काठमाडौं ।

चीनले कब्जा गरेको भूमि फिर्ताको माग गर्दै राष्ट्रिय एकता अभियानले भूमि व्यवस्थामन्त्री शशि श्रेष्ठलाई ज्ञापन पत्र बुझाएको छ ।
अभियानका केन्द्रीय अध्यक्ष विनय यादवसहितको टोलीले सिंहदरबारस्थित भूमि व्यवस्था, सहकारी तथा गरिबी मन्त्रालयमा मन्त्री श्रेष्ठलाई ज्ञापनपत्र बुझाएको हो ।
हालै गोरखाको चुमनुब्री गाउँपालिका–१ को रुइला नाकामा चीन सरकारले दुई देशीय समन्वय नगरी तारबार लगाएको समाचारहरूप्रति राष्ट्रिय एकता अभियानले मन्त्री श्रेष्ठलाई ध्यानाकर्षणसमेत गराएको छ ।
‘अन्तर्राष्ट्रिय कानून र मूल्यमान्यताको उल्लंघन गर्दै नेपाल–चीन सीमाको रुइलालगायतका विभिन्न क्षेत्रमा भैइरहेको अतिक्रमण दुई देशबीचको मित्रताको अपमान मात्र नभई सम्पूर्ण नेपालको सार्वभौमसतामाथि नै ठाडो चुनौती हो ।’ अध्यक्ष यादवले ज्ञापनपत्रमा भनेका छन्, ‘चीनद्वारा नेपालको भौगोलिक अखण्डतामाथि पटक पटक हुने प्रहारको जति निन्दा गरे कम हुन्छ ।’

























