
‘कलको बीऊ कुरा’ भनिन्छ । हाम्रो समाजमा कुराबाट शुरु भएको कल अर्थात् कलहले हत्याको रुप लिन थालेको छ । अझ पछिल्लो समय बढ्दै गएको हत्याको श्रृंखलामा यौन सम्बन्ध र आर्थिन लेनदेन प्रमुख कारण बन्दै गएको छ । यसले शान्त, संयम्, सहिष्णु र सत्मार्गमा हिँड्ने पहिचान बनाएको समाज क्रुरतातर्फ जान थालेको छ । मानवता, संवेदनशीलता, हार्दिकता र भाइचाराको सम्बन्ध र विशिष्टता हराउन थालेको नेपाली समाजमा कसको ‘आँखा लागेर’ हो विखण्डन, बिग्रह, विध्वंश, वितृष्णा लगायतका दुर्भावना र दूराग्रह झाँगिंदै गएको छ । यो भन्दा पनि त्रास बढाउने विषय हो– आफन्त, चिनजान र परिवारसँग जोडिएका व्यक्ति नै हत्यामा संलग्न हुन थालेको उदाहरणहरु । यस्ता अपराधका घटनाहरुमा अवैध यौन सम्बन्ध पैसाको लेनदेन र आवेग मुख्य कारण रहेको देखिने गरेको छ ।
झापा अर्जुनधारामा यही असार ९ गते भएको हत्याको घटनाले प्रत्यक्षरुपमा लेनदेन र परोक्षरुपमा यौन सम्बन्ध मुख्य कारण रहेको देखाएको छ । अर्जुनधारा–७ डाँडागाउँ निवासी जानुकादेवी सुवेदी थापालाई हत्या आरोपमा प्रहरीले पक्राउ गरी सार्वजनिक गरेको छ । भारतको अहमदावाद बस्ने नरेशकुमार बाबुभाइ भनिने व्यक्तिको हत्या गरी वडा नं. ७ साहसी टोलमा रहेको ह्युमपाइपभित्र बोरामा हालेर फ्यालेको अवस्थामा फेला परेको थियो । घटना सार्वजनिक भए लगत्तै प्रहरी अनुसन्धानबाट पक्राउ परेका जानुका, उनका पति बृखबहादुर थापा र हत्या गर्ने सुरेश परियारलाई पक्राउ गरी अनुसन्धान गर्दै जाँदा उनीहरु नै दोषी पाइएको प्रहरीले जनाएको छ । हत्याको चार दिनपछि भेटिएको शवको अनुसन्धान गर्नेक्रममा प्रहरीले हत्यामा आर्थिक लेनदेन र त्यसले सृजना गरेको परिघटनाहरु जिम्मेवार रहेको जनाएको छ ।
जघन्य अपराधका यस्ता घटनाहरुले हाम्रो समाजको गतिलाई देखाएको छ । यस्ता घटनाहरु बढ्नुका कारणहरु खोजी तथा विश्लेषण नगर्ने हो भने हाम्रो भावीपुस्तालाई विश्वासयोग्य भविष्य दिन सक्दैनौं । यसबेला चोरी, डकैती, लुटपाट, ठगी, बलात्कार तथा हत्याका घटनाले हाम्रो भोलि अनिश्चित हुने निश्चित छ । त्यसैले यस्ता अपराधका घटनाबाट हुनसक्ने क्षतिका विषयमा नैतिक शिक्षालाई पाठ्यपुस्तकमै समावेश गर्न जरुरी छ । त्यसैगरी युवावर्गलाई अवसर र रोजगारी सृजना गर्दै सकारात्मक र सृजनशील काममा लगाउनु पर्दछ । अवसर नपाएर कुलतमा समेत फस्दै गएको हाम्रो समाजलाई स्वच्छ बनाउन सकिएन भने हाम्रा पुर्खाको गौरव समेत सुरक्षित हुन सक्दैन । त्यसैले सरकार तथा सरोकारवाला निकायले यस्ता आपराधिक घटनाहरुको सूक्ष्म अध्ययन गरी दोषीलाई कानूनको दायरामा ल्याउन र समाधान खोज्नेतर्फ लाग्नुपर्छ ।




























