झापा, भद्रपुरका व्यवसायीले साप्ताहिक बजार बन्द गराउन अटेर गरेको पाइएको छ ।
झापा उद्योग वाणिज्य संघको निर्णय बमोजिम भद्रपुर बजार प्रत्येक बिहीबार बन्द गर्नुपर्ने नियम बनाइएको छ । तर, यहाँका व्यवसायीले संघको निर्णयलाई उल्लंघन गर्दै बिहीबारका दिन पनि बजार खुला राख्न थालेका छन् । नगरका व्यवसायीहरूले संघको निर्णय विपरीत पसल खोल्न थालेपछि त्यसकोबिरुद्ध मजदुर उत्रिएका छन् ।
अखिल नेपाल पसल मजदुर संघ नगर समितिले साप्ताहिक बजार बन्दको विषयमा झापा उद्योग वाणिज्य संघलाई ध्यानाकर्षण गराउँदै लिखित रूपमै ज्ञापन–पत्र बुझाएको छ । पसल मजदुर संघका अध्यक्ष पर्वत राजवंशी र सचिव रघुनाथ कर्मकारसहितको टोलीले बिहीबार बिहान संघका कार्यालय सचिव दुर्गा खतिवडालाई सो ज्ञापन–पत्र बुझाएका हुन् ।
सरकारले पनि हप्तामा एक दिन देशभर सार्वजनिक बिदा दिने नियम बनाएको छ । तर, यहाँका व्यवसायीले साताभरि पसल खुला राख्दा पसलमा कार्यरत मजदुरहरू बिदा पाउनुबाट बञ्चित हुनु परेको छ । ‘हामीले हप्तामा एक दिन बिदा पाउनु पर्छ, यो नियम वाणिज्य संघले बनाएको हो’– नगरअध्यक्ष राजवंशीले भने– मजदुर संघको माग सम्बोधन नभए कडा संघर्षमा उत्रिन बाध्य हुनेछौं ।
वाणिज्य संघलाई माग सम्बोधन गर्न एक साताको अल्टिमेटम दिएको बताउँदै संघका सल्लाहकार भोला चम्लागाँईले भने– ‘अर्को बिहीबार बजार बन्द नभए तालाबन्दी कार्यक्रममा उत्रिन्छौँ ।’
साथै सङ्गठित भएका पसल मजदुरहरूको एक भेलाले नयाँ समिति चयन गरेको छ । समितिको अध्यक्षमा पर्वत राजवंशी, उपाध्यक्षमा मोना मित्र, सचिवमा रघुनाथ कर्मकार, सहसचिवमा सुनिल राजवंशी र कोषाध्यक्षमा प्रकाश कामती रहेका छन् ।
त्यस्तै सदस्यहरूमा दिलीप सहनी, हंश राजवंशी, सर्फराज खान, कृष्ण राजवंशी, नेत्र साह बानिया, देवा राजवंशी रहेका छन् । त्यस्तै सल्लाहकारमा सुरज कामती, निखिल घोष र भोला चम्लागाँई रहेका छन् ।































