सुरेन्द्र भण्डारी,
झापा।

आसन्न प्रतिनिधिसभाका लागि झापा क्षेत्र नम्वर २मा नेपाली कांग्रेसका तर्फबाट चार जना आकांक्षी देखिएका छन् ।
आगामी मंसीर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनको मिति नजिकिएसँगै प्रतिनिधिसभामा चुनाव लड्न नेपाली कांग्रेसका तर्फबाट चार जनाले आकांक्षा देखाएका हुन् । केही दिन अघि चिया उद्यमी छत्र गिरीले पत्रकार सम्मेलनको आयोजना गर्दै प्रतिनिधिसभामा आफ्नो उम्मेदवारी रहने र जीत निश्चित रहेको दावी गरेका थिए । नेपाली कांग्रेसमा रहेर राजनीति गर्दै आएका उनी नेपाली कांग्रेसको प्रवद्र्धन तथा लगानी बोर्डको सदस्य समेत हुन् ।
प्रतिनिधिसभाको निर्वाचनका लागि पूर्वमन्त्री तथा नेपाली कांग्रेसका केन्द्रीय सदस्य केशवकुमार वुढाथोकी, पूर्व राज्यमन्त्री तथा पार्टीका केन्द्रीय सदस्य सरिता प्रसाई, संविधान सभा सदस्य सुधिरकुमार शिवाकोटी र महाधिवेशन प्रतिनिधि जलकुमार गुरुङले पनि इच्छा व्यक्त गरेका छन् ।
बुढाथोकी यस अघि झापा क्षेत्र नम्वर ४ बाट प्रतिनिधि सभामा निर्बाचित हुँदै सामान्य प्रशासनमन्त्री बनेका थिए । प्रसाई यस अघि कृषि राज्यमन्त्री थिइन् भने शिवाकोटी संविधान सभा सदस्य थिए । गुरुङ बिर्तामोड नगरपालिकाको अघिल्लो स्थानीय निर्वाचनमा नगर प्रमख पदका लागि प्रतिष्पर्धी थिए । यता गिरी बन्धु टी इस्टेटका सञ्चालक गिरी भने २०४२मा नेपाली कांग्रसको जिल्ला सदस्य हुँदै राजनीतिमा सक्रिय छन् ।
प्रतिनिधिसभाको अघिल्लो निर्वाचनमा नेपाल कम्युनिष्ट पार्टी (एमाले) ले झापा क्षेत्र नम्वर २मा जीत हासिल गरेको थियो । नेपाली कांग्रेसका तर्फबाट उम्मेद्वार बनेका उद्धव थापालाई पराजीत गर्दै नेपाल कम्युनिष्ट पार्टीकी उम्मेदवार पवित्रा निरौला खरेल संघीय संसदमा निर्वाचित भएकी थिइन् । यसअघि भएको संविधानसभाको निर्वाचनमा भने नेपाली कांग्रेसबाट सुधिरकुमार शिवाकोटी निर्वाचित भएका थिए । शिवाकोटीले पवित्रा निरौला खरेललाई पराजित गरेका थिए ।
हालै सम्पन्न स्थानीय तहको नतिजालाई आधार मान्दा झापा क्षेत्र नम्वर २ अन्तर्गतका पालिकाका २५ वटा वडामध्ये १३ वटा वडामा नेकपा एमालेले जीत हासिल गरेको छ । बिर्तामोड र अर्जुनधारा नगरपालिकामा नेकपा एमालेले अध्यक्ष, उपाध्यक्ष पद नै आफ्नो पक्षमा पारेको छ । वुद्धशान्ति गाउँपालिकामा नेपाली कांग्रेसले अध्यक्ष पद जीतेको छ भने कनकाई नगरपालिकामा नेकपा एमालेले प्रमुख पद जितेको छ । बुद्धशान्ति गाउँपालिकाका ३ वटा वडा मात्रै झापा क्षेत्र नम्वर २ मा पर्छन् । जहाँ दुई वटा वडामा नेकपा एमालेले अध्यक्ष पद जितेको छ । वुद्धशान्ति १, २, ३ मध्ये २ नम्वर वडाध्यक्ष मात्रै नेपाली कांग्रेसले जीतेको हो ।
यता कनकाईका ८ र ९ नम्वर वडा झापा क्षेत्र नम्वर २ मा पर्छन् । ८ नम्वर वडामा नेपाली कांग्रेसले वडाध्यक्ष जीते पनि ९मा नेकपा एमालेले जीतेको छ ।
झापा क्षेत्र नम्वर २मा सत्तारुढ गठबन्धन दलका तर्फबाट नेपाली कांग्रेसले ११ र राप्रपाले एउटा वडामा जीत हासिल गरेको छ । माओवादी र नेकपा एसले यो निर्वाचन क्षेत्रका कुनै पनि वडा जित्न सकेको छैन ।
अर्जुनधारा नगरपालिकाका ११ वडा र वुद्धशान्तिका ३ वटा वडा प्रदेश ख मा पर्छन् ।
यता बिर्तामोडका ९ वडा र कनकाईका दुई वडा प्रदेश क मा पर्छन् । बिर्तामोड १० भने झापा क्षेत्र नम्वर ३ मा रहेको छ ।
स्थानीय चुनावको अंकगणितमा नेकपा एमाले अघि देखिए पनि संघ र प्रदेशमा नेपाली कांग्रेसले नतिजा आफ्नो पक्षमा पार्ने दावी गरेको छ । पार्टीका जिल्ला स्तरीय एक नेताका अनुसार प्रदेश र संघीय निर्वाचनका लागि चुनावी रणनीतिसहित नेता तथा सक्रिय कार्यकर्ता मतदाता माझ पुगिसकेका छन् । आगामी चुनाव आफ्नो पक्षमा पार्ने रणानीतिका साथ पार्टी लागीपरेको बताइएको छ ।
यता झापा क्षेत्र नम्वर २ प्रदेश क मा मीरा खड्का, गोपाल मैनाली, अनुज खड्काले प्रत्यक्षतर्फ आकांक्षा राखेका छन् भने ख मा खगेन्द्र मैनाली, हेमराज खरेल, दीपेन्द्र ढकाल र मदन बुढाथोकीको चर्चा छ । प्रदेश २ क मा इच्छा राख्ने खड्का नेपाली कांग्रेस प्रदेश नम्वर १ कार्यसमिति सदस्य हुन् भने मैनाली क्षेत्रीय अधिवेशन प्रतिनिधि हुन् र खड्का महाधिवेशन प्रतिनिधि हुन् ।
यता ख का लागि चर्चामा रहेका मैनाली क्षेत्रीय सभापति, खरेल अर्जुनधारा नगर सभापति ढकाल महाधिवेशन प्रतिनिधि र बुढाथोकी क्षेत्रीय प्रतिनिधि हुन् । यता क्षेत्र नम्वर २ को क मा समानुपातिक महिला कोटामा सीता पौडेल, उमा शिवाकोटी, होमा घिमिरे, पार्वता गिरी राधा सुब्बा, र लीला मैनालीको चर्चा छ । खुल्लातर्फ कृष्ण हुमागाँई, यज्ञ प्रताप अधिकारीको चर्चा छ ।
त्यस्तै ख मा समानुपातिकतर्फ राजकुमार बराइली, दीपक तामाङ, रमेश भुजेल चर्चामा छन् । महिला कोटामा चन्द्रकला भण्डारी, सरस्वती सिटौला, लीलादेवी कटुवालको नाम चर्चामा छ ।
निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ दल र प्रतिपक्षी दलबीचका नेता तथा कार्यकर्ताहरुमा टिकटको रस्साकस्सी देखिएको छ । स्थानीय तहको मत विश्लेषण गर्दा झापा क्षेत्र नम्बर २ मा पर्ने २५ वडामा नेकपा एमालेले ३६ हजार ४ सय ८६ मत ल्याएको थियो भने नेपाली कांग्रेसले ३२ हजार ६ सय ७२ मत पाएको थियो । राप्रपाले ९ हजार ५ सय ११ र माओवादी केन्द्रले २ हजार ४ सय ३७ मत ल्याएको थियो ।
गठबन्धनको मत विश्लेषण गर्दा यो क्षेत्रमा नेकपा एमाले नै अघि छ । नेकपा एमाले एक्लै ३६ हजार ४ सय ८६ मतका साथ अघि छ । यता गठबन्धन दललाई ३५ हजार एक सय ९ मत प्राप्त छ । यस अर्थमा यो क्षेत्रमा एमाले नै अघि छ । यहाँ राप्रपाले जुन पार्टीलाई सघायो उही निर्णायक बन्ने देखिन्छ । तर, राप्रपाले समेत आफ्नै उम्मेदवार तय गर्दै निर्वाचनमा होमिने हो भने झापा क्षेत्र नम्वर २को संघीय तथा प्रदेशसभा सदस्यका लागि हुने निर्वाचन निक्कै प्रतिष्पर्धी हुने देखिन्छ ।






























