
फूलभित्रको संसार
तुलसीराम खरेल
हे फूल चोरेर लाने हो
यहाँ माली रोएको देखेऊ कि ।
खुशी मिलन मनाउने हो
यहाँ बिछोड भएको देखेऊ कि ।।
मनबहादुर परियारका शब्दहरुलाई कुमार सुब्बाले लय हालेपछि बनेको माथिको गीतले फूल चोरेर टिप्नेहरु माथि ब्यङ्ग हानेको देखिन्छ । फूल पवित्रताको पर्याय हो, यो प्रेमको धोतक र सुन्दरताको प्रतिक पनि हो । त्यसैले होला फुलबारीका फूल टिपिएपछि माली रोएको किन देखिन्न होला ? भनेर प्रश्न शब्दकार मनबहादुर परियारले सोध्न भुलेनन् ।
प्रकृतिका सुन्दर एवम् पवित्र उपहारको रुपमा फूललाई बुझिन्छ । त्यसैले होला भगवानको मूर्ति÷मन्दिरमा फूल चढाएर शिर झुकाउने चलन चलेको छ । यो प्रकृतिको अनुपम उपहार वास्तवमा के हो ? फूल किन निर्माण भएको हो ? यसको उपयोग वनस्पतिमा के–कसरी गरिन्छ ? यसका प्रकार तथा भागहरु के–के होलान् ? यसैको सेरोफेरोमा यो आलेख तयार गरिएको छ ।
वनस्पति जगतलाई फूल नफुल्ने र फूल फुल्ने गरी दुई उपजगतमा वर्गीकरण गरिएको छ । फूल नफुल्ने वनस्पतिमा लेउ, झ्याउ, काइ, उनिउँजन्य वनस्पतिहरु पर्दछन् । फूल फुल्नेहरुमा धुपी सल्ला एवम् बिकसित तथा फूल प्रष्ट देख्न सकिने एन्जियोस्पर्म पर्दछन् । धुपी सल्ला वर्गलाइ जिम्नोस्पर्म समूहमा राखिएको छ । यस समूहका वनस्पतिहरुमा फूल अनौठो प्रकारका हुन्छन् । हामी आममानिसहरुले फूल भनेर पहिचान गर्न वा फूलको रुपमा बुझ्न समेत गाह्रो पर्दछ ।
एन्जियोस्पर्मभित्र पर्ने एकदलीय तथा दुई दलीय दुबै प्रकारका वनस्पतिहरुका फूल हामी सजिलै चिन्न सक्छौं । एक दलीय वनस्पतिहरु धान, गहुँ, मकै, नरिवल, केरा आदिमा फूल फुलेको हामीले देखेकै छौं । दुई दलीयभित्र गुलाव, सयपत्री, मखमली, गोदावरी, सूर्यमुखी, बाह्रमासे चिल्ली फूल, निलकमल, पारिजात, रातकी रानी, आदि मात्र होइन हामीले खेती गर्ने तोरीका रहरलाग्दा फूलहरु यसैमा पर्दछन् । तोरीबारीमा आँखाले भ्याएसम्म हेर्दा तोरीका लहलह बोटमा पहेँलो फूल फुलेको देखेर कसको पो मन नरमाउला र ? तोरी बारीको यो रहरलाग्दो दृष्यमा धेरै सेनेमाका कथाहरु कैद भइसकेका छन् अथवा भनौ हजारौं पर्खाईमा पक्कै छन् होला ।
प्रकृतिले फूल फुल्ने वनस्पतिहरुमा प्रजनन् अंगको रुपमा फूलको निर्माण गरेको हो । फूलहरु एक लिङ्गीय र दुइ लिङ्गीय गरी दुई प्रकारका हुन्छन् । दुई लिङ्गीय फूलहरु धेरै पाइन्छन् । एउटा दुई लिङ्गीय फूलमा पत्रदल, पुष्पदल, स्त्रिकेशर र पुंकेशरगरी चारवटा भागहरु हुन्छन् । फूलको सबैभन्दा बाहिरी भागमा पत्रदल अर्थात् सेपल पर्दछ । यसको रङ्ग सामान्यतया हरियो हुन्छ । रंगीन प्रकारका पत्रदल पनि हुन्छन् । टमाटर, भन्टा÷बैगुन, बिही, आदिमा फल बनिसक्दा समेत पत्रदल झर्दैन् । हामीले टमाटर तथा बैगुनमा यो भेट्नुको तलपट्टी प्रष्ट देख्न सक्छौं । यस्ता पत्रदललाई पर्सिस्टेन्ट सेपल भनिन्छ । धेरै वनस्पतिहरुमा पत्रदल तुरुन्तै झर्ने प्रकारका हुन्छन् । तिनीहरुलाई केड्युकस सेपल भनिन्छ ।
पत्रदलको भित्रतिर पुष्पदल अर्थात् कोरोला हुन्छ । त्यसका इकाईहरुलाई पेटल भनिन्छ । धेरैजसो फूलहरुमा यो रंगीन हुन्छ । राता, पहेँला, नीला, बैजनी, गुलाबी, सेता, खरानी रंग, खैरा, आदि रंगका पुष्पदलहरु हुन्छन् । फूललाई आकर्षक बनाउने यिनिहरु नै हुन् । वनस्पति कोषभित्र रहेका एक प्रकारका प्लाष्टिड क्रोमोप्लाष्टिडले पुष्पदल तथा फलमा रंग भरेर रंगिन बनाउने थुप्रै रंगहरु (पिग्मेन्टस्) संग्रह गरेर राखेका हुन्छन् । यिनीहरु रंगिन हुनुले परागशेचनमा समेत निकै ठूलो सहयोग पु¥याएको हुन्छ । रंगिन पुष्पदल तथा तिनीहरुको बास्नाका कारण किराहरु फूलतिर आकर्षित हुन्छन् र फूललाई परागशेचनमा सहयोग गर्दछन् । फूलभित्रका पुंकेशरमा भएका परागकणहरुलाइ स्त्रिकेशरको स्टिग्मासम्म पु¥याउने प्रक्रियालाई नै परागशेचन भनिन्छ ।
परागसेचन पनि स्व. परागसेचन र परपरासेचन गरी दुई प्रकारको हुन्छ । एउटै फूलभित्र रहेका एन्थरबाट परागकणहरु सोही फूलको या सोही बिरुवाको अर्को फूलको स्त्री प्रजनन् अङ्गको माथिल्लो भागमा पुग्ने प्रक्रिया स्वपरागसेचन हो । यसका लागि फूलभित्र विचित्रका विविधताहरु समेत भेटिन्छ । गहुँ, टमाटर, सनपाट, सूर्ती जस्ता वनस्पतिहरुको फूल फक्रनुभन्दा अगावै कोपिला अवस्थामा नै परागसेचन हुन्छ । स्वपरागसेचनले वंशाणुको शुद्धता जगेर्ना गर्न महत्वपूर्ण भूमिका निभाएको हुन्छ ।
जब परागसेचन प्रक्रिया दुईवटा अलग–अलग वनस्पति बिछ हुनपुग्छ त्यसलाई परपरागसेचन भनिन्छ । यस प्रक्रियालाई हावा, पानी, किरा आदिले सहयोग पु¥याइरहेका हुन्छन् । बिरुवाहरुले बद्लिँदो वातावरणमा बाच्न सक्ने गुणहरु परपरागसेचनबाट प्राप्त गर्दछन् । नराम्रा गुण हटाउन र राम्रा गुणहरु अटाउन यो बिधि उपयुक्त हुन्छ ।
फूलको तेस्रो भाग पुंकेशर हो । यो भाले अंग हो । यसका स्टामेन भनेका पुंकेशरका इकाईहरु हुन् । एउटा पुंकेशरमा एन्थर र फिलामेन्ट हुन्छ । एन्थरभित्र परागकणहरु बन्छन् । परागकणमा केही विकास भएर भाले लैँगिक कोषको निर्माण हुन्छ । फूलको केन्द्रीय भागमा गाइनोसियम अर्थात् स्त्रिकेशर हुन्छ । स्त्रिकेशरको माथिल्लो भागलाई स्टिग्मा, बीचको लामो पाइप जस्तो भागलाई स्टाइल तथा सबैभन्दा तलको फुकेको भागलाई ओभरी वा गर्भाशय भनिन्छ । गर्भाशयभित्र पोथी लैङ्गिक कोषको निर्माण भएको हुन्छ । परागशेचनपछिको अर्को महत्वपूर्ण प्रक्रिया भनेको गर्भाधान हो । गर्भाधान भनेको भाले र पोथी लैङ्गिक कोषको मिलन हो । गर्भाधानपछि समुच्च गर्भाशय फलमा परिणत हुन्छ भने त्यसको बीचको युग्मक (जाइगोट) बीऊ बन्छ ।
स्त्रिकेशरमा गुलियो रस उत्पादन गर्न सक्ने ग्रन्थी पनि विकास भएका हुन्छन् । प्रायः गरेर किराले परागशेचन गराउन सक्ने फूलहरुमा यस्ता प्रकारका ग्रन्थी हुन्छन् । मिठो रससँग आकर्षित भएर किराहरु फूलमा जान्छन् । तिनीहरुका खुट्टामा परागकणहरु टाँसिन्छन् । अनि एक फूलबाट अर्कोमा सजिलै पुग्छन् । त्यस्तै किरालाई आकर्षण गर्नका लागि पुंकेशरमा अत्यधिक परागकणहरु बन्छन् । परागकणबाटै माहुरीले चाको बनाउँछ भने गुलियो रसबाट मह निर्माण गर्दछ ।
एउटा सानो उदाहरण मकैको बोटलाई ध्यान दिउँ । मकैको बोटको माथिल्लो भागमा भएका धानचामर भनेका भाले फूलहरु हुन् । तल बन्ने घोगा चाहिँ पोथी फूल हुन् । हावा लाग्दा माथितिर रहेका भाले फूलमा बनेका परागकणहरु सजिलै पोथी फूलमा आइपुग्छन् र परागशेचन त्यसपछि गर्भाधान प्रक्रिया हुन्छ । अनि मकैको घोगामा दाना लाग्छ । यहाँ किराले होइन हावाले परागशेचन गराउँछ । त्यसकारण किरालाई आकर्षण गर्नु जरुरी नभएकोले फूल आकर्षक हुँदैनन्, रस तथा गन्ध (सेन्ट)को जरुरत पर्दैन् ।
उता तोरीको परागशेचन माहुरी वा अन्य किराहरुले गर्दछन् । माहुरीलाई आकर्षण गर्नकै लागि आकर्षक फूल, यथेष्ट रस (नेक्टर) तथा यथेष्ट पराग बनाउनु परेको हो । प्रकृतिमा चरा तथा चमेराले समेत परागशेचनमा सहयोग गर्नेखालका फूलहरु भेटिएका छन् । सिमलमा चराले र कदममा चमेरोले परागशेचनमा सहयोग पु¥याइरहेका हुन्छन् । शंखेकीराले पनि कतिपय फूलको परागशेचनमा सहयोग गर्दछ । हात्तीले रेफ्लेसिया नामको वनस्पतिको फूलको परागशेचनमा भाग लिने पत्ता लागेको छ । यसप्रकार हामीले ठानेका आकर्षक फूलहरु वनस्पतिका प्रजनन् अंगहरु बोकेका बनौटहरु हुन् । यिनीहरुको संरक्षण या रक्षा गर्नु भनेको बीऊ तथा फल बन्ने मार्ग प्रशस्त गर्नु पनि हो । पुष्पबाटिकामा ढकमक्क फुलिरहेका फूलहरुलाई जथाभावी टिप्ने, निजी घरका फूलहरु अनुमति बिना टिप्ने अनि फुलबारीमा स्वतन्त्र रुपमा घुमिरहने पुतलीलाई समाउने गर्नु पनि हँुदैन भनी हामीले हाम्रा सन्ततिहरुलाई पनि बुझाउन सक्नु पर्दछ । फूलको रक्षा सुन्दरताको र भावी सन्ततिको रक्षा समेत हो ।
tulasikharel2015@gmail.com


























