कर्मचारीलाई रकम नदिएसम्म त्यो धरौटी रकम फिर्ता नदिने नगरपालिकामा छलफल भइरहेको बुझिएको छ । यता एमफासिसका टेक्निकल अफिसर तिवारीको मोबाइल नम्बरमा बन्द छ भने राईको फोन उठेन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here