झापा ।

पछिल्लो समय झापामा सुपारी खेती विस्तार हुने क्रम बढेर गएको छ । खेती विस्तारसँगै उत्पादन बढेपछि सुपारी खेतीमा कृषकको आर्कषण बढेको हो । योसंँगै सुपारी प्रशोधन र प्याकेजिङ्ग मेसिनबाटै गर्न थालिएको छ ।
यस बर्ष सुपारीजोन कार्याक्रमबाट मेसिन खरिदमा ८० लाख रुपैयाँ अनुदान लिएर किसानले सुपारी खेतीलाई उद्योगतिर लान थालेका हुन् । जिल्लामा पछिल्लो समय सुपारी खेती विस्तार हुने क्रम बढेर गएको छ ।
सुपारी खेतीमा लागेका किसानहरु उद्योगतिर लाग्न थालेको अनुदानमा उद्योग सञ्चालन गरेका मेचीनगर –४ का केदार निरौलाले बताए । निरौलाका अनुसार अहिले सुपारी उक्काउने, काट्ने र आवश्यकता अनुसारको प्याकेजिङ्ग गर्ने मेसिन सञ्चालन गर्न थालिएको छ । यस अघि हातको भरमा परम्परागत तरिकाले प्रशोधन गर्दै आएकोमा मेसिन आएपछि जनशक्तिको अभाव परिपूर्ति भएको उनले बताए ।
केही बर्ष अघिसम्म हातले काटेर वा उसिनेर पराम्परागत तरिकाले सुपारी प्रशोधन गर्ने गरिन्थ्यो । तर जिल्लामा सुपारी जोन सञ्चालन भएको ४ बर्षमा आइपुग्दा सिञ्चाई, गोदाम घर र प्रविधिसमेत अनुदानमा उपलव्ध हुन थालेपछि किसानहरु उद्योगतिर लागेको सुपारी जोन कार्यान्वयन इकाइका प्रमुख रवीन्द्र सुवेदीले बताए ।
सुवेदीका अनुसार यस बर्ष दुनाटपरीका दुई वटा उद्योगलाई ४० लाख र प्रशोधनका दुई वटा उद्योगलाई ४० लाखको मेसिन खरि गर्न अनुदान उपलव्ध गराइएको छ । अनुदान पाएका कृषि सहकारी तथा समूहले ५० प्रतिशत लगानी थप गरेर मेसिन खरिद गरी सञ्चालन गर्न थालेको दुनाटपरी उद्योग सञ्चालन गर्दै आएका मेची नगर –५ को मल्टी प्रोडक्सनका सञ्चालक यमप्रसाद निरौलाले बताए ।
सुपारीको माग र बजार दुवै पछिल्लो समय बढ्दै गएको छ । नेपालमा ८ देखि १० अर्वसम्मको कारोवार हुने सुपारी खेतीमा राज्यले आवश्यक बजेट उपलव्ध गराउन नसकेको सुपारीजोन समन्वय समिति झापाका संयोजक निलकण्ठ तिवारीले बताए ।
तिवारीका अनुसार यस बर्ष नेपालको सवैभन्दा धेरै खेती हुने जिल्लामा ४ वटा सुपारी उद्योगमा मात्र सहयोग गर्नुले खासै खेतीको प्रगति हुन सकेको छैन । साँच्चै सुपारीको विकास गर्ने हो भने सिञ्चाई र उत्पादनका आधारमा अनुदान दिनु पर्ने उनले बताए ।
झापामा झण्डै ३ हजार हेक्टर हाराहारी क्षेत्रफलमा सुपारी खेती हुन थालेको छ । पछिल्लो समय मूल्य र माग बृद्धि भएसँगै प्रशोधनमा मेसिनको प्रयोग बढ्न थालेपछि सुपारी खेतीमा आकर्षण बढ्दै गएको किसानले बताएका छन् ।































