ठेक्का लागेको १२ बर्षमा पनि बनेन विद्यालय भवन

0
352

झापा जिसस भवनमा तालाबन्दीसँगै बिद्यार्थीको धर्ना, जिल्लासभा नै अवरुद्ध

पार्थ मण्डल,
झापा ।

तत्कालीन जिल्ला विकास समिति हाल जिल्ला समन्वय समिति झापाको लापरबाहीविरुद्ध भद्रपुरस्थित अरनिको माविका बिद्यार्थी, शिक्षक तथा अभिभावक संयुक्त रुपमा आन्दोलित भएका छन् ।

भारतीय सहयोगमा १२ वर्षअघि ठेक्का लागेको विद्यालय भवन अधुरो छाड्नुमा समन्वय समितिका पदाधिकारीहरूको लापरबाही देखिएको भन्दै आक्रोशित भएका उनीहरू आन्दोलनमा उत्रिएका हुन् । विद्यालय भवन बनाउनुपर्ने एक सूत्रीय माग राख्दै आन्दोलित उनीहरूले सोमबार बिहान जिल्ला समन्वय समिति झापाको कार्यालय भवनमा तालाबन्दी गर्नुका साथै दिनभरि धर्ना दिएका छन् । समन्वय समितिको कार्यालय भवनमा तालाबन्दीसँगै मुख्य प्रवेशद्वारमै विद्यार्थीहरू हातमा प्ले कार्ड बोकेर धर्नामा बसेपछि कार्यालयको कामकाज ठप्प बनेको थियो ।

आन्दोलनको प्रभाव समन्वय समितिको कार्यालय भवनमा रहेको राष्ट्रिय भूमि आयोगको कामकाजमा समेत परेको थियो । गुणस्तरीय शिक्षा हाम्रो अधिकार, किन चासो बढेन स्थानीय सरकार ?, ‘कि विद्यालय बनाइदेऊ– कि त कुर्सी छाडिदेऊ’, बिद्यालय भवन चाँडो निर्माण गर, ‘सुरक्षित विद्यालय– बालबालिकाको अधिकार’, भ्रष्टाचारीलाई कारबाही गर जस्ता नारा लिएर बिद्यार्थीहरू धर्नामा बसेका थिए ।

वि.सं. २०२४ सालमा स्थापना भएको भद्रपुर–३ सूर्यनगरस्थित अरनिको माविको भवन स्तरोन्नतिका लागि भारतीय राजदूतावासले चार करोड २१ लाख रुपैयाँ बजेट विनियोजन गरेको थियो । तत्कालीन जिल्ला विकास समिति झापाले सो विद्यालय भवन बनाउन ठेक्का आव्हान गरेको थियो । २०६७ सालमा ३ करोड ८६ लाखमा राजधानी कन्स्ट्रक्सन काठमाडौँका सुवास लामाले भवन निर्माणको लागि ठेक्का लिएका थिए ।

दुई तले, ३२ कोठे विद्यालय भवनको ठेक्का पारेको राजधानी कन्स्ट्रक्सनले करिब चार वर्षपछि अर्थात् २०७१ साल चैतदेखि भवन बनाउने काम शुरु गरेको विद्यालयका प्रधानाध्यापक पुरुषोत्तम खरेलले बताए । तत्कालीन जिल्ला विकास समिति झापाकै सम्पूर्ण जिम्मेवारी तथा रेखदेखमा शुरु भएको विद्यालय भवनको निर्माण कार्य विगत चार वर्षदेखि ठप्प बनेको प्रधानाध्यापक खरेलले बताए । ‘जनप्रतिनिधि विहीन अवस्थामा विद्यालय भवनको ठेक्का लागेको हो’– प्रअ खरेलले भने– ‘जनप्रतिनिधि आएर पाँच वर्ष शासन चलाएर गइसक्यो, अर्को जनप्रतिनिधि निर्वाचित भएर आइसक्दा पनि निर्माणाधीन विद्यालय भवन लथालिङ्ग नै छ ।’

विद्यालय भवन निर्माणको काम सुचारु गराउन भनी समन्वय समितिका प्रमुख सोमनाथ पोर्तेल र भद्रपुर नगरपालिकाका निवर्तमान प्रमुख जीवनकुमार श्रेष्ठलाई दर्जनौँपटक भेटेर मौखिक तथा लिखित रूपमै जानकारी गराइसकेको बताउँदै उनले भने– ‘सत्तामा बस्दा उहाँहरूले अब बन्छ भन्दै आश्वासन मात्र दिनुभयो, अब धैर्यको सीमा नाघेपछि बाध्य भएर तालाबन्दीसँगै धर्ना कार्यक्रममा उत्रिनु प¥यो ।’

अब पनि बिद्यालयको माग सम्बोधन नभए सशक्त आन्दोलनको कार्यक्रम घोषणा गरेर संघर्षमा उत्रिने विद्यालय व्यवस्थापन समितिका अध्यक्ष शम्शेर तामाङले चेतावनी दिए ।

‘जिल्ला समन्वय समितिका प्रमुख पोर्तेलले यतिका दिनसम्म आश्वासन दिएर शिक्षक र अभिभावकलाई झारो टार्ने काम मात्र गर्नुभयो’– अध्यक्ष तामाङले भने– ‘अहिले कार्यकाल सकिन लाग्दा उहाँ अधुरो विद्यालय भवनको जिम्मा नगरपालिकालाई दिने प्रक्रिया अघि बढाउनेतर्फ लाग्नुभयो, तर नगरपालिकाका निवर्तमान प्रमुख श्रेष्ठले अधुरो भवन हामीले जिम्मा लिन मिल्दैन भनेपछि त्यो प्रक्रिया पनि अघि बढ्न सकेन ।’ स्थानीय सरकारबाट पनि सहयोग र साथ नपाउँदा विद्यालय भवन फेरि पनि अलपत्र नै हुने भयो । यो सरासर समन्वय समिति प्रमुखको लापरबाही भएको उनले आरोप समेत लगाएका छन् ।

समन्वय समिति र नगरपालिकाबीच भुक्तानी दिने बारेमा भित्री कुरा नमिल्दा प्रक्रिया अघि बढ्न नसकेको उनको भनाइ छ । विद्यालय भवनको अवस्था एकदमै नाजुक रहेको बताउँदै विद्यालय व्यवस्थापन समितिका पूर्वअध्यक्ष प्रदीप सुवेदीले भने– ‘अलपत्र भवनको बारेमा जिल्लादेखि काठमाडौँसम्म डेलिगेशन जाँदा पनि हाम्रो माग सुनवाइ भएन ।’ भारतीय राजदूतावासबाट खटिएका टोली नै आएर विद्यालयको भवनको अनुगमन गरेर गएको पनि तीन वर्ष बित्यो । ‘त्यस बेला राजदूतावासबाट भुक्तानीका लागि पैसा रोकिँदैन भन्ने जानकारी पायौं’– उनले भने– ‘समन्वय समितिले त्यसतर्फ खासै चासो नदेखाउँदा भवन बन्न नसकेको हो ।’

यता भवन नहुँदा विद्यालयमा अध्ययनरत् विद्यार्थीलाई पठनपाठनका लागि अनुकूल वातावरण छैन । साथै कक्षा कोठाहरूमा झ्याल, ढोका र घेरावारा समेत छैन । कक्षा कोठामा बिजुली बत्ती, पङ्खा जडान हुन सकेको छैन, खानेपानी र शौचालयको समस्या पनि त्यस्तै छ । बर्खामा कक्षा कोठाभित्रै पानी पस्छ, गर्मीमा बिद्यार्थीलाई कोठामा राखेर पढाउनै सकिँदैन– प्रअ खरेलले भने । ठेकेदार लामाले भवनको जिम्मा पेटी ठेकेदार प्रकाश सिंहलाई दिएका छन् । काम गरेको करिब ५० लाख रुपैयाँ समन्वय समितिसँग ठेकेदारले पाउने बुझिएको छ । समन्वय समितिले म्याद थप नहुँदासम्म भुक्तानी प्रक्रिया अघि बढाउन नसक्ने भन्दै ठेकेदारको रकम समेत रोकिदिएको छ ।

आन्दोलनले जिल्लासभा रोकियो

भर्खरै सम्पन्न स्थानीय तह सदस्य निर्वाचनबाट निर्वाचित प्रमुख/उपप्रमुख, अध्यक्ष/उपाध्यक्षसहितको उपस्थितिमा समन्वय समिति झापाले सोमबार बिहान ११ बजे जिल्लासभा डाकेको थियो ।

बिद्यार्थी, शिक्षक र अभिभावक आन्दोलित बन्दै तालाबन्दी र धर्नामा बसेपछि समितिले डाकेको जिल्लासभा रोकिएको छ । मुख्य निर्वाचन अधिकृतको कार्यालय समन्वय समिति गठनका लागि कार्यालयलाई पत्राचार गरेको समन्वय अधिकारी लालबहादुर श्रेष्ठले बताए ।

सोही पत्रानुसार जिल्ला सभा बोलाइएको थियो– उनले भने– ‘जिल्ला सभाको छलफल र निर्णयबाट समितिको नयाँ पदाधिकारी कति सदस्य रहने प्रक्रिया अघि बढाउन लागेका थियौँ, बिद्यालयको आन्दोलनका कारण आजको सभामा नै अवरुद्ध भयो ।’ आन्दोलनका कारण समितिमा नयाँ पदाधिकारी चुनिने बाटो तत्काललाई बन्द भएको उनले बताए ।

विद्यालय भवनको बारेमा बोल्दै उनले भने– ‘जनशक्ति तथा स्रोतसाधन नहुँदा अधुरो विद्यालयको भवनको काम अघि बढाउन नसक्ने भनी समितिले मन्त्रालयलाई पत्राचार ग¥यो ।’ ‘मन्त्रालयले स्थानीय तहलाई हस्तान्तरण गर भनेर पत्र पठायो’– उनले भने– ‘पत्र अनुसार स्थानीय तहसँग त्यस बारेमा बैठक बसियो, तर टुङ्गो लागेन ।’ भवन निर्माण सम्बन्धी कुनै पनि कागजात समितिमा सुरक्षित छैन । ‘जिल्ला विकास समिति हुँदाका कर्मचारीले भवनको कागजात समन्वय समितिका कर्मचारीलाई जिम्मा नलगाउँदा थप समस्या उत्पन्न भयो’– उनले भने– ‘समितिको एउटा कोठामा फोहोर फाल्ने गरी पुराना कागजात डम्पिंग गरी राखिएको छ, त्यही डम्पिंगबाट खोज्दा खोज्दा गरी केही कागजात भेट्टाएका छौँ ।’

अहिले आएर समितिका पदाधिकारीको समयावधि सकिएकोले उहाँहरूलाई दबाब दिनुभन्दा नयाँ चुनिएर आउनेलाई दबाब दिए मात्र समस्याको समाधान हुने उनले बताए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here