यो शहर

0
448

रड र कंक्रिटको भरमा
आफूलाई एशियन र बरजर पेन्टले रंगाएर
सिसाको आँखी झ्यालबाट
उज्यालो प्रकाशलाई
चार वालभित्र निम्ता दिइरहने
अजिव–अजिवको बाग्लो ओडारहरुको
संग्रह हो यो शहर ।

मन, भावना अनि करुणा
कतै बन्दकी राखेर
छिन–छिनमा नै पैसाले चलिरहने
सानो मन लिएर ठूला घरमा बस्ने
सभ्य र बिकसित भनौदाहरुको
फोहरैफोहर उत्पादन गर्ने
कारखाना हो यो शहर ।

सुविधा सम्पन्न
हस्पिटल होला
बिद्यालय होला
फराकिलो सडक होला
भनौ अनेक अनेक सुविधा होला
तर, शिकार गर्न पल्किएकाहरुको
सक्रिया बथानहरु डुली हिँडने
कंक्रिटहरुको जंगल हो यो शहर ।

शहरबासीहरुको शरीरभित्र
बग्नु पर्ने हो अदुवा र बागमती
तर, यिनीहरु
भौतिक रुपमा नै बगिदिए
र त बगाउँदैछ
रहरहरु
बाध्यता, विवशताहरु
उन्मुक्त बैंशमा फक्रेका यौवनका रसहरु
अबैध बाउका मृत शिशुहरु
अनि कण्डम, निकोन, पिल्सका खोलहरु
थुप्प्रै–थुप्प्रै शहरका फोहरहरु
आफैसित बगाइरहेछ
तर, मनभित्र फोहर बोकेर
साइमुन्द्री र इन्द्रजाल बिच्छाइ रहेको
शालिक जस्तै छ यो शहर ।

बिर्तामोड, झापा

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here