अर्जुनधारा ।

गरिवी निवारणका लागि लघु उद्यम विकास कार्यक्रम(मेडपा) अन्र्तगत झापाको अर्जुनधारामा लघु उद्यमीहरुका लागि सञ्चालनरत् आधारभूत तथा एडभान्स तालिम बुधबार सम्पन्न भएको छ ।
उक्त कार्यक्रम अन्र्तगत नयाँ उद्यमी सृजनातर्फ छनौट भएका ९० जनालाई गत चैत ११ गतेदेखि आधारभूत र स्तर उन्नतीतर्फ गत आर्थिक वर्षमा आधारभूत तालिम लिएका ५० जनालाई एडभान्स तालिम दिइएको मेडपाका उद्यम विकास सहजकर्ता सुलोचना कुमालले जानकारी दिइन् ।
पिरामिड प्राविधिक संस्थान प्रा.लि. इलामले प्रदान गरेको उक्त तालिम अन्र्तगत सहभागीहरुले आधारभूततर्फ ब्याग(झोला), दुना टपरी, च्याउ, क्रिस्टलको माला, कफी, अचार, परालको चप्पल र एडभान्सतर्फ ब्याग(झोला), दुग्धजन्य मिठाई, बेकरी, बाँसको फर्निचर, बैमौसमी सब्जी खेती कार्यक्रम गरेको बताइएको छ ।
अर्जुनधारा–७ वडा समितिका वडाध्यक्ष गोविन्द खतिवडाको अध्यक्षता र नगर उपप्रमुख खड्गमाया पराजुलीको प्रमुख आतिथ्यमा आयोजित समापन कार्यक्रममा चार वटा लघु उद्यमी समूहलाई ब्याग बनाउने मेसिन प्रदान गरिएको थियो ।

मेसिन प्राप्त गर्ने समूहहरुमा अर्जुनधारा–२को मिलीजुली लघु उद्यमी समूह, अर्जुनधारा–७ को लगनशील लघु उद्यमी समूह, अर्जुनधारा–९को मिलीजुली लघु उद्यमी समूह र अर्जुनधारा–११को देउनीया लघु उद्यमी समूह रहेका छन् ।
सामाजिक विकास शाखाको गरिवी निवारणका लागि लघु उद्यम निर्देशिका बमोजिम समूह प्रविधि हस्तान्तरण कार्यक्रम अन्र्तगत उनीहरुलाई सीप प्रदान गरी सफल लघु उद्यमी बनाउने उद्देश्यले मेसिन वितरण गरिएको शाखाका प्रमुख राजविक्रम खड्काले जानकारी दिए ।
शाखाले दुवै तालिमका सहभागीहरुबाट समूह बनाई थप ३० वटा मेसिन वितरण गर्ने प्रमुख खड्काले बताए । कार्यक्रममा उपप्रमुख पराजुलीसँगै कार्यपालिका सदस्य बिमला रोक्का, नगर सभा सदस्य खड्गमाया पौडेली, शाखा प्रमुख खड्कालगायतले मन्तव्य राखेका थिए ।
उद्यम विकास सहजकर्ता कुमालले स्वागत गरेको कार्यक्रमको सञ्चालन पिरामिड प्राविधिक संस्थानका कार्यक्रम संयोजक सुमन दियालीले गरेका थिए ।





























