सचेत बनौं ! संक्रमण फेरि बढ्दैछ

0
224

कोरोना भारइसको संक्रमण अहिले तीव्रगतिले बढ्दै गएको छ । विश्वका एक सयभन्दा बढी देशमा फैलिएको कोरोना नेपालमा पनि विस्तार भइरहेका कारण स्वास्थ्य मापदण्डको पालना गर्न जनस्वास्थ्यविद्हरुले अनुरोध गरिरहेका छन् । दिनहुँ संक्रमण बढ्दै जानु र संक्रमित तथा गम्भीर प्रकृतिका विरामी थपिँदै जानुले यसले पुरानो रुप नलियोस् त्यसप्रति आममानिसले पनि सजगता अपनाउन जरुरी छ । स्वास्थ्य मन्त्रालय एवम् विज्ञहरुले कोरोना संक्रमण दर पाँच प्रतिशतभन्दा कम हुँदा मात्र संक्रमणको अवस्थालाई सामान्य मानेका छन् । यसरी हेर्दा गत असार अन्तिम सातादेखि नेपालमा कोरोना संक्रमण दर पाँच प्रतिशतभन्दा माथि छ, त्यसैले यो अवस्था अत्यन्त सचेत, सजग र प्रतिरक्षाको उपायको अवलम्बन गर्ने अवस्था हो ।

अहिले लगातार बढिरहेको संक्रमणले कोरोनाको उत्परिवर्तनको अर्को श्रृंखलाको संकेत गरेको जनस्वास्थ्यविद्हरुले बताएका छन् । शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालका सरुवा रोग विशेषज्ञ डा. शेरबहादुर पुनले अहिलेको संक्रमणलाई चौथो लहरको रुपमा लिएका छन् । साउन यता मात्रै सोह्र जना कोरोना संक्रमितको मृत्यु भइसकेको छ भने ती मध्ये ७६ प्रतिशतले कोरोनाविरुद्धको एउटा पनि खोप नलगाएको बताइएको छ । संक्रमण शुरु भएदेखि अहिलेसम्ममा एघार हजार नौ सय चौहत्तर जनाको कोरोनाकै कारण मृत्यु भइसकेको छ । बढ्दो संक्रमण दरका बीच अहिले पनि खोप अभियान निरन्तर सञ्चालन भइरहेको छ । सरकारले खोपको मात्रा पूरा गर्न र खोप नलगाएकाहरुलाई संक्रमणबाट जोगिन खोप लगाउन अनुरोध गरिरहेको छ ।

विगतमा संक्रमणको दर क्रमशः ओरालो लाग्दै गएपछि हाम्रो जीवनशैली पनि फेरिएको छ । हामी जनस्वास्थ्यका मापदण्डको पालनामा उदासीन बन्दै गएका छौं । भीडभाडमा नजाने, सरसफाईमा ध्यान दिने, भौतिक दूरी कायम गर्ने, सेनिटाइजरको प्रयोग वा साबुनपानीले हात धुने जस्ता स्वास्थ्य मापदण्डको पालना गर्न छाडिएको छ । छिमेकी देश भारतमा बढ्दै गएको संक्रमणको असर हामीकहाँ सोझै पर्ने विगतको तथ्यलाई अनुभूत गरेर सचेतना अपनाउन सजग हुनैपर्छ । संक्रमणलाई नियन्त्रण गर्न सकिएन भने आउँदा पर्वहरुले महामारी अझै बढाउने छ । अझ खोपको दायरामा नआएका बालबालिकाहरुलाई यसको संक्रमणबाट सुरक्षित राख्न परिवारले नै सतर्कता अपनाउन जरी छ । अन्यथा सम्भावित जोखिमबाट कोही सुरक्षित हुइने छैन ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here