सीमानाकामा बिताएको एक वर्ष

0
923

विश्वव्यापी महामारी कोरोना भाइरस (कोभिड –१९)को चपेटाबाट नेपाल पनि अछुतो रहन सकेन । लामो नाकाबन्दी पश्चात नेपालको पूर्विद्वार काँकरभिट्टा नाकामा नेपाल रेडक्रस सोसाइटीको ‘Covid-19 Response Program’ अन्तर्गत मिति २०७८ असार २३ गतेबाट सामाजिक सेवा अन्तर्गत स्वयम्सेवकका रूपमा निरन्तर रूपमा एक वर्षसम्म अविछिन्न रूपमा कार्यसम्पादन गर्दै गर्दा भेटिएका वा पाइएका अनुभवहरूलाई सम्झिँदै गर्दा थप अनुभव र सूचाङ्कहरूको बोध भएर आउँछ ।

भयावह प्राणघातक महामारी केही सहज हँुदै गर्दा जुन जिम्मेवारी पाइयो त्यो आफ्नो लागि गौरवकै विषय भए पनि चुनौति पनि उत्तिकै रहेको महशुस गर्दै अत्यन्तै होसियारीका साथ स्वास्थ्य मापदण्ड अपनाउँदै कार्य सम्पादन गर्नुपर्ने स्थितिलाई अत्मसाथ गर्नै प¥यो । नाकामा वारिपारी गर्ने संख्या अघिल्लो समयभन्दा पछिल्लो समयमा क्रमश बढ्दै गएको पाइयो ।

त्यसै पनि कोभिडको सन्त्रास सबैतिर फैलिरहेको अवस्थामा सामाजिक दूरी कायम गराउँदै भिडभाड कम गराउनु, आवत–जावत गर्ने व्यक्तिहरू र तिनका सामानहरू सेनिटाइज गरिदिने, माक्स बाँड्ने, खोपकार्ड तथा एन्टिजेन/पीसीआर रिपोर्टका आधारमा गन्तव्य तय गराउने, सूची तयार गरी रेकर्ड वास्तविक रूपमा राख्ने एन्टिजेन/पीसीआर रिपोर्ट नभएको खण्डमा नाकामै एन्टिजेन परीक्षण गरी पोजेटिभ आएकाहरूलाई कोभिड हस्पिटलसम्म रेडक्रसको एम्बुलेन्सबाट पु¥याउने काम सुन्दा सामान्य लागे पनि कम जोखिमको थिएन ।

यद्यपि सफलताका साथ सुरक्षित भएर काम गरिरहँदा तेस्रो लहरको ‘ओमिक्रोन’ नामक भाइरसले भने धेरै त्रसित बनायो । नाकामा नियमित कार्य सँगसगै यात्रुहरूको सुरक्षाका लागि स्थानीय मेचीनगर नगरपालिकाको सहयोगमा कोभिड–१९ विरुद्धको खोप लगाउने कार्य भर्खरै मात्र शुरु हुँदै गर्दा देखापरेको यो लहरबाट हाम्रा केही सहकर्मी साथीहरू पनि अछुतो रहनु भएन । त्यो परिस्थितिलाई पनि हामीले सुरक्षा मापदण्डलाई थप कडा बनाएर निरन्तर आफ्नो कार्यमा लागि परेर पार गरायौं ।

हाम्रो यो कार्यक्रमले यात्रुहरुको यात्रालाई धेरै सहज र सुरक्षित बनाएको पायौं । त्यसो त निरन्तर रूपमा नाकामा बस्ने सुरक्षाकर्मीहरुलाई समेत यो कार्यक्रमले निकै सहयोग मिलेको हुनुपर्दछ । विशेषगरी अध्ययन गर्ने सिलसिलामा, उपचार गर्ने सन्दर्भमा अनि आफन्त भेटघाट, घर जाने र व्यापार–व्यवसायको सिलसिलामा यस काँकरभिट्टा नाकाबाट दैनिक सरदर एक हजार पाँच सयको संख्यामा नेपाल–भारत आवत–जावत गर्ने गरेको पाइयो । उल्लेखित अवस्थामा कतिपय घाममा गलेर आएका मानिसहरू नियमन गरिँदा अलि झर्किनु तथा मानसिक सन्तुलन गुमाएका व्यक्तिहरूसँग सोधपुछ गर्न निकै कठिन हँुदोरहेछ ।

समग्रमा एक वर्षसम्म यस कार्यक्रममा सेवारत रही भर्खरै मात्र सेवाबाट बाहिरिरहँदा अहिलेसम्म कै अनुभवले के सन्देश प्राप्त भयो भने जुनसुकै बेला फेरि पनि संक्रमण बढ्न सक्ने भएको र पछिल्लो डेटाहरुले सूचित गरिरहँदा नाकाबाट वारपार गर्ने मानिसहरूमा भएको परीक्षण र सचेतनाबाट समुदायमा पक्कै पनि उपलब्धी हासिल नै भएको पाइयो । जनचासो, सतर्कता, सावधानी कायम गर्दै कार्यक्रमले यत्रो जोखिमका बीच सफलता हासिल गरिरहँदा हाम्रो टिमले निश्चय पनि गौरव गर्नै पर्छ ।

नियमित रूपमा हाजिर भई आफ्नो जिम्मेवारी इमान्दारीपूर्वक सम्पादन गर्दैगर्दा आफूलाई सधैँ ड्यूटीमा अपडेट गर्ने बानीको विकास म आफूलाई समेत गरेको भान अवश्य भएको छ । नाका के हो ? त्यहाँ कस्ता–कस्ता मान्छेहरू आउँदा–जाँदा रहेछन् ? उनीहरुको अवस्था र समस्यालाई सहजीकरण गर्ने अवसरले धेरै कुरा सिकाएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here