अझै लागेन बनियानी चोकको डिभाइडरमा रेलिङ

0
337

झापा ।

मेची राजमार्गको चारआली–केचना सडकखण्ड अन्तर्गत कचनकवल गाउँपालिका–६स्थित बनियानी चोकमा बनाइएको रोड डिभाइडरमा फलामे रेलिङ अझै लागेको छैन ।

गाउँपालिकाले बनियानी चोकको सौन्दर्यसँगै दुर्घटना न्यूनीकरण लागि वान–बे बनाउन फलामे रेलिङ लगाउने भनी अघिल्लो आर्थिक वर्ष ०७७/०७८ मै बजेट विनियोजन गरेको थियो ।

एक वर्षअघि लाग्नुपर्ने सो फलामे रेलिङ दुई वर्ष बित्न लाग्दा समेत अझै लागेको छैन । गाउँपालिकाले अघिल्लो आर्थिक वर्ष २०७७/०७८मा ६ सय मिटर रोड डिभाइडरमा प्लास्टर/फिनिसिङ, फलामे रेलिङ, रंगरोगन, एउटा पानीको मोटर जडान, मल, माटो हाल्ने गरी एकमुष्ट ठेक्का आव्हान गरेको थियो ।

गाउँपालिकाले सो ठेक्का २०७७ माघ २८ गते १८ लाख ३३ हजार २५७ रुपैयाँमा खुलाएको थियो । सो ठेक्का एआरबी निर्माण सेवा धरमपुरले १२ लाख ५६ हजार २१० रुपैयाँमा पारेको थियो ।

एआरबी निर्माणले गाउँपालिकाको इस्टीमेट भन्दा फरक (गुणस्तरहीन) रेलिङ लगाएको भन्दै त्यसबेला स्थानीयले चर्को विरोध गरेका थिए । स्थानीयको बिरोधपछि डिभाइडरमा लगाएको गुणस्तरहीन रेलिङ निकाल्न लगाउनुका साथै एआरबी निर्माणसँग गरेको ठेक्का सम्झौता नै गाउँपालिकाले तोडेको थियो ।

त्यसपछि गाउँपालिकाले चालूआर्थिक वर्षको २०७८ कार्तिक १६ गते पुनः नयाँ बोलपत्र आव्हानको सूचना प्रकाशन ग¥यो । पहिलो पटक आव्हान गरेको सूचनामा कसैले ठेक्का नहालेपछि गाउँपालिकाले मंसीर १४ गते दोस्रो पटक सूचना आव्हान गरेको गाउँपालिका इञ्जिनियर अमित ढुङ्गानाले जानकारी दिए ।

अघिल्लो आर्थिक वर्षमा निकालिएको रकम अंकलाई घटाएर चालू आ.व.मा १५ लाख ३३ हजार ८१८ रुपैयाँ सूचना निकालिएको हो । ‘अघिल्लो वर्षको सूचनामा रेलिङको हाइट २ फिट राखेका थियौँ, यस वर्षको सूचनामा हाइट डेढ फिट बनाउनुका साथै रडको तौल पनि घटाउँदा रकम अंक घटेको हो’– उनले भने ।

सो ठेक्का गजबक्रम सापकोटा कन्स्ट्रक्सन कचनकवलले १३ लाख ७६ हजार ४३० मा लिएको हो । असार २५ गतेभित्र काम सम्पन्न गर्नुपर्ने गजबक्रम सापकोटा कन्स्ट्रक्सनले अहिलेसम्म डिभाइडरमा प्लास्टर फिनिसिङ, माटो हाल्ने काम मात्र गरेको इञ्जिनियर ढुङ्गानाले बताए ।

‘कामको प्रगति हेर्दा २५ प्रतिशत काम मात्र गरेको देखिन्छ, फलामे रेलिङ हाल्ने बित्तिकै काम पूरा हुने हो’– उनले भने– ‘तोकिएको म्याद सकिन लागेको भन्दै निर्माण व्यवसायी दिलीप सापकोटालाई गाउँपालिकाले पटक पटक तोकेता गरिसकेको छ’ ।

व्यवसायी सापकोटाले रेलिङ बनिरहेको जानकारी गाउँपालिकालाई गराउँदै आएको उनले बताए । व्यवसायी सापकोटाले असार २५ गतेसम्म काम सम्पन्न नहुने भन्दै म्याद थपका लागि गाउँपालिकालाई निवेदन दिइसकेको उनको भनाइ छ । गाउँपालिकाले आ.व. २०७६/०७७मा सो डिभाइडर बनाउन १५ लाख रुपैयाँ बजेट खर्च गरेको थियो । त्यसपछि सो डिभाइडरमा ५ लाख ४० हजार खर्च गरेर ६ वटा सोलार बत्ती पनि जडान गरेको थियो ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here