अर्जुनधारा ।

नगरमा रहेका बाख्रापालक कृषकहरुलाई व्यावसायिक बनाउने उद्देश्यले झापाको अर्जुनधारामा तीन दिवसीय व्यावसायिक बाख्रा पालन तालिम मंगलबारदेखि शुरु भएको छ ।
नगर पशुपन्छी, मत्स्य तथा कछुवा विकास शाखाको आयोजनामा अर्जुनधारा–८ स्थित सामुदायिक भवनमा आयोजित उक्त तालिमको नगर कार्यपालिका सदस्य एवम् आर्थिक समितिकी संयोजक गौरीमाया चिमरीया “अस्मिता”ले उद्घाटन गरेकी थिइन् ।
सहजकर्ताहरु शाखा प्रमुख पदमलाल राई, भेटनरी अधिकृत देवीकुमारी लिम्बू र पशु सेवा प्राविद्यिक वेनुकुमार बस्नेतले सहजिकरण गर्ने उक्त तालिममा ४० जना बढी कृषकको सहभागिता रहेको छ ।

व्यावसायिक बाखा पालनको लागि आवश्यक व्यवस्थापन, रोग, औषधि, वीमालगायतका विषयमा जानकारी दिइने तालिम अन्र्तगत छिमेकी बुद्धशान्ति गाँउपालिका र शिवसताक्षी नगरपालिकाका ५ वटा फार्ममा सहभागीहरुलाई अध्धयन अवलोकन भ्रमण गराइने पशु सेवा प्राविद्यिक बस्नेतले जानकारी दिए ।
आर्थिक समितिकी संयोजक चिमरीयाको अध्यक्षतामा आयोजित तालिम उद्घाटन कार्यक्रममा स्वागत प्राविद्यिक बस्नेतले र कार्यक्रमको सञ्चालन शाखा प्रमुख राईले गरेका थिए ।































