रत्नबहादुर बस्नेत
हिन्दू मान्यता अनुसार साउन महिना भगवान शिवको प्रिय महिना हो । त्यसैले यो महिना शिवको विशेष उपासनाका लागि महत्वपूर्ण मानिन्छ । यतिखेर मानिसहरु शिवको विशेष पूजा–आराधना गर्दछन् । अर्थात् दत्तचित्त भई शिव साधनामा सहभागी बन्दछन् ।
यसैक्रममा शिवनामको मन्त्र, जप, ध्यान, पूजा, बोलबम यात्रामा जलार्पण गरी भक्तिभाव समर्पण गर्दछन् । यी भगवान् शिवको प्रशन्नता र प्राप्तिका लागि सहायक मानिन्छन् । आउनुहोस् यसै सन्दर्भमा हाम्रा साधनशास्त्रहरुमा उल्लेखित शिवलाई प्रशन्न पार्ने मुख्य साधन एवम् शूत्रका बारेमा संक्षेपमा जानकारी गरौं ।
शिवलाई प्रशन्न पार्ने मुख्य साधनमध्ये शिवको नामरुपी महामन्त्रको जपादिद्वारा पूजन जलार्पण गर्नसके उहाँको अनुकम्पा प्राप्त गर्न सकिन्छ । जप भन्नाले भगवान नाम वा मन्त्र जप भन्ने बुझिन्छ । जप शब्दको ‘ज’को अर्थ जन्मजन्मातरको र ‘प’को पापनाशक भन्ने हुन्छ । सर्वशास्त्रमयी गीतामा भगवान श्रीकृष्णले ‘यज्ञनांजपयज्ञास्मि’ भनेर जपलाई सर्वश्रेष्ठ यज्ञानुष्ठान भएको उल्लेख गर्नुभएको छ ।
भनिन्छ, परमात्माले भगवानको नाममा सम्पूर्ण शक्ति खन्याइ दिनुभएको छ । नामबाटै नामी प्राप्त हुनेभएकाले भक्त भगवानभन्दा पनि उहाँको नामलाई ठूलो मान्दछन् । शिवोपासनाको मूल मन्त्र मानिएको पञ्चाक्षरी मन्त्र ॐनमः शिवाय वा बोलबम (बम शिवको बीजमन्त्र)को निरन्तर उच्चारणबाट शिव दर्शन हुने शास्त्रमा बताइएको छ । नामजप केवल बोलबम यात्रामा मात्र होइन सर्वत्र गर्नुपर्दछ । शास्त्रमा भनिएको छ– कल्याणप्रद भगवान नाम जीवनभर उच्चारण गर्नुपर्छ । शिवनाम, रामनाम, हरिनाम, दुर्गानाम, कृष्णनाम उच्चारण गर्नुपर्छ । मानिस कल्याण र सुखबाट विमुख हुनुको मूल कारण भगवत तत्वमा श्रद्धा नहुनु नै हो । श्रद्धा नभएपछि भगवानमा रुची हुँदैन । रुचीबिना भगवान नाम जप ग्रहण गर्न सकिँदैन ।
तप वा तपस्या शंकर भगवानलाई प्रशन्न तुल्याउने अर्को महत्वपूर्ण साधन मानिन्छ । त्याग (काम, क्रोध, लोभ, मोहादि त्याग)को अर्को नाम हो तपस्या । परमात्माको चिन्तनमा शरीरलाई सुकाइदिनु तपस्या भनिएको छ । आत्मिक शान्तिको लागि शरीरलाई कष्ट दिएर भए पनि दुःख सहनुपर्छ । त्यस्तै कर्तव्यको पालना गर्दा व्यवहारिक जीवनमा आइपर्ने कठिनाई सहन गर्नुलाई वास्तविक तप भनिएको छ ।
घरबार त्यागेर एकान्त वनमा गई ध्यान गर्नुमात्र तप होइन । जीवनमा सर्वत्र तप आवश्यक छ । यिनै शास्त्रीय मर्मलाई चिन्तन गरेर अपनाउने व्यक्ति आसुतोष भगवान शिवको अनुकम्पाको भागी बन्न सफल हुन्छ । शिवको चिन्तनरुपी तपद्वारा इन्द्रादि देवता र दानवले समेत जस्तै पनि वर प्राप्त गरेको उदाहरण पाइन्छ । हाम्रो देश नेपाललाई नै शिव तथा ऋषिमूनीहरुको तपोभूमि मानिन्छ ।
देवाधिदेव महादेव सदाशिवलाई मनपर्ने अर्को प्रमुख साधन हो–ध्यान । ध्यानलाई योग मानिएको छ । ध्यान मानसिक क्रान्तिको साधन पनि हो । ध्यानी ज्ञानी नबनी उहाँको तात्विक, व्यापक स्वरुपलाई बोध गर्न सकिँदैन । भगवान शिवको तस्वीर तथा प्रतिमाहरु ध्यानमग्न र ध्यानमा मस्त भएको देखिन्छ । जुन उहाँको गुण तथा स्वभावको संकेत हो। जसले ध्यानयोगद्वारा अलौकिक ज्ञानधारा प्रवाहित गराइरहनु भएको छ। मन एकग्र बनाई इन्द्रीय संयम मा राखेर विवेकद्वारा शिवको स्वरुपको ध्यानको अभ्यास गर्नु जरुरी छ ।
ध्यान भनेको चित्तको एकाग्रतायुक्त अवस्था हो । मनमा उठ्ने संकल्प विकल्परुपी लहरहरुलाई रोक्नुको नाम हो ध्यान । चञ्चल मनको एकमात्र शत्रु हो ध्यान । शिवको रुप गुणको चिन्तन, स्मरण गर्दै ध्यान गर्नुपर्छ । उहाँको स्वरुप विचित्रको भएकाले पनि सम्झन सजिलो मानिएको छ । जसको लुगा छालाको, माला नागको, हातमा त्रिशूल र कमण्डलु तथा साढे वाहन तथा खरानी भूषण छ । त्यस्ता पार्वतीपति दिगम्बर शिवको ध्यान गर्नु शिवभक्त तथा साधकको कर्तव्य हो ।
प्रारम्भमा ध्यानमा मन नलागे पनि विवेक र अनुशासनको अंकुशले अभ्यास गर्दै गएमा ध्यानमा मन लगाउन सकिने बताइएको छ । दिनहूँ पाठ गरिएन वा अभ्यास गरिएन भने वेद पनि काम लाग्दैन भनिएको छ । भनिन्छ, जसरी बगिरहेको नदीको पानीमा आफ्नो प्रतिविम्ब देखिँदैन । तर, स्थिर तलाउको जलमा देखिन्छ ठीक त्यसरी नै स्थिर चित्तमा आत्मस्वरुपको ज्ञान हुन्छ । नदीको जल बाँध बाँधेर त्यसको शक्ति थाहा हुन्छ । मन एकग्र र स्थिर बनाएरै उसको शक्ति थाहा हुन्छ ।
त्यसैगरी शिवतत्व साक्षात्कार गर्ने मूल सूत्र वा साधन ज्ञानलाई मानिन्छ । सामान्यतः ज्ञान भनेको जानकारी हुनु वा थाह पाउनु हो । अतः शिवभक्तिका लागि हामीमा महेश्वर शिवका विषयमा ज्ञान वा जानकारी हुनु अत्यावश्यक छ । जुनसुकै वस्तु प्राप्तिका पनि सर्वप्रथम त्यसको जानकारी आवश्यक छ । जसलाई ज्ञानशक्ति पनि भनिन्छ । लक्ष्य प्राप्तिको एउटा सर्वमान्य सिद्धान्त पनि छ । जान्नु, मान्नु, प्रेम र प्राप्ति कुनै पनि विषयको जानकारी बिना त्यसको महत्व थाह हुँदैन । जानेपछि विश्वास पैदा हुन्छ । विश्वासपछि त्यसमा प्रेम र प्रेम (भगवत प्रेम)बाट प्राप्ति हुन्छ ।
शिवतत्व प्राप्तिको बाधकको रुपमा अज्ञान रहेको छ । परमेश्वर शिव सम्बन्धी ठिक–ठिक ज्ञान नभई उहाँप्रति श्रद्धा भक्ति जागृत हुँदैन । श्रद्धाहीन कर्म निष्फल हुन्छ । साधकले यसतर्फ विशेष ध्यान पुर् याउन जरुरी छ । गीतामा चार प्रकारका भक्त (आर्ती, अर्थार्थी, जिज्ञासु र ज्ञानी)मध्ये ज्ञानीभक्त नै सर्वश्रेष्ठ मानिएको छ । त्यसैले शिव भक्तिका लागि ज्ञान उत्तम साधन हो ।
शिवोपासना र प्रशन्नताको लागि ज्ञानपछि अर्को मुख्य एवम् महत्वपूर्ण साधन हो– शिवपूजन वा पूजा । ‘पूजा’ शब्दको ‘पू’ भनेको पुण्यकर्ममा र ‘जा’ भनेको जानु अर्थात् पुण्यकर्ममा जानु नै भगवानको पूजा हो । त्यसर्थ विधिविधान पूरा गर्नु मात्र पूजा होइन । अरुलाई बेवास्ता गरेर वा दुःख दिएर आफ्नो कर्तव्य पूरा नगरी फूल–अक्षता चढाउनुलाई पूजा भनिँदैन । मद्मपुराणमा सत्य, दया, पवित्रता, अहिंसा, धैर्य, मन वशमा राख्नु र इन्द्रीय संयम्लाई पूजाका वास्तविक आठ पुष्पका रुपमा उल्लेख गरिएको छ ।
सत्यवादी नबनी (मन्दिरमा पूजा गरेर बाहिर निस्किन साथ झुट, असत्य र छलतर्फ लाग्ने हो भने पूजा गर्नुको कुनै अर्थ छैन ।) मन र इन्द्रीय नियन्त्रण नराखी वास्तविक पूजा हुन सक्दैन । वस्तु अर्पण गरेर मात्र शिव प्रशन्न बन्नुहुँदैन । शिवको अर्थ हुन्छ– कल्याण । सबैप्रति कल्याणको भावना जागृत नभई न शिवको पूजा हुन सक्छ न त शिव तत्वको बोध नै । अतः हामी पनि यी अष्टभाव पुष्प अपनाएर शिवको सार्थक पूजा–आरागधना गरौं र जीवन कल्याणमय बनाऔं ।


























