अर्जुनधारा ।

पछिल्लो समय झापाको शनिश्चरे–बिर्तामोड सडक खण्ड अन्र्तगत शनिश्चरे बजारदेखि दास पुल क्षेत्रमा सवारी दुर्घटनाको घटना बढेको भन्दै स्थानीयहरुले बिहीबार पूजा सम्पन्न गरेका छन् ।
दुर्घटना क्षेत्रमा रहेको दोष निवारण गर्दै हुने सम्भावित दुर्घटनालाई न्यूनिकरण गर्ने उद्देश्यले स्थानीय स्वस्ती शान्ति पूजा अर्चना व्यवस्थापन समितिले उक्त पूजाको आयोजना गरेको पूजा कार्यक्रममा संलग्न सप्तऋषी गुरुकुलका शिक्षक उमेश चापागाईंले बताए ।
सडक खण्डको अर्जुनधारा–८स्थित कदमगाछीमा आयोजित पूजा अर्चना कार्यक्रममा त्रिशक्ति अर्थात् महाकाली, महालक्ष्मी र महासरस्वतीसँगै विश्वकर्मा बाबाको पूजा तथा वेद, चण्डी, भागवत आदिको पाठ गरिएको शिक्षक चापागाईंले जानकारी दिए ।
त्यसैगरी समितिले विभिन्न सरोकारवाला निकायको उपस्थितीमा सोही दिन अन्तरक्रिया कार्यक्रम पनि सम्पन्न गरेको स्थानीय मुक्तिनाथ सुवेदीले जानकारी दिए ।
समितिकी अध्यक्ष माया पौडेलको अध्यक्षतामा आयोजित उक्त कार्यक्रमको उद्घाटन प्रमुख अतिथि अर्जुनधारा–८ वडा समितिका वडाध्यक्ष कुमारप्रसाद उप्रेतीले गरेका थिए ।
कार्यक्रममा नगर सभा सदस्य सरु बुढाथोकी, सशस्त्र प्रहरी बल शनिश्चरे वेसका असई रोशन केसी, अस्थायी ट्राफिक प्रहरी बिट शनिश्चरेका इञ्चार्ज असई डिल्ली तिम्सिना, शनिश्चरे प्रहरी चौकीका वरिष्ठ प्रहरी हवल्दार वेनुप्रसाद बाँस्कोटा, स्थानीय पर्शुराम खरेललगायतले दुर्घटना न्यूनिकरण गर्ने विषयमा आफ्नो धारणा राखेका थिए ।

सहभागीहरुले आ–आफ्नो निकायकोतर्फबाट दुर्घटना न्यूनिकरण गर्न पहल गर्ने, विभिन्न स्थानमा सचेतना बोर्ड राख्ने, सडकमा जेब्रा क्रसिङ बनाउनेलगायतका कार्यक्रमहरु सञ्चालन गर्ने बताइएको छ । स्थानीय मुक्तिनाथ सुवेदीले स्वागत गरेको कार्यक्रमको सञ्चालन समितिका सचिव नरेन्द्र खरेलले गरेका थिए ।
यता शनिश्चरे प्रहरी चौकीले दिएको जानकारी अनुसार चालु आर्थिक वर्ष ०७८÷०७९को असार २६ गते सम्म शनिश्चरे–बिर्तामोड सडक खण्डमा जम्मा २८ वटा सवारी दुर्घटना भएको छ । उक्त सवारी दुर्घटनामा चार जनाको मृत्यु र २४ जना घाइते भएका छन् ।





























