तीज: पहिले र अहिले

0
546

तीज पनी आइपुग्यो अब त…
आँउछन् कि त माइती लिन बरी लै….!
जेलैमा हो जेलैमा चरी जेलैमा,

बीचबीचमा…लगायत हिन्दी गीतको तालमा नृत्य गर्दै गरेको भिडियो प्रायः सबैले देख्न पाइरहेका छौं । कतिपयलाई यो भिडियोहरु हेर्दा राम्रो लाग्छ भने कतिपयलाई नराम्रो पनि लागीरहेको होला ।

आजभोलि बिहान उठेर धारामा पानी लिन जाँदा मखमली फूलले छेकेको जस्तो पुरानो भाकाका लोकगीत नयाँ पुस्ताले त आजभोलि सुन्न पनि पाउँदैनन् । आजभोलि रत्यौली र दोहोरी भाकाका तीजका गिती क्यासेटहरु बढी मात्रामा बजारमा निस्किएको देख्न पाइन्छ । त्यही धुनमा दिदीबहिनीहरु कम्मर हल्लाएर नाचेको पनि देख्न सकिन्छ । लोकगीतकी गायिका हरिदेवी कोइराला भन्नुहुन्छ– ‘बेलैमा तीज गीतको भाकालाई संरक्षण गरेन भने भावी पुस्तालाई हस्तान्तरण गर्ने तीजको भाका नै हामीसँग हुँदैन’ –उनी भन्छिन्– ‘सांस्कृतिक र धार्मिक हिसाबले पनि तीजको भाकालाई संरक्षण गर्नु हामी सबैको दायित्व हो ।’

तीजको गीत पुरुषले दोहोरी गाउनुभन्दा महिलाले गाएको गीतमा हर्ष, खुशी, वेदना, पीडा, विरहलाई समेटेर गाएको गीत मनलाई छुएको हुन्छ । पहिला गाउँघरमा जनैपूर्णिमा वा कृष्ण जन्माष्टमीको बेलादेखि गीत–संगीत शुरु गरिएता पनि आजभोलि श्रावण महिनादेखि नाचगानको कार्यक्रम शुरु भएको देखिन्छ । तीज पर्व तीन दिनसम्म मनाउने चलन छ । पहिलो दिन दर खाने, दोस्रो दिन निराहार व्रत र तेस्रो दिन ऋषिपञ्चमी मनाउने चलन रहेको छ ।

तीजको पहिलो दिन दर खाने चलन रहेको छ । केही वर्ष अगाडिसम्म मात्र एकदिन दर खाने चलन थियो । तर, आजभोलि श्रावण महिनादेखि नै दर खाने चलनको शुरुवात भएको छ । दर खाने मुख्यतः खीर वा दूधबाट बनेको परिकार हुनुपथ्र्यो । दशकअघि दरमा खीर, खुवा लटे, पुरी–तरकारी, ढकनी, घिरिम्लार टुसाको सँगसँगै फलफूल, दही–मोही, सर्बत खाने गरिन्थ्यो । तर, आजभोलि पार्टी विवाहमा जुन परिकार खाइन्छ त्यहीखालको परिकार दरको रुपमा खुवाउने चलन चलेको छ । आजभोलि घरदेखि होटल, पाँचतारे होटल, रेस्टुरेन्ट, रिसोर्टमा तीजको कार्यक्रम हुन थालेका छन् । आजभोलि सबै संघ–संस्था, अस्पताल, हेल्थ सेन्टरहरुले पनि तीजको कार्यक्रम गर्न थालेका पाइएको छ । दर सँगसँगै सबै संस्थाको महिलाहरुको एकनासे साडी, कतिपयले डिजाइर साडी, तीलहरी लगायतका गरगहनादेखि मेकअपको पनि प्रदर्शन हुन थालेको छ । तर, हुनेखानेलाई त रमाइलो लाग्छ र कामकाजी महिला र निम्न आयस्रोत भएकी महिलालाई नराम्रो लाग्न सक्छ । उनीहरुमा हिनताबोधको भावना पनि आउँछ ।

तिथि अनुसार भाद्र शुक्ल तृतीयालाई हरितालिका तीज अर्थात् पूजाआजा, नाच्ने दिनको रुपमा लिनुका साथै हरितालिकालाई तीज किन भनिन्छ । हरितालिका संस्कृतको शब्द हरित र आलिकाबाट बनेको हो । जसको अर्थ क्रमशः अपहरण र महिला मित्र हो मा पार्वतीले यस दिन गंगा नदीको बालुवा र माटोबाट शिवलिंग बनाएर पूजा गरेकी थिइन् । कठोर साधना, तपस्या पश्चात महादेव प्रसन्न भएर पार्वतीलाई पत्नीको रुपमा स्वीकार गरेका थिए । अन्ततः पार्वती शिवसँग एकीकरण भइन् र उनका माता–पिताको आशीर्वाद प्राप्त गरेर उनको विवाह सम्पन्न भयो ।
त्यसकारण विवाहित महिलाले आफ्नो श्रीमानको दिर्घायु र मंगलको लागि निर्जला व्रत बस्ने गर्छन् । सँगै अविवाहित केटीले पनि महादेव जस्तो गुण भएको श्रीमान पाउन का लागि व्रत बस्ने गर्छन् । यस दिन सबै विवाहित महिला सोह्र (१६) श्रृंगार गरेर रातो साडी, गरगहना लगाएर नाचगान गरेर शिवालयमा पूजा गरेर यो व्रत मनाउने गर्छन् । पहिला–पहिला महिलाहरु यस दिन भजन–किर्तन गरेर निर्जला व्रत लिने गर्दथे । त्यही आजभोलिका महिलाहरुले पूजापश्चात फलफूल, पानी, सर्वत, दही, मिठाई खाएर व्रत लिने गर्छन् । यो समय अनुसारको बदलिएको रुपमा लिनुपर्छ । समयको गतिका साथ सबै कुरा बदलिन्छ, सोचाइमा परिवर्तन त सहज कुरा नै हो ।

तीजको तेस्रो दिनलाई ऋषिपञ्चमी भनिन्छ । अघिल्लो दिनको पूजा गरेपछि महिलाले साधुसन्त वा सप्तऋषिको पूजा गर्ने दिनको रुपमा लिइन्छ । यस दिन तनी सय ६५ दत्तविनको पातसहित पाइने रातो माटो, गोवर लगाएर नुहाउने गरिन्छ । यो कर्म यस पर्वको अन्तिम शुद्धीकरण हो । रजस्वला हुँदा अज्ञानताबस गरिएको पापको मुक्तिका लागि यो विधि गर्ने चलन रहिआएको छ । माटो र गोवरले गाईको शरीरका सबै अङ्गहरु शुद्ध गर्नु, चाल्नोमा गनौटो गनिएका तील, चामल, जल राखेर माथिबाट पानी खनाई नुहाउने यो दिनको मुख्य कार्य हो । यस पछाडि सप्तऋषिको पूजा गरिन्छ । पूजापछि आफूलाई शुद्ध र पवित्र भएको विश्वास गरिन्छ ।

हिन्दू नारीको महान चाड तीज पहाड तराईमा साझा पर्वको रुपमा मनाउने चलन छ । अब पहिलाको जस्तो कामधन्दामा पिल्सिएको पीडित महिला जस्तो बस्ने दिन रहेन । अहिले त माइतीमा नभएको स्वतन्त्रता, सुविधा ससुरालमा भेटिन्छ । अब बुहारी डराएर होइन, सासु डराएर घरमा बस्छिन् । नारीहरु स्वतन्त्र भएर हिँड्ने नाच्ने, धक फुकाएर गाउने, मनमा लागेका कुरा निर्धक्क भावले व्यक्त गर्ने समय आएको छ ।

जे होस हाम्रा विभिन्न चाडपर्वहरु वैज्ञानिक र काल्पनिक दुई किसिमले सृजना गरेको पाइन्छ । अबको पुस्ताले वैज्ञानिक पक्षलाई अनुशरण गर्दै काल्पनिक र अन्धविश्वासलाई त्याग्नु तत्पर देखिन्छ । संस्कृति परम्परा हाम्रो धरोेहरहो विकृति र तडक–भडकको नाममा यसलाई बिगार्नुको सट्टा संरक्षण गर्नु हामी सबैको दायित्व पनि रहेको छ । सम्पूर्ण महिला दिदी–बहिनीहरुमा हरितालिका तीज पर्वको हार्दिक शुभकामना ।

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here