धान दिवसको सार्थकता

0
421

नेपालमा असार १५ लाई धान दिवसका रुपमा मनाउन थालेको सत्र वर्ष भयो । देश यसै पनि कृषि प्रधान भएको र यहाँका दुईतिहाई मानिस कृषिकर्ममै निर्भर रहेको कारण असार १५ सांस्कृतिक पर्व जस्तै बनिएको छ । ‘असार १५ मा राजारानी पनि खेत रोप्न जान्छन्’ भनिन्थ्यो कुनै दिन । यसको अर्थ हुन्थ्यो कि असार १५ नेपालीको जीवनसँग अत्यन्त गहिरो गरी जोडिएको दिन हो र ‘माना खाएर मुरी उब्जाउने’ अवसर पनि हो । नेपाली जीवनशैली माटोसँग जोडिएको छ, जसको सेवा गरेर विश्वका मानव जाति र सम्पूर्ण जीवहरुको जीवन रक्षा हुन्छ । यतिबेला मनसुन पूर्णरुपले सक्रिय भएको हुन्छ, हाम्रो खेती पनि आकाशे पानी मै निर्भर छ । त्यसैले मध्य वर्षाको मध्य दिन पानी र हिलोसँग खेल्दै, खेतको आलीमा बसेर दही–च्युरा खाएर उत्साह र हर्ष साटेर मनाइन्छ यो दिन ।

बहुसंख्यक नेपालीको पेशा र राष्ट्रिय आयको ठूलो हिस्सा भएकाले मध्य वर्षाको यस दिनलाई सरकारले धान दिवसका रुपमा मनाउने गरेको छ । सारा जगतको पालक कृषकहरुलाई हाम्रो देशमा उचित सम्मान दिइएको छैन । किसानले आवश्यक समय न मल पाएका छन् न त उन्नत बीऊबिजन वा सिञ्चाई सुविधा नै । तर पनि निरन्तर यही पेशामा आबद्ध किसानहरु हिलो माटोमा जीवन साटिरहेका छन् । यही समय धान दिवस मनाउने भन्दै सरकारमा रहेका मन्त्रीहरु, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरु फोटो खिचाउने, रमाइलो गर्ने र कहिले अश्लील व्यवहार प्रदर्शन गर्न थालेका छन् । खाद्यान्नमा आत्मनिर्भर नेपालले खाद्यवस्तु निर्यात गरेर राष्ट्रिय आयमा महत्वपूर्ण योगदान पनि दिने गरेको थियो । तर, अहिले हामी आयातमुखी भएका छौं, हानिकारक विषादिको प्रयोग गरेर आफ्नै आयु छोट्याइरहेका पनि छौं ।

नेपाली सिप, परिश्रम, जाँगर र शक्ति विदेशी भूमिमा खर्च हुन थालेको छ अहिले । स्वदेशी वस्तुप्रतिको मोहभंगले विदेशी वस्तुको आयातलाई प्रोत्साहन गरिरहेको छ । विदेशी फलफूल, साजसब्जीले नेपाली बजार भरिएका छन् । हाम्रो आर्थिक, सामाजिक, सांस्कृतिक जीवन र जीवन पद्धति परमुखापेक्षी बन्दै गएको छ । यस्तो अवस्थामा हाम्रो धान दिवस युवाहरुलाई स्वदेशमै स्थापित गर्ने नीति लिएर आउनु पर्दछ । कृषिमा आधुनिक यन्त्र उपकरण, प्रविधि हस्तान्तरण गर्दैै यसैलाई व्यवसायमुखी बनाउनेतर्फ केन्द्रीत हुनुपर्छ । किसानहरुको उत्सव यो दिनमा आज खेतै नदेखेका, नटेकेका वर्ग सामाजिक सञ्जालमा फोटो हाल्ने होडबाजी गर्न थालेका छन् । यस्तो विकृतिलाई रोक्दै किसानको आत्मसम्मान उठाउन, सेवासुविधाको पहुँच बढाउन, सिञ्चाई लगायतको सेवा विस्तार गरी उत्पादन बढाउनतर्फ यो दिवसले प्रेरणा दिनुपर्दछ । अनि मात्र असार १५ को सार्थकता प्रमाणित हुनेछ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here