झापा ।

गौरीगञ्ज गाउँपालिकाले आर्थिक वर्ष २०७९/०८० को लागि कूल ४९ करोड २ लाख ४७ हजार ९ सय ९५ रूपैयाँ बजेट विनियोजन गरेको छ ।
गाउँपालिकाका प्रवक्ता बद्रीनारायण यादवले उक्त बजेटको विवरण बुधवार पत्रकार सम्मेलन गरी सार्वजनिक गरेका हुन् । गौरीगञ्ज गाउँपालिकाको ११औ गाउँसभा मार्फत उक्त वजेट पारित गरिएको हो ।
गाउँपालिका अध्यक्ष फूलवती राजवंशी, उपाध्यक्ष पुजन न्यौपाने, प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्कीलगायत वडाध्यक्षहरू कार्तिकलाल राजवंशी, किनालाल राजवंशी, श्रवण गिरी, बिजयसिंह गनगाँई, फेका गिरी, कार्यपालिका सदस्यहरू अघनुप्रसाद राजवंशी, राधा अधिकारी, रमकुमारी विक, सन्तलाल ताजपुरिया, रिता तामाङलगायतको उपस्थिति थियो । गाउँपालिकाले कूल बजेटको ६५.६४ प्रतिशत चालू खर्च र ३४.३६ प्रतिशत पुजीँगत खर्च गर्नेगरी बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत कृष्ण कार्कीले जानकारी दिए ।
उनले कूल बजेटको सबैभन्दा बढी वजेट सामाजिक विकासतर्फ ४२.२० प्रतिशत छुट्याएको बताए । सामाजिक विकासतर्फ स्वास्थ्य, शिक्षा, सरसफाई, लैङ्गिक समानता पर्दछ । त्यसैगरी पूर्वाधार विकास तर्फ २५.८२ प्रतिशत, आर्थिक विकासतर्फ ७.५५ प्रतिशत, कार्यालय सञ्चालन तथा व्यवस्थापनतर्फ १९.७१ प्रतिशत, सुशासनतर्फ ४.७२ प्रतिशत आधार मानेर बजेट विनियोजन गरिएको प्रमुख प्रशासकीय अधिकृत कार्कीले जानकारी दिए ।
गाउँपालिकाले गौरीगञ्ज–२मा निर्माणाधीन कछुवा संरक्षण सिमसार क्षेत्रलाई निरन्तरता दिँदै थप व्यवस्थापन गर्ने, भूमिहीन, दलित तथा अव्यवस्थित सुकुम्बासीलाई जग्गाधनी पुर्जा प्रमाण–पत्र दिलाउने कार्यलाई अघि बढाउने, ११ र १२ कक्षामा अध्ययनरत् सामुदायिक विद्यालयका विद्यार्थीलाई निःशुल्क शिक्षा प्रदान गर्नेे, प्राथमिक स्वास्थ्य केन्द्रको सेवालाई प्रभावकारी बनाउने, गर्भवती महिलालाई नजिकको सेवा केन्द्रसम्मको लागि निःशुल्क एम्बुलेन्स सेवा प्रदान गर्ने, दुःखको साथी भरोसा राखौं गाउँपालिकामाथि कार्यक्रमलाई निरन्तरता दिने, छोरी जन्मिँदा उनको नाममा बाल बचत खाता खोल्ने, सर्पदंशको सम्पूर्ण खर्च गाउँपालिकाले व्यहोर्ने, ५ लाख रूपैयाँसम्मको रकमको योजना वार्ड कार्यालयमै सम्झौता गर्ने, प्रत्येक बर्ष उत्कृष्ट कर्मचारीलाई प्रोत्साहन स्वरूप पुरस्कृत गर्ने, स्थानीय भाषा, कला, संस्कृतिलाई संरक्षण गर्नेलगायतका योजनाहरू प्राथमिकतामा राखेर अघि बढ्ने गाउँपालिकाका प्रवक्ता बद्री नारायण यादवले जानकारी गराए ।
त्यसैगरी गाउँसभामार्फत प्रत्येक वार्डलाई सिलिङ्ग बजेट पारित गरेको छ । वार्ड नं. १ लाई ४५ लाख, वार्ड नं. २ लाई ४० लाख, वार्ड नं. ३ लाई ४० लाख, वार्ड नं. ४ लाई ४० लाख, वार्ड नं. ५ लाई ४० लाख र वार्ड नं. ६ लाई ४० लाख रूपैयाँ बजेट विनियोजन गरेको बताइएको छ ।































