झापामा १६९५ आपराधिक घटना

0
487

झापा ।

झापामा आर्थिक वर्ष २०७८÷०७९ मा एक हजार ६ सय ९५ वटा घटना घटेका छन् । जसमध्ये कर्तव्य ज्यानका १६ वटा घटना घटेका छन् । जिल्ला प्रहरी कार्यालय झापाले दिएको जानकारी अनुसार ज्यान मार्ने उद्योगका २७ वटा घटना घटेका छन् भने कर्तव्य ज्यानका १६ वटा घटना घटेका छन् ।

पछिल्लो एक वर्षमा ९७ वटा जवरजस्ती करणीका मुद्दा दर्ता भएका छन् भने करणी उद्योगमा २५ वटा मुद्दा दर्ता भएका छन् । त्यस्तै लागू औषधमा दुई सयवटा मुद्दा दर्ता भएका छन् । चार वटा हात हतियार तथा खरखजना मुद्दा दर्ता भएको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी नायव उपरीक्षक बसन्त पाठकले जानकारी दिए । यता अभद्र व्यवहारका २ सय ५७ वटा मुद्दा दर्ता भएका छन् । वहुविवाहका ३६ वटा मुद्दा दर्ता भएका छन् । पछिल्लो एक वर्षमा झापामा झापामा ३ सय १४ जनाले आत्महत्या गरेका छन् ।

त्यस्तै सवारी ज्यानका १०५, ठगीका २४, मानव बेचबिखनका ५, अन्य ५५८ गरी एक हजार ६ सय ९५ वटा घटना घटेका हुन् । जसमध्ये एक हजार दुई सय ७४ जना प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ भने घटनामा संलग्न तीन सय २४ प्रतिवादी फरार रहेकाले उनीहरुको खोजतलास भइरहेको जिल्ला प्रहरी कार्यालय झापाले जनाएको छ । जवरजस्ती करणीसहितका घटनामा संलग्न १२७ जनालाई प्रहरी पक्राउ गरेको छ भने ३१ जना अझै फरार रहेकाले उनीहरुको खोजी कार्य भइरहेको प्रहरीले जनाएको छ ।

प्रहरीका अनुसार जवरजस्ती करणी गरी मानव बेचबिखनको घटनामा एउटा मुद्दा दर्ता भएको छ भने कसुरजन्य कार्य गरेको (जजक) अन्तर्गत एक, अप्राकृतिक मैथुन १, बालयौन दुरुपयोग २४ र जवरजस्ती करणी उद्योगका २५ गरी आर्थिक बर्ष ०७८।०७९मा एक सय ४८ वटा घटना घटेका हुन् ।

यता लागूऔषधका दुई सय वटा मुद्दा दर्ता भएकामा तीन सय ७ जनालाई पक्राउ गर्न सफल भएको प्रहरीले जनाएको छ । पक्राउ परेकाहरुको साथबाट डाइजेपाम ४८० एम्पुल, लुपिजेसिक ६९० एम्पुल, फेनारगन ६०७ एम्पुल, नाइट्रोसन÷नाइट्रोभेट १५५४÷१३८७९ चक्की, ब्राउनसुगर १.४१ किलोग्राम, गाँजा ४१ किलो २५ ग्राम, इएसकेयुएफ ७५ वोटल, अफिम ११ ग्राम, चरेश ६ ग्राम, प्रोप्रालोल चक्की १७६, ऐल्टोरेक्स ५ बोतल, स्पासोप्रोक्सविन ४४९ चक्की र अन्य चक्की १३६५ प्रहरीले बरामद गरेको हो ।

यता अदालतको फैसला बमोजिम दुई सय २४ जना फरार प्रतिवादी पक्राउ परेका छन् । जिल्ला अदालत झापाको निर्देशन फैसला कार्यान्वयन विशेष अभियानमा प्रहरीले एक करोड ६८ लाख ५२ हजार ४ सय ८० रुपैयाँ जरिवाना र कैद सजाय १६२ बर्ष सात महिना १९ दिन तथा बाँकी एक हजार तीन सय ९१ रहेको जनाएको छ ।

प्रहरीले पछिल्लो एक बर्षमा अवैध काठ तस्करी नियन्त्रणमा समेत उल्लेख्य सफलता हात पारेको छ । प्रहरीले एक हजार दुई सय ६८ क्यूविकफिट परिमाणको काठ बरामद गर्दा ४० लाख ५७ हजार ५ सय ३६ रुपैयाँ राजश्व संकलन भएको जनाएको छ । काठ चोरीमा संलग्न १३ वटा सवारी साधन र १२ जना मानिसलाई पक्राउ गरिएको बताइएको छ । झापामा सबैभन्दा धेरै भदौ र असोज महिनामा १८२÷१८२ क्यूविकफिट काठ बरामद गरेको हो भने असोजमा मात्रै ६ वटा सवारी साधन प्रहरीले नियन्त्रणमा लिएको हो ।

नदीजन्य उत्खनन् नियन्त्रण सम्बन्धी गरेको कार्वाहीमा ५६ वटा ट्याक्टर कार्वाहीमा परेका छन् भने तीन वटा ट्रक, सात वटा टिपर, चारवटा जेसीभीसहित ७० वटा सवारी साधन कार्वाहीमा परेका छन् । जसबाट सात लाख ३७ हजार पाँच सय रुपैयाँ राजश्व संकलन भएको छ भने ५ जनालाई प्रहरीले नियन्त्रणमा लिएर कार्वाही गरेको बताइएको छ ।

प्रहरीले अवैध सामान नियन्त्रण र भन्सार दाखिलामा समेत उल्लेख्य राजश्व संकलन गरेको छ । जसबाट प्रहरीले ५ करोड ८५ लाख २५ हजार ४३ रुपैयाँ राजश्व संकलन गरेको हो । प्रहरीका अनुसार कस्मेटिक १० लाख सात हजार पाँच सय ९५, किराना २२ लाख ३७ हजार आठ सय ५०, लत्ताकपडा एक करोड २८ लाख ९७ हजार ९३ रुपैयाँ, सवारी पाट्र्स ७१ लाख ५८ हजार दुई सय २० रुपैयाँको बरामद गर्दै भन्सार बुझाएको बताइएको छ ।

त्यस्तै विद्युतीय पाट्र्स समेत प्रहरीले बरामद गरेको छ । पछिल्लो एक बर्षमा प्रहरीले २१ लाख १० हजार ९५ रुपैयाँको विद्युतीय पाट्र्स बरामद गरेको हो । अन्य सामग्रीमा दुई करोड ७३ लाख ७४ हजार आठ सय ८० रुपैयाँ बराबरको सामान बरामद भएको प्रहरी नायव उपरीक्षक पाठकले जानकारी दिए ।

पाठकका अनुसार ८ लाख ७५ हजार दुई सय ६० रुपैयाँको सूर्तीजन्य सामग्री बरामद भएको छ भने दुई लाख ५० हजार रुपैयाँ बराबरको पशु चौपाया र नेपालभित्रबाट ५ लाख ५३ हजार तीन सय ५० रुपैयाँको विभिन्न सामग्री बरामद भएको छ ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here