‘आँधी तुफान २’ ट्रेलरमा तीन हिरोइनको एक्सन

0
431

काठमाडौं,

एक समयका सफल निर्देशक मदन घिमिरेद्वारा निर्देशित एक्सन फिल्म ‘आँधी तुफान २’को ट्रेलर सार्वजनिक भएको छ ।

सोमवार सार्वजनिक २ मिनेट ३० सेकेन्डको ट्रेलरमा एक्सनलाई विशेष प्राथमिकता दिइएको छ । चेलिबेटी बेचबिखन गर्ने गिरोहलाई सिक्रेट मिशनमा रहेका तीन महिना पात्र (आरती आचार्य, सोनी बिसी र याङ्शु श्रेष्ठ) ले कसरी सखाप गर्छन् भन्ने ट्रेलरमा देखाइएको छ ।

आगामी साउन २० गतेबाट प्रदर्शनमा आउन लागेको फिल्मलाई मौनता श्रेष्ठले निर्माण गरेका हुन् । उनकै लेखन रहेको फिल्ममा रवी गिरी, पुस्कर राउत, सन्जीत भण्डारी, विन्दिया ठकुरी, रुपा केसी, ऋचा थापा, चक्र राई, संजय खतिवडा, कनिज कोइराला, सपना श्रेष्ठ, राजु घिमिरे, शत्रुधन अन्सारी, जोया बुढाथोकी, मुकेश कपाली, योचिना खड्गी, सुदीप आचार्यलगायतको अभिनय छ ।

फिल्ममा रामशरण उप्रतीको छायांकन, कमल राई र अभि वाग्लेको गीतमा कोरियोग्राफी, अचुत गजुरेलको भिएफएक्स, सुरेश अधिकारी र विक्रम थापाको संगीत, हरी उप्रती र दीपेन्द्र खड्काको शब्द रचना, प्रेम चुल्ठेको द्वन्द्व निर्देशन, विनुसा राई र अर्जुन लिम्बुको स्वर छ भने मन्दिल श्रेष्ठले सम्पादन गरेका हुन् । आरआर फिल्मस् (रोहित रत्न) ले फिल्मलाई देशव्यापी वितरण गर्दैछ ।

निर्माता मौनता श्रेष्ठले फिल्मले नारी शक्तिको कथा बोल्ने जानकारी दिए । यो फिल्मको पहिलो श्रृंखलालाई पनि उनले नै निर्माण गरेका थिए । २०६३ सालमा निर्माण भएको ‘आँधी तुफान’ सुपरहिट भएको थियो । महेन्द्र बुढाथोकीले निर्देशन गरेको फिल्ममा पुजना प्रधान, रिचा घिमिरे र रञ्जु लामिछाने प्रमुख भूमिकामा थिए । निर्माता श्रेष्ठ ‘आँधी तुफान २’ उत्कृष्ट बनेको दाबी गर्छन् ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here