साच्चै ! कहिले हो तीज ?

0
356

आज हरितालिका तीज । महिलाहरुको महान चाड । छोरीचेलीहरु मनैदेखि गदगद भएर रमाउने दिन । तीन–चार वर्ष अघि सबैले भन्थे– ‘यी चेलीबेटीहरु तीज पनि एक महिनासम्म मनाउँछन् । तीज आउनु कहिले छ कहिले, महिनौं अघिदेखि नै चुरिफुरी सानो हुँदैन । नाच्ने–गाउने रहर पनि कति लाग्दोरहेछ यी दिदी–बहिनीलाई ।
गुनासो पनि त कति गर्थे चेलीलाई– तीज आयो भन्छन् । आज एउटा घरमा पार्टी, भोलि अर्कोे घरमा दर अरे । हे भगवान ! यी महिलाहरुले कति पैसा खर्च गर्न सकेको होला । एउटा चाडको लागि । हेर ! तीजमा नारीको फेशन । कस्तो विकृति आयो दैव । कहिलेसम्म चल्छ होला यस्तो तालले । एक महिनाभर तीजको रौनक लाग्छ । साच्चै ! खास तीज चाहिँ कहिले हो ?

तत्कालीन परिवेशमा महिलाको तीजप्रतिको मोह र तीज मनाउनेशैलीलाई मध्यनजर गर्दा त यो प्रतिक्रिया सही नै हो । जस्तो कि तीज भदौको अन्तिममा छ भने साउनको दोस्रो–तेस्रो सातादेखि नै तीजको लहर आयो बरी लै भन्दै गीत बझ्न शुरु भई हाल्थ्यो । रातो, पहेँलो, हरियो चुरा, पोते, टीकाहरुले बजारका पसलहरु रंगीचंगी हुन्थे । आहा ! लेहेङा, साडी, कुर्ता–शुरुवाल वरिपरि झुन्ड्याइका ती पसलहरु ! हेर्दै कति आकर्षित र आनन्दित देखिने । सुनचाँदी पसलदेखि कस्मेटिकका ती नयाँ डिजाइनका गरगहना ! देख्दै लगाइ हालु जस्तो । अझ ती महँगो कपडाहरुमा भरिएको जडी र मोतीहरु बत्तीको प्रकाशमा टल्किँदै चम–चम चम्केपछि कसको मन अडिन्छ र !

साउनको सोमबार शिवजीको व्रत बसेर धार्मिक भक्तिभाव प्रस्तुत गरी सक्ने बित्तिक तीजमा सजिसजाउन हुने रहर, कहिले सुटुक्क मनमा पलाउथ्यो । चेलीलाई नै अत्तोपत्तो हुँदैनथ्यो । कता–कता तीजको गीत सुन्यो कि खुट्टाहरु अनायासै नाचिरहेको अनुभव हुन्थ्यो । अनि शरीर त्यसै फुरुङ्ग भएर आउथ्यो ।

विवाह भएका चेलीहरु माइत जान पाउने र साथी सङीसँग धित मरुञ्जेल नाच्न पाउने दिन गन्दागन्दै समय बितेको थाह नै नहुने । यो गर्छु र त्यो गर्छु । यो लगाउँछु र त्यो लगाउँछु भन्ने कल्पनाहरुको अगाडि घरधन्दाको चिन्ताले डाँडा काटी हाल्थ्यो । दिदी–बहिनी र साथीसंगीसँग मस्की–मस्की सेल्फी खिच्ने र टिकटक बनाउने सपनाले कति रात निद्रा नलागेको झलझली आउँछ आँखामा अहिलेसम्म ।

बर्षभरी घाँस–दाउरा गर्दा फुटेको हात पनि मेहेन्दी र चुराहरुले रंगाउने । बर्षाभरी हिलोमा गाडिएर धान रोप्दा खुइँलिएका पाइतालाहरु पनि पाउजु र बिच्छिले सझाउने । चर्को घाम र सुख्खा खडेरीमा चमक हराएको अनुहारहरु पनि महँगा फेसियल क्रीम र पाउडरले टल्काउने । बडिलोसन र सनस्क्रिम लगाउँदा गोरो देखिने हातपाखुरा ओहो ! कति स्वर्णिम अनुभव थिए ती सब ।

त्यतिमात्र कहाँ हो र बर्खे झरी र धुँवाधुलोले लट्टैलट्टा परेका केशहरु सेम्पो कन्डिसनर र कलरले चम्काउँदाको त्यो पल । रातदिन नभनी घरधन्दा र जागिर गर्दा ओइलाएको शरीर पनि साडी, चोलो र लेहेङाले झकिझकाउ बनाउँदाको त्यो खुशी । अनि आफ्नै हातले पकाएको खादाखादा स्वादविहीन बनेका जिब्रोमा अर्काले पस्किएर दिएको मिठो–मसिनो चखाउँदाको सन्तुष्टि । वाह ! क्या थियो ! ती दिनहरु ।

अचानक नयाँ खालको रोग चीनमा देखा प¥यो अरे । कोभिड–१९ कोरोना भन्ने । बिदेशतिर यस्तो भयो, उस्तो भयो , रेडियो, टिभिमा सुन्दा नै मन चसक्क हुन्थ्यो । हेर्दाहेर्दै कसरी हामी नेपाली पनि यसको जालमा प¥यौ ! पत्तै भएन रहेछ । कोरोना ! कोरोना ! भन्दाभन्दै परारको सालदेखि त समय नै परिवर्तन भइसकेछ । भाइरस संक्रमण र कोभिड महामारीबाट बच्दाबच्दै जिन्दगी त जिउनै बिर्सिएछ । एउटा यता बिमारी । उता अर्काको लास । बिचरा ! यी ओठहरुले त हाँस्नै भुलिसकेछ ।

के गरी टुट्यो ती सपनाहरू । कसरी लुटिए ती मुस्कानहरु । विगतका दिनहरु सम्झँदा पनि सपना जस्तै लाग्छ । पहिलेका ती तस्वीरहरु नियाल्दा आफूले आफैलाई गुमाए जस्तो लाग्छ । कसको नजर लागेछ खै हाम्रो त्यो संसारमा । गनिगनि चोट दियो दैवले पनि । चुनी–चुनी खोसिए हाम्रा आफन्त, छिमेकी र साथीभाइ पनि । न रहे ती दिनहरु, न रहे तीजको त्यो रमझम पनि । तीज त फर्कियो फेरि पनि तर फर्किएन चेलीको ओठको त्यो मुस्कान । न त फर्किन सक्यो छोरीचेलीको त्यो हरियाली जीवन ।

कोरोना महामारीको बज्रपातले के सम्म गराएन र वरपर । छोरी तीजको निम्तो है भनी नयाँ सालमा नै खबर पठाउने बाबाहरुको नै दागबत्ती दिनुप¥यो कति चेलीले । बैनी ! तीजमा दर खान हिँड भन्दै नौ डाँडा काटेर हतासिँदै आउने दाइहरु नै अस्पतालको आइसियुमा मृत्युसँग लड्दालड्दै पनि पराजीत भए । दिदी तीजमा जसरी पनि आउनु है भन्दै फोनमा दिक्क बनाउने भाइहरु नै साना–साना छोराछोरी गुमाउनु परेर जिन्दगीदेखि नै विरक्तिएका छन् । छोरी आउँछे भन्नासाथ मुसुक्क हाँस्ने आमाहरु नै एक्लै बेहोसीमा टोलाइरहेका छन् ।

सम्झनु पनि कसरी हो खै । नानी ! यो पटक तीजको दर के पकाउ ? भन्दै दर मेन्यु सोधिरहने भाउजुहरु त कोभिडको कमजोरी थला परेका अहिलेसम्म राम्ररी उठ्नै सकेका छैनन् रे । दिज्यु ! यो पटकको तीजमा लेहेङ्गा लगाउने कि साडी ? सङ्गै सपिङ जाउ ल भनी सल्लाह माग्ने बुहारीहरु कै जन्मदिने आमाको काख कोरोनाले खोसिदिएको सम्झी रोइरहेका हुुुन्छन रे । कस्तो दियो कोरोनाले उपहार पनि न कुनै घर होला शोकमा नडुबेको, न त कुनै छोरी चेली नै होलान् आफ्ना नजिकको आफन्त नगुमाएको ।

तर, यो बर्षको तीजले केही हाँसो केही खुशी दिन्छ कि भनेर मनमा पीडा भए पनि हाँस्दैछन् चेलीहरु । गह्रौ हुन्छन् पाइलाहरु अतितलाई सम्झेर तर पनि नाच्दैछन् चेलीहरु । आज टिकटक र फेसबुकमा भिडियो हाल्न नयाँ–नयाँ फेशनमा देखिने दिदीबहिनी र साथीहरु पनि कहाँ उस्तै छन् र सबैले माया गर्ने कोही त त्याग्नु नै प¥यो । आज त के–के झल्को आउँदो हो आँखाभरी यो तीजको भाकाले खै । तीज आयो भन्ने बित्तिकै चेलीहरु आँखाभरी आँशु बनाइ हाल्छन् । यस्तो तीज के तीज । के को दर । के को रहर ।

तीन–चार वर्षअघिसम्म मुस्काइरहने चेलीहरुका ती ओठहरु आज मौन र चुपचाप छन् । नयाँ रंगीन सपना सम्झाइरहने ती नयनहरु आँशु र उदासिले भरिएका छन् । हाँस्न, नाच्न, गाउन पाउँदा संसार भुल्ने ती मुटुहरु डर र त्रासले कामिरहेका छन् । नयाँ–नयाँ कपडा र श्रृङ्गारमा मस्की–मस्की हिँड्ने ती तनहरु तनाव र कमजोरीले सुस्ताइरहेका छन् । आफन्त, माइतीघर र साथीसंगी साथ हुदाँ फुरुङ्ग हुने ती मनहरु चोट र पीडाले मरिरहेका छन् ।

कुन शब्दहरुले व्यक्त होला र चेलीहरुको यो भावना । पहिले गुलियो र पिरो अमिलो जति खादा पनि नअघाउने पेटहरु आज अनेकौं रोग र शोकले दुःखीरहेका होलान् । हर्ष, उल्लास र रमझमको सपनामा ब्युझिरहन्थे रातभर आजकल अनिद्रा र यातनाले छट्पटीरहेका होलान् । तीजमा लगाउन किनेका ती साडी र गहनाहरुमा साङ्ला र धमिरा नाचिरहेका होलान् । छिनियो चेलीको तीजको लहर पनि, खोसियो चेलीको नाच्ने रहर पनि ।

शुरुशुरुमा त बरु मन बुझाउन अलि सजिलो थियो सायद । आसैआसमा दिनहरु बिताउन यति धेरै गाह्रो त थिएन । भोलि राम्रो होला, पर्सी सब ठिक होला । दिनदिन गन्दागन्दै तीन बर्स भएछ । सात सय दिनसम्म त कैदी जीवन नै बाच्यौं होला सायद । कोरोनाको कहरसँगै कसले बिर्सेको होला र कहालीलाग्दा ती पलहरु जहाँ साझ–बिहान रुँदारुँदै हाँस्न बिर्सेको । पलपल मर्दामर्दै जिउन तर्सेको । दुःखेको छ आज हर चेलीको मन ! रोइरहेछ अझैसम्म पनि हर छोरीको आत्मा । कहिले नदेखेको दुःख भोग्न बाध्य बनायो समयले । कसैले नदिएको चोट थपिदियो परिस्थितीले ।

कराउँदै, चिच्याउँदै गुञ्जिरहने ती आवाजहरु मलिन बनेछ त्यसै–त्यसै । उदास–उदास भएछन् आँखाहरु पनि । पुछिएका छन् कतिको सिउँदो, उजाडिएका छन् कयौं कोखहरु पनि । चुरा, औंठी नेलपोलिस किन्न ब्यस्त ती हातहरु सेनिटाइजर र सिटामोल भेला पार्दै गलिसकेका छन् । फेसमास्क र फेसशीलभित्रै ओइलाएछन् लाली पाउडर र गाजलुले चिटिक्क देखिने ती मुहारहरु पनि । लाग्छ आजभोलि नचिन्लान् दिदी–बहिनीलाई आफ्नै दाजुभाइले पनि । रुन्छन् होला छोरीचेली देखेर माइतीका आमाबाबु र टाढा भएका दिदीबहिनी पनि ।

यो बर्ष पनि त । न बजेको छ पहिले–पहिलेको जस्तो तीजको गीत न त नाचेका छन् सबै छोरीको तनमन । छैनन सम्झिएका धेरै चेलीबेटी महँगो साडी र बहुमूल्य गहनामा । न भरिएका छन् सबै मन्दिर र घरका छतहरु नै । आएनन् होला माइतीघरको आगनीमा चेलीहरु यो साल पनि न खाए होलान् तातो पिरो तीजको दर नै । शान्त, सुनसान छन सडकका गल्लीहरु र बजारका पसलहरु । खाली–खाली नै छन् बस, अटो र काहरु पनि । के गर्दैछन् धुमधुम्ती घरमा । कहाँ लुकेका छन् ! देख्दैनन् भाउजु–बुहारीलाई सायद कसैले पनि ।

शुरु हुँदैछन् चाडबाड पनि । तीजमा हाँस्नुपर्ने चेलीहरु नहासेको देख्दा । गीत बझ्नासाथ नाच्नुपर्ने चेलीहरु ननाचेको देख्दा । रम्ने–रमाउने चेलीहरु एकान्तमा टोलाएको देख्दा । सोच्लान् सायद अरुले साच्चै ! कहिले हो तीज ? महिनौंसम्म मनाइने तीज एक दन पनि खुलेर नमनाइएको देख्दा भन्लान् अरुले साच्चै ! कहिले हो तीज ? किन यति भावुक र मौन छन् चेलीहरु साच्चै ! कहिले हो तीज ? गाउँ, शहर, टोल, बस्ती, सिङ्गो प्रकृतिले सोध्दैछन् आज साच्चै ! कहिले हो तीज ?

LEAVE A REPLY

Please enter your comment!
Please enter your name here