बिर्तामोड ।

झापामा लागूऔषधको प्रयोगसँगै अन्य अपराधका घटना बढ्दै गएका छन् । केही समयअघि इलाका प्रहरी कार्यालय अनारमनीले मोटरसाइकल चोरीमा संलग्न गिरोह नै पक्राउ गर्न सफल भयो तर, प्रहरी जब चोरीका मोटरसाइकल पक्राउ गर्न ग्यारेज पुग्यो तब चोरीमा संलग्न गिरोह लगूऔषध कारोबारमा समेत संलग्न रहेको तथ्य खुल्यो । प्रहरी अपराधमा संलग्नहरु लागूऔषधको कूलतमा फस्दै गएर र लागूऔषधकै कारण अन्य अपराधका घटना बढ्नेतर्फ चिन्तित देखिएको छ ।
बढ्दो शहरीकरणसँगै झापामा लागूऔषधको व्यापार फस्टाउँदो छ । प्रहरीले एक वर्षमा दर्जनौँ अपराधका मुद्दा दर्ता गरेको छ भने उत्तिकै संख्यामा लागूऔषधमा संलग्न व्यक्तिहरुलाई कानूनी दायरामा समेत ल्याएको छ । पछिल्लो समय इलाका प्रहरी कार्यालय अनारमनीले लागूऔषध प्रयोगकर्ता तथा बिक्रेताहरुलाई धमाधम पक्राउ गरिरहेको छ । लागूऔषधको सेवनकै कारण अपराध बढ्न थालेको निष्कर्षमा पुगेको प्रहरीले लागूऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको इलाका प्रहरी कार्यालय अनारमनीका प्रहरी नायव उपरीक्षक रुगम कुँवरले बताए ।
उनले युवा पुस्ता लागूऔषधको दलदलमा फस्दै गएकाले त्यसलाई सुधार गर्न सबै पक्ष एक भएर लाग्नुपर्ने प्रहरी नायव उपरीक्षक कुँवरको भनाइ छ । उनका अनुसार आर्थिक वर्ष २०७८÷०७९ को एक वर्षमा ८० जनालाई पक्राउ गरिएको छ । प्रहरीले लागूऔषध सम्बन्धी ५२ वटा मुद्दा दर्ता गरेको जनाएको छ । डीएसपी कुँवरका अनुसार यीमध्ये सबैभन्दा धेरै २०देखि ३० वर्ष उमेर समूहका रहेका छन् ।
प्रहरीले उक्त उमेर समूहका ४५ जनालाई पक्राउ गरेको छ । त्यस्तै २० वर्षमुनिका १८ जना र ३० वर्ष माथिका १७ जनालाई पक्राउ गरिएको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय अनारमनी क्षेत्रमा मात्रै एक वर्षको अवधिमा ८० जना पक्राउ पर्नु समाजका लागि ठूलो चुनौतिको विषय बनेको प्रहरीले जनाएको छ ।
लागूऔषधले अर्को अपराध जन्माइरहेछ
इलाका प्रहरी कार्यालय अनारमनीका डीएसपी कुँवर भन्छन्– लागूऔषधले अर्को अपराध जन्माइरहेको छ । कानूनी दायरामा ल्याएर मात्रै लागूऔषध ओसारपसार र प्रयोगकर्ताको संख्या दीर्घकालीन रुपमा न्यूनीकरण नहुने उनको तर्क छ ।
‘लागूऔषध एउटा समस्या हो, यसले अरु अपराध पनि जन्माइरहेको छ’– उनले भने– ‘लागूऔषध प्रयोगकर्ताले समूह बनाएरै चोरी, लुटपाट, ठगी गर्ने जस्ता काम पनि गरिरहेकाले झापामा यसको चुनौति ठूलो छ ।’ दिनहुँजसो लागूऔषध प्रयोगकर्ता र कारोबारी पक्राउ पर्ने गरेको प्रहरीको तथ्यांकमा रहेको उनले बताए ।
‘प्रहरी संगठनबाट सही दिशामा ल्याउने प्रयासहरु भएका छन्, तर त्यति मात्रै पर्याप्त छैन, कानूनी दायरामा ल्याएर मात्रै यसको दीर्घकालीन समाधान हुँदैन’– डीएसपी कुँवरले भने– ‘छिटो पैसा कमाउने उद्देश्य र नशामा डुबेकाहरुले लागूऔषधबाट छुटकारा पाउनै सकिरहेका छैनन्, विशेषगरी शहरी क्षेत्रमा यो समस्या ठूलो छ ।’ लागूऔषधका कारण अन्य अपराधहरु बढ्न थालेको प्रति स्थानीय तह, अभिभावक, विभिन्न सामाजिक संघ–संस्था, नागरिक समाज सबै जिम्मेवार बन्न जरुरी रहेको डीएसपी कुँवरको भनाइ छ ।
छिटो धनी हुन खोज्ने र प्रयोकर्ताहरु नशामा डुब्ने भएकाले लागूऔषधको कारोबार पछिल्लो समय बढ्दै गएको प्रहरीको भनाइ छ । भारतसँग खुला सीमा रहेको झापामा लागूऔषधको धेरै कारोबार हुने प्रहरीको तथ्यांक रहेको उनको दावी छ । ‘कतिपय मानिसहरु लागूऔषध ओसारपसारमा प्रयोग भएका छन्, केही मानिसहरु त भरियाकै रुपमा मात्रै पनि रहेका छन्’– उनी भन्छन्– ‘सामान पु¥याए बापत पैसा दिने चलन छ, यसभित्र ठूलो जालो छ जालोमा छिरेपछि निस्किनै सक्दैनन्, एउटा पैसा र अर्को नशा नै यसको कारण हो ।’
उत्पादक र उद्गमस्थलमै पुगेर लागूऔषध न्यूनीकरण गर्न आवश्यक रहेको उनको भनाइ छ । लागूऔषध नियन्त्रणका लागि सीमा क्षेत्रमा सुरक्षा ब्यवस्था कडा बनाउनका साथै दुवै देशका सुरक्षाकर्मीबीच समन्वय गरेर कडा निगरानी गर्नुपर्ने डीएसपी कुँवरको भनाइ छ । भारतबाट ब्राउन सुगर लगायतका लागूऔषध नेपाल भित्रिने गरेको प्रहरीले जनाएको छ ।
विद्यार्थी पढाउदै प्रहरी
लागूऔषधको प्रयोगका कारण किशोर अवस्थाका युवा–युवती कुलतमा फस्दै गएको भन्दै सचेतनाका लागि इलाका प्रहरी कार्यालय अनारमनीले बिर्तामोड लगायका क्षेत्रमा रहेका विद्यालय तथा कलेजहरुमा लागूऔषध विरुद्धका सचेतनामूलक कक्षाहरु सञ्चालन गरिरहेको डीएसपी कुँवरलेले जानकारी दिए ।
इलाका प्रहरी कार्यालय अनारमनीको नेतृत्व सम्हाले लगत्तै डीएसपी कुँवरले लागूऔषध नियन्त्रणलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको र हालसम्म १० वटाभन्दा धेरै कलेज तथा विद्यालयहरुमा लागूऔषध विरुद्धका सचेतनामूलक कक्षाहरु सञ्चालन गरिसकेको बताए ।
अभिभावक नै जिम्मेवार
लागूऔषध नियन्त्रणका लागि अभिभवाक नै जिम्मेवार बन्नुपर्ने डीएसपी कुँवरको भनाइ छ । आफ्ना नानीहरुको व्यवहारलाई नियाल्नुपर्ने भन्दै कूलतमा फस्न थालेको थाहा पाए तुरुन्त सुधार गृह पठाउनुपर्ने उनले सुझाव दिए ।
आफ्ना छोराछोरीको व्यवहार तथा दैनिकीलाई वेवास्ता गर्ने, उनीहरुले मागे जति रकम दिने तथा उनीहरु कहाँ जाँदैछन् खोजी नगरी उनीहरुलाई मात्रै विश्वास गर्ने हो भने यसले लागूऔषध हुँदै अन्य अपराधमा समेत फस्ने खतरा बढी हुने भएकाले अभिभावक नै जिम्मेवार बन्नुपर्ने डीएसपी कुँवरको भनाइ छ ।































