बिर्तामोडमा फोहोर व्यवस्थापनका लागि कार्यदल

0
375

बिर्तामोड ।

बिर्तामोड नगरपालिकाले फोहोरमैला विर्सजन गर्ने स्थलको व्यवस्थापन गरी अल्पकालीन समस्या समाधानका लागि कार्यदल गठन गरेको छ ।

नगरप्रमुख पवित्रा महतारा प्रसाईको अध्यक्षतामा बसेको कार्यपालिकाको बैठकले नगर उपप्रमुख नगेन्द्रप्रसाद संग्रौलाको संयोजकत्वमा समिति गठन गरेको हो । समितिको सदस्यमा वडा नम्बर ७का वडाध्यक्ष कृष्णप्रसाद खरेल, वडा नम्बर ८ का वडाध्यक्ष अजय कार्की र वडा नम्बर १० का वडाध्यक्ष दूर्योधन गुरुङ्ग रहेका छन् ।

बैठकमा बोल्दै नगरप्रमुख प्रसाईले फोहोर व्यवस्थापनको समस्या विकराल हुनसक्ने भन्दै सबै एकजुट भएर व्यवस्थापनमा लाग्नुपर्ने बताए । बैठकले टोल विकास संस्थामार्फत सबै घरधनी र व्यवसायीलाई कुहिने र नकुहिने फोहोर छुट्याएर राख्न र फाहोर संकलन गर्ने गाडी आएपछि मात्र फोहोर बाहिर निकालेर दिन आग्रह गर्ने निर्णय पनि गरेको छ ।

कार्यपालिकाको बैठकले बिर्तामोड नगरपालिकाको शिक्षा ऐन जारी नभएसम्मका लागि शिक्षकहरुको अन्र्तपालिका र अन्तरजिल्लाको सरुवा रोक्ने निर्णय गरेको छ । शिक्षा ऐनको मस्यौदा तयार भएर छलफलको क्रममा रहेको र साउनको अन्तिमसम्ममा छलफल सकेर कार्यपालिकामा पेश गर्ने गरी काम भइरहेको प्रमुख प्रशासकीय अधिकृत विनोदकुमार न्यौपानेले जानकारी दिए ।

यस्तै चालू आर्थिक वर्षबाट सञ्चालन गरिने नगरस्तरीय तथा वडास्तरीय योजनाहरु ३ चरणमा विभाजन गरि योजनाहरुको लागत इस्टीमेट तयार गर्ने, सम्झौता गर्ने र सम्झौता भएका सबै योजनाहरुको अन्तिम फरफारक बैशाख मसान्तसम्ममा सम्पन्न गर्ने गरी कार्य योजना बनाएर कार्यान्वयन गर्न कार्यालयलाई निर्देशन दिने बैठकले निर्णय गरेको छ ।

बैठकले नगरपालिकाको निर्णय र क्रियाकलापहरुलाई सार्वजनिकीकरण गर्न वडा नम्बर १का वडाध्यक्ष अग्नीप्रसाद पाण्डेलाई प्रवक्ता तोकेको छ । वडाध्यक्ष पाण्डे यसअघिको कार्यकालमा पनि नगरको प्रवक्ता बनेका थिए ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here